एनएमबी, लक्ष्मी, नबिल, ग्लोबल आइएमइ र एनआइबीएल क्यापिटल समस्यामा परेकै हुन् ?




काठमाडौं । बुटबल पावर कम्पनी (बीपीसी) ले माघ १५ गतेदेखि सर्बसाधारणको लागि ४० लाख ८१ हजार कित्ता सेयर थप निस्कासन (एफपिओ) बिक्री खुल्ला गर्यो ।

सो सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयामा ४०१ रुपैयाँ प्रिमियम मूल्य थपेर ५०१ मा बिक्री गर्ने अनुमति नियामक निकायबाट कम्पनीले पाएको थियो । यसो हुदा बीपीसीले बिक्री खुल्ला गरेको ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्रीबाट कम्पनीले २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ प्राप्त गथ्र्यो ।

कुनै पनि कम्पनीले सार्बजनिक निस्कासन गर्दा सुरुमा ४ दिनको लागि बिक्री खुल्ला गर्ने गरिन्छ । त्यो ४ दिनमा बिक्रीको लागि खुल्ला गरिएका सेयर बिक्री भएनन् भने समय थप गर्दै १ महिनाभित्रमा बिक्री गरिसक्न पाइन्छ ।

बीपीसीले चाढोमा माघ १९ गते बिक्री बन्द हुने सार्बजनिक सुचना प्रकाशित गरेको छ । र, उसको एफपिओ ढिलोमा फागुन १५ गतेदेखि बिक्री बन्द हुनेछ । चाढोमा बिक्री बन्द हुने दिनसम्ममा उसको एफपिओ बिक्री नभएपछि म्याद थप्दै माघ २६ गतेसम्म पुर्याइसकिएको छ ।

बीपीसीको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार माघ २४ गतेसम्ममा जम्मा १ अर्ब २० करोड रुपैयाँ बराबरको एफपिओ बिक्री भएको छ । यो भनेको कूल रकमको करिब ५३ प्रतिशत हो ।

माघ २६ गते नै सेयर बिक्री प्रबन्धकले सार्बजनिक सुचना प्रकाशित गरेर अब संस्थागत लगानीकर्ताले पनि सेयर किन्न पाउने जानकारी गराएको छ । आशा गरौं फागुन १५ भित्रमा बीपीसीको सबै एफपिओ बिक्री भइसक्छ ।

एफपिओ सबै बिक्री भएन भने के हुन्छ ?
यो आलेख तयार पार्नुको खास कारण नै यही प्रश्नले गर्दा हो । माघ २५ गते कति एफपिओ बिक्री भयो, २६ गते कति बिक्री हुन्छ र अब संस्थागत लगानीकर्ताले कति एफपिओ किन्छन्, यो भने खुल्न बाँकी छ ।

तर, माघ २४ गतेसम्मको विवरण हेर्ने हो भने उसको अझै ८४ करोड रुपैयाँभन्दा बढीको एफपिओ बिक्री भएको छैन । अहिलेसम्म बिक्री भएको भयो, नभएको एक कित्ता पनि बिक्री भएन भने पनि बीपीसीलाई कुनै समस्या हुँदैन । उसको सबै एफपिओ बिक्री हुन्छ । उसले खोजेको २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बीपीसीले प्राप्त गर्छ ।

कसरी गर्छ भने कुनै पनि कम्पनीले सार्बजनिक निस्कासन (आइपिओ वा एफपिओ) जारी गर्दा त्यस्तो सेयरको प्रत्याभूति (अन्डरराइट) गराउनु पर्छ । कम्पनीले जारी गरेको सार्बजनिक निस्कासनको ५० प्रतिशतभन्दा बढी सेयर बिक्री भएमा बाँकी रहेको सेयर बिक्री भएन भने अन्डरराइट गर्ने कम्पनीले किन्नुपर्छ । बीपीपीको ५३ प्रतिशत सेयर माघ २४ गतेसम्ममा नै बिक्री भएको छ । त्यसकारण बाँकी रहेको सेयर बिक्री भएन भने अन्डरराइट गर्ने कम्पनीले किन्नै पर्ने हुन्छ ।

कसकसले गरेका छन् अन्डरराइट ?
यो प्रश्न जवाफ कम्पनीको विवरणपत्रबाटै खोजौं । विवरण पत्रमा ‘सर्वसाधारणका लागि निष्काशन गर्न लागेको शेयरहरु निर्देशिकामा तोकिए बमोजिम प्रत्याभूति गराएकोः बुटवल पावर कम्पनीबाट प्रवद्र्धित यस परियोजनामा लगानी गर्न बुटवल पावर कम्पनीले धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न लागेको शेयरहरु निर्देशिकामा तोकिए बमोजिम एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गबाट प्रत्याभूति गराएको,’ उल्लेख छ ।

अर्थात बीपीसीले जारी गरेको सेयर ५० प्रतिशतभन्दा बढी बिक्री भयो र सबै बिक्री भएन भने बाँकी रहेको सबै सेयर किनिदिन्छौं भनेर एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआइबिएल क्यापिटल, ग्लोबल आइएमइ क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले प्रत्याभूत गरेका छन् ।

यी ५ क्यापिटल कसरी समस्यामा परे ?
यी ५ वटै क्यापिटलको चुक्ता पुँजी १० करोड रुपैयाँको हाराहारीमा छ । अर्थात ५ वटै कम्पनीको गरी जम्मा ५० करोड रुपैयाँ जति मात्रै चुक्ता पुँजी हुन्छ । बीपीसीको अहिलेसम्म ८० करोड रुपैयाँभन्दा बढीको एफपिओ बिक्री भएको छैन । यदि अब त्यो एफपिओ बिक्री भएन भने अन्डरराइट गर्ने ५ वटा कम्पनीले ती सबै सेयर किनेर बीपीसीलाई पैसा दिनु पर्छ ।

यहाँनेर आएको स्वभाविक प्रश्न के हो भने ५० करोड चुक्ता पुँजी भएका कम्पनीले ८० करोड रुपैयाँको सेयर कसरी किन्छन् भन्ने हो । बीपीसीको एफपिओ किन्दा नै यी ५ वटै क्यापिटलको चुक्ता पुँजी सबै सकियो भने यी कम्पनीले अरु कम्पनीको अन्डरराइट गर्न वा बिक्री प्रबन्धक बस्न पाउछन् कि पाउँदैनन् भन्ने हो ।

यी ५ वटै कम्पनी सम्बन्धित बैंकका शतप्रतिशत लगानीमा खुलेका सहायक कम्पनी हुन् । अर्थात एनएमबी बैंकको एनएमबी क्यापिटल, लक्ष्मी बैंकको लक्ष्मी क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंकको एनआइबिएल क्यापिटल, ग्लोबल आइएमइ बैंकको ग्लोबल आइएमइ क्यापिटल र नबिल बैंकको नबिल इन्भेष्टमेन्ट बैंकिङ हो । यी बैंकमा सर्बसाधारणको लगानी छ । अर्थात यी क्यापिटल सर्बसाधारणको परोक्ष लगानीमा खुलेका कम्पनी हुन् ।


क्लिकमाण्डू