जुनसुकै बैंकको शाखाबाट पनि अब तपाइले राख्न पाउनु हुनेछ आफ्नै खातामा पैसा




काठमाडौं । आफ्नो खातामा पैसा जम्मा गर्न खाता भएको बैंक तथा वित्तीय संस्थामा जानु पर्दा हैरानी महसुस गरिरहनु भएको छ ? छ भने तपाइको लागि खुशीको खबर छ । अब तपाइको खातामा पैसा जम्मा पार्न खाता भएकै बैंकसम्म धाइरहनु पर्दैन ।

अबदेखि तपाइले आफूलाई पायक पर्ने वा नजिकको बैंक तथा वित्तीय संस्थाको शाखामा गएर आफ्नो खातामा रकम जम्मा पार्न सक्नुहुनेछ । यसो गर्न तपाइले छुट्टै खाता खोलिरहनै पर्दैन ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै जुनसुकै बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखाबाट पनि सम्बन्धित ब्यक्तिको खातामा पैसा जम्मा हुने ब्यवस्था गर्न भनेको छ ।

‘बैंकिङ सेवा तथा कारोबारलाई थप सरल तथा सहज बनाउन ग्राहकलाई पायक पर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरुका जुनसुकै शाखामा नगद जम्मा गरी आफ्नो बैंक तथा वित्तीय संस्थाको खातामा र सेवा प्रदायक संस्थाको खातामा भुक्तानी गर्दा एनसीएचएल आइपीएस प्रणाली मार्फत रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुले आन्तरिक प्रक्रियागत ब्यवस्था लागू गरी कार्यान्वयन गर्नुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ ।

यसको लागि केही शर्त भने तोकिएको छ । ती शर्तहरुमा नगद कारोबारको सीमा सम्बन्धमा विद्यमान निर्देशन/ब्यवस्था अनुसारै हुनुपर्नेछ । यस्तै ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धमा हाल विद्यमान निर्देशन/ब्यवस्थाको पालना गर्ने गरी नगद जम्मा गर्ने ब्यक्तिको पहिचान हुन सक्ने विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थको शाखाले लिनुपर्नेछ । एक लाख रुपैयाँभन्दा बढीको कारोबारको सीमाको हकमा जम्मा गर्ने ब्यक्तिको पहिचान हुन सक्ने परिचयपत्र पनि लिनु भनिएको छ र नगद जम्मा गर्नुको प्रयोजन समेत सम्बन्धित ब्यक्तिले खुलाउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले हरेक शाखामा रकम जम्मा गर्न उपलब्ध गराउने भौचरमा कम्तिमा खाता रहेको बैंकको नाम, खाता नम्बर, खातावालाको नाम र रकम जम्मा गर्ने ब्यक्तिको नाम उल्लेख हुनुपर्नेछ । रमक जम्मा पार्ने ब्यक्तिलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाको शाखाले रकम जम्मा गरेको निस्सा दिने ब्यवस्था पनि मिलाउन भनिएको छ ।

तोकिएको बैंक तथा वित्तीय संस्थाको खातामा कुनै कारणबश रकम जम्मा हुन नसकेमा रकम बुझिलिने संस्थाले सोको जानकारी जम्मा गर्ने ब्यक्तिलाई सोही दिन गराउनु पर्नेछ । यस्तै यो प्रणालीमा रकम जम्मा गर्दा ग्राहकसँग लिने शुल्कबारे ग्राहकलाई सुसुचित गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले बोलकबोल मार्फत लिने संस्थागत निक्षेपको हकमा प्रकाशित ब्याजदरको २ प्रतिशतसम्म थप गरी ब्याज दिन पाउने ब्यवस्था गरेको छ । यस्तो ब्याजदर भने ३ महिनासम्म परिवर्तन गर्न नपाइने राष्ट्र बैंकको भनाइ छ ।


क्लिकमान्डु