४१ लाख टन सिमेन्ट उत्पादन गर्ने उद्योग ४ महिना भित्र थपिदै, के सिमेन्टको मूल्य घट्ला ?



काठमाडौं । अबको ४ महिना भित्र नेपाल सिमेन्ट उत्पादनमा आत्मर्निभर हुने भएको छ ।

वैदेशीक लगानीमा खुलेको होङ्सी शिबम सिमेन्टले अबको केही महिना भित्र उत्पादन सुरु गर्ने जनाई सकेको छ भने, रिद्धिसिद्धि सिमेन्टले आफ्नो उत्पादन थाल्ने तयारी गरिरहेको छ ।

दुई पुराना कम्पनी अर्घाखाँची र सर्बोतम सिमेन्टले आफ्नो क्षमता बिस्तारको काम अन्तिम चरणमा सुर्याएका छन् ।

दैनिक ६ हजार टन सिमेन्ट उत्पादन क्षमता रहेको यो होङसी सिमेन्टले बार्षिक २० लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छ । यो उद्योग नवलपरासी जिल्लामा स्थापना भएको छ ।

अबको दिनमा सिमेन्टको मूल्य ब्यवसायीले होइन बजारले निर्धारण गर्ने देखिन्छ । त्यसैले ठुला उत्पादन बजारमा आउँदा उत्पादन धेरै हुनाले उपभोक्ताले अहिलेभन्दा सस्तोमा सिमेन्ट प्रयोग गर्न पाउने देखिन्छ ।

अहिले भारतबाट बार्षिक २३ लाख टन क्लिङकर आयात भईरहेको सरकारी तथ्याङकले देखाएको छ । यसलाई आधार मान्ने हो भने होङसीको एउटै उत्पादनले नै करिब करिब क्लिङकर आयात बन्द हुने अबस्था आउँछ ।

शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्टको उत्पादनसमेत अबको केहि महिना भित्र हुने कम्पनीले जनाएको छ । करिब ६ अर्ब लगानीमा स्थापना भएको यस उद्योगले बार्षिक ८ लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छ ।

रिद्धिसिद्धि सिमेन्टको माइनिङ हेटौंडामा रहेको छ । कम्पनीले सुरुदेखि नै सन् २०१७ को अन्तिमसम्ममा उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

त्यसैगरी, अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन क्षमता बिस्तारको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ । कम्पनीले अहिले चालु रहेको क्षमतामा अरु बार्षिक ७ लाख टन क्षमता थप गर्दैछ । अबको केही महिनामा नै कम्पनीले आफ्नो क्षमता बिस्तार सक्ने जानकारी दिएको छ ।

सर्बोतम सिमेन्टले पनि आफ्नो क्षमता बिस्तारको कामलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । कम्पनीले बार्षिक ६ लाख टन थप क्षमतामा कम्पनीलाई बिस्तार गरिरहेको छ ।

यसरी हेर्दा अबको ४ महिना भित्रनै २ वटा नयाँ उद्योग संचालनमा आउँदै छन् भने, २ वटा पुराना उद्योगले आफ्नो क्षमता बिस्तार गर्दैछन् ।

अहिले नेपालमा बार्षिक ९० लाख टन सिमेन्टको माग रहेको ब्यवसायीहरुको अनुमान रहेको छ । यति परिमाणको मागलाई धान्न नेपाली उद्योग सक्षम भइसकेको तथ्याङकले देखाएको छ ।

अहिल्यै बाहिरबाट सिमेन्ट आउन बन्द भइसकेको छ, अब यहाँको उत्पादनले यहाँको मागलाई धान्न सक्छ’-मुरारकाले भने ।

करिब २३ लाख टन भारतबाट आयात हुने क्लिङकरलाई घटाउने हो भने नेपालमै करिब ६६ लाख टन सिमेन्ट उत्पादन भइरहेको छ ।

अब उत्पादन बिच प्रतिस्पर्धा
एकातिर भारतबाट आउने क्लिङकर महंगो बन्दै गएको छ भने अर्को तिर नेपालमै सिमेन्ट उद्योगहरु थपिने क्रममा रहेका छन् । यसले बजारमा निकै ठूलो प्रतिस्पर्धा गराउने देखिन्छ ।

‘बजार प्रतिस्पर्धी भयो भने एकातिर उपभोक्तासँग छनोट गर्ने अप्सन रहन्छ भने अर्को तिर आफुले उत्पादन गरेको सामानको गुणस्तरमासमेत कम्पनी-कम्पनी बिच प्रतिस्पर्धा हुन्छ’ सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रबकुमार थापाले क्लिकमाण्डुसँग भने ।

‘अब नेपाल सिमेन्टमा आत्मर्निभर भयो भन्दा हुन्छ, यसले उपभोक्तालाई मूल्यदेखि धेरै कुरामा फाइदा दिन्छ । अहिल्यै बाहिरबाट सिमेन्ट आउन बन्द भइसकेको छ, अब यहाँको उत्पादनले यहाँको मागलाई धान्न सक्छ’ अर्घाखाँची सिमेन्ट उद्योगका संचालक तथा नेपाल उद्योग बाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले भने ।

अबको केहि महिनामा नेपाललाई आवस्यक पर्ने सिमेन्ट उत्पादन नेपालमा नै हुन्छ । तर, पछिल्लो समय सिमेन्टमा भएको मूल्य वृद्धिलाई बजारले माग र पूर्तीको आधारमा निर्धारण गरेको व्यवसायीहरुले बताउने गरेका छन् ।

थापा र मुरारकाको भनाईलाई आधार मान्ने हो भनेपनि अबको दिनमा सिमेन्टको मूल्य ब्यवसायीले होइन बजारले निर्धारण गर्ने देखिन्छ । त्यसैले ठुला उत्पादन बजारमा आउँदा उत्पादन धेरै हुनाले उपभोक्ताले अहिलेभन्दा सस्तोमा सिमेन्ट प्रयोग गर्न पाउने देखिन्छ ।


क्लिकमान्डु