यस्तो ‘अस्वभाबिक’ कसरी भयो नविल, हिमालयन, बीओके र एनबी बैंकमा ?



काठमाडौं । नविल बैंक र हिमालयन बैंक नेपालको बैंकिङ क्षेत्रका अग्रणी बैंक हुन् । पोर्टफोलियो, नाफा, प्रतिफल, स्थापनाको इतिहास लगायतका कारणले यी बैंकप्रति सर्वसाधारणको आकर्षण र विश्वास पनि निकै बढी नै छ ।

तर, यी बैंकप्रतिको जनताको आकर्षणमा यो वर्ष भने अस्वभाविक रुपमा कम देखियो । यी बैंकहरुको प्रकाशित गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्किृत वित्तीय विवरणलाई हेर्दा यो प्रष्टै देख्न सकिन्छ ।

यो वर्ष बैंकिङ प्राणालीमा लगानी योग्य पुँजीको अभाव नै रह्यो । त्यसैले बैंकिङ क्षेत्रले अपेक्षाअनुसारको ग्रोथ गर्न सकेन । तैपनि वाणिज्य बैंकहरुको निक्षेपको औषत वृद्धिदर १६ प्रतिशत छ ।

तर नविल, हिमालयन, नेपाल बंगलादेश (एनबी) र बैंक अफ काठमाडौं (बीओके) को निक्षेप वृद्धिदर हेर्ने हो भने अस्वभाविक रुपमा कम छ ।

लगानीकर्ताले नाफा बढाउन दबाब दिए भन्दैमा निक्षेप नै नबढाई धमाधम कर्जा दिने अनि समस्या भयो भन्दै राष्ट्र बैंक र अर्थ मन्त्रालयमा रोइलो गाउन पुग्ने बैंकरहरुमा ‘नैतिकता’को खडेरी देखिन्छ ।

यी बैंकले निक्षेपमा किन ग्रोथ गर्न सकेनन् ? कमजोर व्यवस्थापन भएर हो वा व्यवस्थापनको कमजोर रणनीति ? वा अरु कुनै कारण ? यसको समीक्षा गर्ने जिम्मा तपाईंलाई नै । तर, हामी यो रिपोर्टमा वित्तीय विवरणमा प्रकाशित तथ्यहरुको सामान्य विश्लेषण गरेर तपाईंलाई समीक्षा गर्न अझ सजिलो बनाइदिँदै छौं ।

यी बैंकमा जसले व्यवस्थापन सम्हालेका छन्, ती सबै बैंकिङ क्षेत्रमा स्थापित बैंकर हुन् ।

नविल बैंक

नविलबाटै सुरु गरौं । यो बैंक आफैंमा भेट्रान बैंक हो । अझ शशिन जोशी जस्ता भेट्रान बैंकर बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । अहिले उनले राजिनामा दिइसकेका छन् । उनको राजिनामा पनि स्वीकृत भइसकेको छ । पुस मसान्तसम्म जोशी नविलमा सीइओ भएर काम गरिरहेका थिए ।

०७४ पुस मसान्तमा नविल बैंकले १ खर्ब २१ अर्ब २८ करोड निक्षेप संकलन गर्दै सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकहरुको सूचिमा तेस्रो स्थानमा छ । गत वर्ष दोस्रो स्थानमा रहेको नविल यो वर्ष तेस्रो स्थानमा पुगेको हो । गत वर्ष नविलले १ खर्ब २० अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । एक वर्षको अवधिमा नविल बैंकले जम्मा ४७ करोड रुपैयाँ मात्रै निक्षेप बढाएको छ ।

जबकि, पोहोर साल तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक १३ अर्ब २४ करोड रुपैयाँले बढाएर १ खर्ब २९ अर्ब ८४ करोड रुपैयाँ निक्षेप पुर्याएर दोस्रो स्थानमा उक्लिन सफल भएको छ । गत वर्ष पनि पहिलो रहेको पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक १० अर्ब ८१ करोड रुपैयाँले बढाएर १ खर्ब ४९ अर्ब १० करोड रुपैयाँ निक्षेप पुर्याएको छ ।

त्यतिमात्रै होइन, गत वर्ष निक्षेप संकलनका हिसाबले १०औं स्थानमा रहेको एनआइसी एशिया बैंक यो वर्ष चौथो स्थानमा पुग्न सफल भएको छ । एक वर्षको अवधिमा एनआइसी एशियाले ४१ अर्ब ३९ करोड रुपैयाँले बढाएर १ खर्ब २० अर्ब ४६ करोड रुपैयाँ निक्षेप पुर्याएको हो ।

यी माथिका उदाहारणले बैंकहरुले सन्तोषजनक रुपमै निक्षेप बढाइरहेको देखिन्छ । अरु बैंकहरुले पनि राम्रैसँग बिजनेश ग्रोथ गरिरहेका छन् ।

तर, किन नविल, हिमालयन जस्ता स्थापित बैंकहरुले निक्षेप बढाउन सकेनन् ? किन निक्षेपकर्ताले यी बैंकलाई पत्याएनन् ? किन यी बैंकले निक्षेप आकर्षण गर्न सकेनन् ? यस्ता धेरै प्रश्नहरु आउनु अस्वभाविक होइन ।

