भूकम्प पीडितले बहुतले संयुक्त आवाश बनाउन पनि अनुदान पाउने




काठमाडौं । काठमाडौं उपत्यका सहितका पुराना तथा सहरी क्षेत्रमा बहुतले बहुस्वामित्वका संयुक्त आवाश बनाउन चाहने ब्यक्तिहरुले पनि भूकम्प पीडित राहत पाउने भएका छन् । काठमाडौं उपत्यकामा भूकम्पवाट भत्किएका घरको पुननिर्माणले गति नलिएपछि पुननिर्माण प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा पुननिर्माण असाध्यै सुस्त भएकोले यसलाई सहजीकरण गर्न नयाँ निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए ।

‘काठमाडौं उपत्यकामा इन्जिनियर पनि यही छन्, दातृ निकाय पनि यही छन्, मन्त्रालयदेखि प्राधिकरणसम्म यही छ, तर उपत्यका भित्रमा १ लाख १ हजार घरको पुननिर्माण गर्नुपर्नेमा अहिलेसम्म १५ हजार जति घरको पुननिर्माण हुदैछ भने करिब ४५ सय घर बनिसकेका छन्, पुननिर्माण किन यति सुस्त भयो भनेर हामीले छलफल गर्दा फरक समस्या भेटिएकोले बहुतले बहुस्वामित्वको संयुक्त आवाश अवधारणामा जाने निर्णय भएको हो,’ प्रमुख कार्यकारी अधिकृत भुसालले क्लिकमाण्डूसँग भने ।

पुननिर्माणले गति नलिएपछि प्राधिकरणले गत माघ १२ गते काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र ललितपूर महानगरपालिकाका प्रमुखसँग यो बिषयमा छलफल गरेको थियो । यस्तो छलफलमा काठमाडौं उपत्यका भित्र सानो सानो घडेरी रहेको र त्यस्तो जमिनमा घर बनाउन उपयुक्त नहुने तथा प्राधिकरणले तोकेको मापदण्डले सानो जमिनमा घर बनाउन नपाइने भएकोले पुननिर्माणले गति नलिएको तथ्य फेला परेको थियो ।

प्राधिकरणले आज गरेको निर्णय अनुसार अब धेरै जना जग्गाधनी मिलेर बहुतले बहुस्वामित्वको संयुक्त आवाश बनाउन निबेदन दिएमा प्राधिकरणले त्यस्ता आवाशको लागि अनुदान रकम दिनेछ । यस्तो रकम दिनको लागि भूकम्प पीडित भने हुनुपर्नेछ ।

‘हाउसपुलिङ अबधारणा अनुसार संयुक्त आवाश बनाउन अनुदान उपलब्ध गराइने हो, यस्तो आवाश बनाउदा सास्कृतिक सम्पदा झल्किने गरी बनाउनु पर्छ,’ प्रमुख कार्यकारी अधिकृत भुसालले भने ।

भूकम्प पीडित र पीडितको सुचीमा नपरेका ब्यक्तिहरुले पनि संयुक्त आवाश बनाउन पाउने भएका छन् । भूकम्प पीडितले प्राधिकरण मार्फत अनुदान लिने र पीडितको सुचीमा नपरेका ब्यक्तिहरुले वडा कार्यालय मार्फत सहजीकरण पाउने प्राधिकरणको भनाइ छ ।

यस्तो संयुक्त आवाशको पहिलो र दोस्रो तला ब्यवसायीक प्रयोजनमा प्रयोग गर्न पाइने छ भने बाँकी तलामा सम्बन्धित परिवार बस्नेछन् । जुन ब्यक्तिको जति जमिन हुनेछ, सो ब्यक्तिको सोही अनुसारको स्वामित्वको हिस्सा सो संयुक्त आवाशमा हुनेछ ।

यस्तो कार्य गर्नको लागि आवश्यक नीति नियम र कानुनी सुधार आवश्यक भए १५ दिनभित्रमा सुझाव दिए प्राधिकरणले एक समिति पनि गठन गरेको छ । सो समितिमा प्राधिकरणका सहसचिब राजुमान मानन्धर संयोजक छन् । सदस्यहरुमा पूरातत्व विभागका उपसचिब भिष्म वास्तोला सदस्य सचिब छन् भने सदस्यहरुमा काठमाडौं महानगरपालिका र ललितपूर महानगरपालिकाका एक एक जना प्रतिनिधि तथा सहरी विकास मन्त्रालयका एक जना उपसचिब छन् । समितिको परामर्शदातामा सूर्यभक्त साँगाक्षे रहेका छन् । समितिले दिएको सुझाव अनुसार प्राधिकरणले आवश्यक नीतिगत र कानुनी अप्ठेरा फुकाएर बहुतले बहुस्वामित्वको संयुक्त आवाशको प्रक्रिया अगाडि बढाउनेछ ।


क्लिकमान्डु