थानकोटबाट १० मिनेटमै नौबिसे पुगिने सुरुमार्ग बनाउने ठेक्का चैतमा




काठमाडौं । त्रिभुवन राजपथमा बन्न लागेको पहिलो सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) फागुन महिनाभित्रमा तयार हुने भएको छ । राजपथको नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि सिस्ने खोलासम्म २.७ किलोमिटरमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

नागढुङगा–नौविसे सुरुङमार्गको डीपीआर फागुन महिनाभित्रमा तयार हुने सडक विभागको वैदेशिक समन्वय महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

‘जापानी सहयोग नियोग (जाइका) ले डीपीआर निर्माणको काम गरिरहेको छ, एक महिनाभित्रमा डीपीआर बुझाउनेगरी कम्पनीले काम गरिरहेको छ,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

डीपाआर तयारपछि त्यसको अध्ययन गरेर चैत महिनाभित्रमा ठेक्काको लागि सार्वजनिक सूचना जारी गर्नेगरी काम भईरहेको पनि उनले जानकारी दिए ।

सडक विभागका अनुसार सुरुङमार्ग निर्माण गर्न २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सार्वजनिक सूचना निकालेको ३० देखि ३५ दिनभित्रमा टेण्डर प्रस्तावका लागि कम्पनीसँग समय हुन्छ ।

कस्तो हुन्छ सुरुङ ?
राजपथको नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २.७ किलोमिटर र चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ ।

सरुङमा साढे ३ मिटर दरका २ लेन सडक र बाँकी साढे २ मिटर यात्राका क्रममा सवारीमा कुनै समस्या आएमा साइड लगाएर रोक्न मिल्नेगरी निर्माण गरिनेछ । यस्तो ब्यवस्थाले बिग्रेका सवारीसाधनको कारणले सडकमा जामको समस्या हुने छैन ।

नेपालका धेरै जस्तो सडकमा बिग्रेका सवारी साधन राख्नका लागि छुट्टै लेनको व्यवस्था गरिएको देखिदैन । कोटेश्वर–सूर्यविनायक खण्डको सडकमा भने बिग्रेका सवारी साधन पार्क गर्नका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ ।

सुरुङको पूर्वीद्वार नागढुङगाको फेदीमा पर्ने बस्नेत छापमा ‘ह्विल माउथ’ आकारको हुनेछ । सुरुङमार्गको पश्चिमद्वार बलम्वुबाट दहचोकसम्म ३.८ किलोमिटरको नयाँ सडक बनाइने छ । सो सडकले नागढङ्बाट घुमेर जानु पर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्ने महाशाखाले अनुमान गरेको छ । सडकको लम्बाई ८ किलोमिटर कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।

खर्च कति लाग्छ ?
सडक विभागका अनुसार सुरुङमार्ग निर्माण गर्न २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १६ अर्ब रुपैयाँ सहुलियत ऋण दिन अर्थमन्त्रालयसँग सम्झौता भइसकेको छ । जापान सरकारको सहयोगका बाबजुत ६ अर्ब रुपैयाँ सुरुङमार्ग निर्माणका लागि अपुग देखिन्छ । त्यसका लागि सरकार वा वैदेशिक निकायबाट सहयोग लिन सकिने श्रेष्ठ बताउँछन् ।


क्लिकमान्डु