अर्बभन्दा बढी नाफा कमाउने यी ८ बाणिज्य बैंकका अरु सुचक कस्ता छन् ?




काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा बाणिज्य बैंकहरुले गरेको नाफा सार्बजनिक भइसकेको छ । केही बैंकहरुले मात्रै विवरण प्रकाशित गर्न बाँकी रहेको अबस्था छ । सार्बजनिक भएका मध्ये ८ वटा बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा बढी छ ।

बैंकहरुले ६ महिनामा नै एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने आधार के हो ? उनीहरुलाई कस्तो आम्दानीले सहयोग गरेका कारण नाफा त्यति धेरै भयो ? हेरौं अर्बभन्दा बढी नाफा कमाउने बैंकहरुको आधार के रहेछ ? र, अर्बभन्दा बढी नाफा कमाउने बैंकहरुका अन्य सुचक कस्ता रहेछन् ?

हिमालयन बैंकले ६ महिनामा १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो बर्षको ६ महिनामा उसले १ अर्ब २ करोड रुपैयाँ नाफा गरेको थियो ।

हिमालयनको ब्यालेन्ससिटको आकारै ठूलो छ । उसले ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ८२ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ४ अर्ब ५० करोड ब्याज आम्दानी गर्दा २ अर्ब ६३ करोड ब्याज खर्च गरेको छ । बैंकको सीडी रेसियो भने ७९.३० प्रतिशत पुगिसकेको छ ।

०.९४ प्रतिशतबाट १.३२ प्रतिशत खराब कर्जा पुगेको हिमालयनले २८ करोड प्रोभिजन गरेको छ भने २७ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । ८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड रुपैंयाँ छ । हिमालयनको प्रतिसेयर आम्दानी २७.२६ रुपैंयाँ छ भने प्रतिसेयर नेटवर्थ १५७.८८ रुपैंयाँ छ ।

अर्बभन्दा बढी नाफा कमाउने अर्काे बैंक नेपाल बैंक पनि हो । उसले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको ६ महिनामा नेपाल बैंकले १ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको थियो ।

नेपाल बैंकले ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७८ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब २४ करोड छ भने ब्याज खर्च १ अर्ब ३० करोड रुपैयाँ छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा ५ अर्ब ४ करोड रुपैंयाँ छ ।

नेपाल बैंकको ३.२३ प्रतिशत खराब कर्जा छ भने २३ करोड प्रोभिजन गरेको छ । बैंकको खराब कर्जा गत आवको पुस मसान्तमा जम्मा २.८५ प्रतिशत मात्रै थियो । बैंकले २३ करोड रुपैंयाँ नै राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । बैंकको सीडी रेसियो ७५.३० प्रतिशत छ । नेपाल बैंकको प्रतिसेयर आम्दानी ४०.७४ रुपैंयाँ छ भने प्रतिसेयर नेटवर्थ १७२.७६ रुपैंयाँ रहेको छ ।

कृषि विकास बैंक पनि अर्बभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । उसले ६ महिनामा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको हो । गत बर्षको ६ महिनामा भन्दा यो बर्ष कृषि विकासले १२ करोड रुपैयाँ नाफा बढाएको छ ।

कृषि विकासले ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९२ करोड कर्जा तथा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७९.५९ प्रतिशत पुगेको छ । बैंकले ६ अर्ब १५ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ५० करोड ब्याज खर्च गरेको छ । १३ अर्ब ९३ करोड चुक्ता पुँजी रहेको कृषि विकास बैंकको जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैंयाँ छ ।

उसले ९६ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको छ भने १ अर्ब ११ करोड रुपैंयाँ प्रोभिजन गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २०.३७ रुपैंयाँ छ भने प्रतिसेयर नेटवर्थ २०२.९७ रुपैंयाँ रहेको छ ।

बहुराष्ट्रिय बैंक स्ट्याण्डर्ड चार्टर्डले पनि अर्बभन्दा बढी नाफा कमाएको छ । पुससम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको ६ महिनामा चार्टर्डले ७४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको निष्क्रिय कर्जा ०.१७, निक्षेप लागत २.४२, सीडी रेसियो ७८.९७, आधार ब्याजदर ५.८०, स्पेड दर ६.९ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३० पैसा छ । बैंकले ६६ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन भने ४२ अर्ब ३५ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । बैंकको संचित कोष बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

नविल बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अबधिकोभन्दा नबिलले ९ करोड रुपैयाँ खुद नाफा बढाएको हो । उसले ६ महिनामा १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड रुपैयाँ छ ।

नबिलको ब्याज आम्दानी ५ अर्ब २४ करोड रुपैंयाँ र खर्च २ अर्ब २८ करोड रुपैयाँ छ । उसको खराब कर्जा भने ०.९० प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ । सिडी रेसियो ७६.४९ प्रतिशत रहेको छ । उसको प्रतिसेयर आम्दानी ४५.४९ रुपैंयाँ छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैंयाँ रहेको छ ।

एनएमबी बैंक ६ महिनामै अर्बभन्दा बढी नाफा कमाउने अर्काे बैंक हो । यसले १ अर्ब रुपैयाँ खुद नाफा गरेको हो । गत बर्ष ६ महिनामा एनएमबीले ७० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

एनएमबीले ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७२ अर्ब कर्जा तथा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब २५ करोड छ भने ब्याज खर्च २ अर्ब ७५ करोड रुपैंयाँ छ । बैंकले २५ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गर्दा खराब कर्जालाई १.८९ प्रतिशतबाट घटाएर १.२४ प्रतिशतमा झारेको छ ।

एनएमबीको सीडी रेसियो ७६.६१ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ३१.१८ रुपैंयाँ छ भने प्रतिसेयर नेटवर्थ १८०.९८ रुपैंयाँ रहेको छ । ६ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ३४ करोड रुपैंयाँ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले भने ६ महिनामै खुद नाफा २ अर्बको हाराहारी पुर्याएको छ । उसले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको ६ महिनामो तुलनामा इन्भेष्टमेन्टले करिब २५ करोड रुपैयाँ खुद नाफा बढाएको हो ।

उसको निष्क्रिय कर्जा १.१२, सीडी रेसियो ७८.४७, आधार ब्याजदर ९, निक्षेप लागत ६.२१, स्प्रेडदर ४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६२ पैसा रहेको छ । इन्भेष्टमेन्टले निक्षेप बढाएर १ खर्ब २९ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । गत बर्षको ६ महिनामा उसले १ अर्ब १६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै कर्जा लगानी पनि बढाएर १ खर्ब १३ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको संचित कोषमा ९ अर्ब ९१ करोड रुपैयाँ छ ।

एभरेष्ट बैंकले पनि खुद नाफा अर्ब कटाएको छ । उसले ६ महिनामा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको ६ महिनाको तुलनामा एभरेष्टले १७ करोड रुपैयाँ खुद नाफा बढाएको छ ।

एभरेष्ट बैंकको निक्षेप २०७३ पुस मसान्तमा ९० अर्ब थियो भने २०७४ पुस मसान्तसम्ममा १३ अर्ब थपेर १ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । उसले कर्जा तथा लगानीमा १ खर्ब रुपैयाँ लगानी गरेको छ । एभरेष्टको खराव कर्जा ०.२५, सीसीडी रेसियो ७५.८४ र आधारदर ७.७४ प्रतिशत छ । उसको पीई रेसियो ३१.९३ प्रतिशत छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ छ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगिसकेको छ भने संचित कोषमा ५ अर्ब १९ करोड रुपैयाँ छ ।


क्लिकमान्डु