ब्राण्डिङमा गरिएको खर्चले एनआइसी एशिया बैंकको ‘बिजनेश ग्रोथ’मा गर्यो यस्तो चमत्कार



‘बैंक पनि, साथि पनि’ एनआईसी एशियाको आक्रमक ब्रान्डिङ शैली पछिल्लो एकवर्षदेखि नेपाली बजारमा देखिएको छ ।

गत वर्ष वाणिज्य बैंकहरुमा सबैभन्दा बढी ब्रान्डिङको लागि खर्च गर्ने बैंक एनआईसी एशिया हो । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा विज्ञापनमा मात्रै १० करोड रुपैयाँ खर्च गरेको छ । यो आर्थिक वर्षमा यसको दोब्बर रकम खर्च गर्ने रणनीति बैंकको छ ।

एक वर्षदेखि ब्रान्डिङ र शाखा शैलीले एनआईसी एशियाको निक्षेप एक वर्षको अवधीमा ५५ प्रतिशतले बढेको छ । पुस मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंकको निक्षेप १ खर्ब २० अर्ब रुपैयाँ छ ।

निक्षेपको आधारले एनआईसी एशिया बैंक २८ वटा वाणिज्य बैंकमा चौथो स्थानमा छ । जबकी एकवर्ष अगाडि एनआईसी निक्षेपको आधारले १०औं स्थानमा थियो ।

कुल निक्षेपमा स्वदेशी मुद्रामा १ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । विदेशी मुद्रामा ५ अर्ब २६ करोड रुपैयाँ छ ।

यस्तै पुस मसान्तसम्ममा १ खर्ब २ अर्ब रुपैयाँ कर्जा दिएको छ । कर्जा विस्तार एक वर्षको अवधीमा ५४ प्रतिशतले बढेको देखिन्छ ।

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल शाखा विस्तार र ब्रान्डिङको रणनीतिले निक्षेप र कर्जा बढेको बताउँछन् ।

‘बढेको निक्षेपमा ५५ प्रतिशत निक्षेप बचत कल खाताको छ,’ रिसालले क्लिकमाण्डूसँग भने ।

निक्षेपको आधारले एनआईसी एशिया बैंक २८ वटा वाणिज्य बैंकमा चौथो स्थानमा छ । जबकी एकवर्ष अगाडि एनआईसी निक्षेपको आधारले १०औं स्थानमा थियो ।

पुस मसान्तको तथ्यांकको आधारमा एनआईसीभन्दा बढी निक्षेप हुने बैंकमा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक छन् ।

यस्तै कर्जा विस्तारको हिसाबले एनआईसी एशिया तेस्रो स्थानमा छ । कर्जामा नेपाल इन्भेष्टमेन्ट र वाणिज्य बैंक छन् ।

बैंकले ऋण दिएर ५ अर्ब ५५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । निक्षेपकर्तालाई ब्याज वापत ४ अर्ब तिर्दा १ अर्ब ५५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । कमिसनबाट ११ करोड, विदेशी मुद्राको कारोबारबाट १२ करोड तथा अन्य संचालन आम्दानी ३० करोड छ ।

निक्षेप र कर्जा बृद्धिदरको हिसाबले भने एनआईसीको नाफामा भने बढेको छैन ।

एनआईसीले पुस मसान्तसम्ममा ५७ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । नाफाको आधारमा बैंक १८औं स्थानमा छ । अघिल्लो वर्ष पुस मसान्तमा बैंक नाफाको आधारमा १३ औ स्थानमा थियो भने गतवर्षको अन्त्यमा भने १०औं स्थानमा झरेको छ ।

६ महिनामा तललमा ४७ करोड तथा अन्य खर्च ४९ करोड रुपैयाँ भएको छ । ३६ करोड रुपैयाँ नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ ।
निक्षेप र कर्जाको अत्याधिक बढेपनि बैंकको नाफा भने २० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष पुस मसान्तमा ७३ करोड नाफा कमाएको बैंकले यो वर्ष ५७ करोड रुपैयाँ नाफा कमाएको छ ।

यो वर्ष संचालन खर्च बढी भएको हुँदा नाफामा असर गरेको भएपनि आगामी वर्ष त्यो खर्च नहुँने हुँदा नाफा बढ्ने बैंकका सिइओ रिसाल बताउँछन् ।

‘शाखा खोल्दा संचालन खर्च बढेको हो,’ उनले भने, ‘सबै शाखाले निक्षेप बढाएका छन्, अर्कोवर्षदेखि खर्च कम हुने हुँदा नाफा बढ्छ ।’


पुष्प दुलाल