के निक्षेप ४७ करोड रुपैयाँले मात्रै बढाएको नविल बैंकले कर्जा पनि बढाएन त ? अहँ त्यस्तो हुँदै होइन । एक वर्षको अवधिमा नविलले १७ अर्ब २५ करोड रुपैयाँले कर्जा बढाएको छ । ०७३ पुसमा ७७ अर्ब ७३ करोड रुपैयाँ रहेको बैंकको कर्जा ०७४ पुसमा ९४ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ ।

केही समयअघि क्लिकमाण्डूसँगको कुराकानीमा नविलका सीइओ शशिन जोशीले नाफा बढाउने ध्याउन्नमा बैंकहरु कर्जा विस्तारमा बढी एग्रेसिभ भएको र त्यसको असर आगामी केही वर्षमा देखिनसक्ने विश्लेषण गरेका थिए ।

र, एक वर्षको अवधिमा ४७ करोड निक्षेप बढाएका सीइओ जोशीले १७ अर्ब २५ करोड कर्जा बढाए । अनि करिब ११ करोड रुपैयाँले नाफा पनि बढाए । गत वर्षको पुसमा १ अर्ब ७४ करोड कमाएको नविलले यो पुसमा १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाउँदै नाफाका हिसाबमा भने नम्बर वान बैंक बन्न सफल भएको छ ।

हिमालयन

यो बैंकमा पनि अर्का अनुभवी बैंकर अशोक राणा सीइओ छन् । हिमालयन बैंकको हालत नविल बैंकको भन्दा केही राम्रो भए पनि सन्तोष मान्न सकिने अवस्थाकाे छैन । एक वर्षको अवधिमा यो बैंकले १ अर्ब ८७ करोड रुपैयाँले मात्रै निक्षेप बढाएको छ । २०७३ पुस मसान्तसम्ममा ९१ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको हिमालयनले याे पुस मसान्तमा ९२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

तर, एक वर्षको यो अवधिमा हिमालयन बैंकले ७ अर्ब १९ करोड रुपैयाँले कर्जा बढाएको छ । ०७३ पुस मसान्तमा ७५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको बैंकले ०७४ पुस मसान्तसम्ममा ८२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एक वर्षको अवधिमा यो हिमालयनले पनि ८ करोड रुपैयाँले नाफा बढाएको छ । गत वर्षको पुसमा १ अर्ब २ करोड नाफा कमाएको बैंकले यो पुसमा १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ ।

एनबी

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका ज्ञानेन्द्र ढुंगाना एनबी बैंकमा सीइओ छन् । यो बैंकको हालत पनि उस्तै छ । वर्षभरीमा जम्मा ८६ करोड रुपैयाँले मात्रै निक्षेप बढाएको छ । कर्जा भने ८ अर्ब ५९ कराेड रुपैयाँले बढाएको छ ।

बैंकले प्रकाशित गरेको ०७४ पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ४१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । तथ्यांकले यो बैंकलाई कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमाभन्दा बाहिर गएको प्रष्ट पार्छ । ०७३ पुस मसान्तमा बैंकले ४१ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यसरी आक्रामक रुपमा कर्जा विस्तार गरे पनि एनबीले नाफा भने बढाउन सकेको छैन । गत वर्षको पुसमा ५४ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो पुसमा ४३ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।

बैंक अफ काठमाण्डू

अर्का अनुभवी बैंकर शोहनदेव पन्त सीइओ रहेको बैंक अफ काठमाण्डूको पनि हालत उस्तै छ । यो बैंकले एक वर्षको अवधिमा जम्मा ४३ करोड रुपैयाँले मात्रै निक्षेप बढाएको छ भने कर्जा १ अर्ब ८८ करोड रुपैयाँले बढाएको छ । यसरी आक्रामक रुपमा कर्जा बढाउँदा पनि बैंकको नाफा भने घटेको छ । ०७३ पुसमा ६० करोड नाफा गरेको बैंकले ०७४ पुसमा ५५ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।

गत वर्षको पुसमा ७० अर्ब निक्षेप संकलन गरी ६२ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बिअाेकेले यो पुसमा ७० अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

र, अन्त्यमा,

बैंकहरु अहिले तरलताको ठूलो संकटमा छन् । उनीहरुसँग ऋण माग्न आउनेलाई ऋण दिने पैसा छैन । खासमा भन्ने हो भने तरलताको अभाव भन्दा बैंकिङ प्रणालीमा अहिले ऋण दिने पैसाको अभाव अर्थात् क्रेडिट क्रञ्च हो ।

४७ करोड रुपैयाँ निक्षेप बढाएको बैंकले साढे १७ अर्ब रुपैयाँ कर्जा दिन्छ भने यसलाई किन क्रेडिट क्रञ्च नभनेर तरलता (लिक्विडीटी) अभाव भन्ने ? लगानीकर्ताले नाफा बढाउन दबाब दिए भन्दैमा निक्षेप नै नबढाई धमाधम कर्जा दिने, अनि समस्या भयो भन्दै राष्ट्र बैंक र अर्थ मन्त्रालयमा रोइलो गाउन पुग्ने बैंकरहरुमा ‘नैतिकता’को खडेरी देखिन्छ ।


पुष्प दुलाल