सिन्धुपाल्चोकमा भूकम्पपछिको पुनः निर्माण अलपत्र, ३५ प्रतिशत पीडित कष्टकर जीवन धान्दै



काठमाडौं । सरकारी निकायको झन्झटिलो कार्यशैली , मजदुरको अभाव तथा निर्माण सामग्री समयमा नपाइदा सिन्धुपाल्चोकमा भूकम्पपछिको पुनः निर्माणको अवस्था दुरुहपूर्ण रहेको छ ।

भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न नसक्नुको पछाडि सोही कारणले काम गरेको छ ।

पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन् ।

जिल्लामा भूकम्प पीडित लाभग्राही ७८ हजार ५३७ परिवार रहेका छन् । पहिलो सूचीमा समावेश नभएका पाँच हजार १२६ परिवारले गुनासो दर्ता गराए सँगै ८३ हजार ६६३ परिवार लाभग्राही सूचीमा समावेश भएका छन् । हालसम्म जिल्लामा ६५ प्रतिशतले मात्र घर निर्माण शुरु गरेका छन् भने ३५ प्रतिशतले अझै शुरु नगरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख टंक गौतमले बताए ।

दोस्रो किस्ताका लागि ४० हजार ३५० परिवारका लागि सिफारिश गरिएको छ । तेस्रो किस्ताका लागि भने पाँच हजार ४८६ परिवारको मात्र सिफारिश गरिएको छ ।

पुस मसान्तपछि आउने लाभग्राहीका लागि सिफारिश नगरिएको बताउँदै म्याद थप्ने÷नथप्ने बारेका अहिलेसम्म जानकारी नआएकाले सिफारिश नगरिएको प्रमुख गौतमले बताए ।

जोखिममा परेको बस्ती सार्न अलमल

यसैबीच भूकम्पबाट जमिन चिराचिरा परी बस्नै नहुने ६३ परिवारलाई उपयुक्त स्थानमा घडेरी खरिद गरी स्थानान्तरण गर्ने काम पनि अलपत्र परेको छ । केहीलाई सारिएको भएपनि धेरै जसोको बारेमा कुनै निर्णय भएको छैन ।

केही पीडितलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सिलसिलामा बाह्रबिसे नपा १८ र इन्द्रावती गापाका ४३ सहित ६१ परिवारलाई घडेरी खरिद गरिएको भएपनि थातथलो छाड्न पीडितले अटेर गरेको बताइन्छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट त्यस्ता परिवारका लागि घडेरी खरिद गर्न रु दुई लाखका दरले अनुदान दिने क्रममा पीडितले उपयुक्त ठानेको स्थानमा घडेरी खरिद गरी जग्गा धनीपुर्जा वितरण गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सिन्धुपाल्चोकका प्रमुख रुद्रबहादुर मल्लले जानकारी दिए ।

केन्द्रले जिल्लामा हालसम्म ५२१ परिवार जोखिमपूर्ण बस्तीमा रहेको तथ्यांक पठाएको उल्लेख गर्दै त्यसमा अझै बढ्न सक्ने देखिएको छ ।


क्लिकमाण्डू