३३ करोड लगानीमा चोभारमा फलफूल तथा पुष्प बजार




काठमाडौं । कृषि विकास मन्त्रालयले चोभारमा अत्याधुनिक फलफूल तथा पुष्प बजार बनाउने भएको छ । करिब ३३ करोड रुपैयाँको लगानीमा चोभारमा यस्तो बजार बनाउन लागिएको हो ।

सो स्थानमा २२ रोपनी जग्गामा फलफुल तथा पुष्प बजार बनाउने गृहकार्य भइरहेको कृषि विकास मन्त्रालयका सहसचिब काशीराज दाहालले जानकारी दिए । यस्तै चोभारबाहेक नौविसे क्रेन्द्रमा पनि साढे ४ रोपनी जग्गामा तरकारी बजार खोलिने दाहालको भनाइ छ ।

सहसचिब दाहालले थोक तथा खुद्रा बजारमा निश्चित मूल्य कसरी निर्धारण गर्न सकिन्छ भनेर छलफल भइरहेको जानकारी दिए । यसरी मूल्य निर्धाण भएपछि मूल्यमा स्थीरता कायम हुने तथा उत्पादक र उपभोक्ता ठगिनेक्रम रोकिन सक्ने उनको भनाइ छ ।

सरकारले ५० लाख वटा क्रेट तरकारी तथा फलफूल उत्पादक किसानलाई वितरण गर्ने प्रक्रियामा रहेको दाहालले जानकारी दिए ।

‘कतिपय ठाउँमा अझै पनि क्रेटको साटो भुइमै थुपार्ने गरिएको छ, यस्तो प्रचलनले फलफूल तथा तरकारी छिटै कुहिने गरेको छ, यो समस्या समाधान गर्न सरकारले कृषकलाई ५० लाख क्रेट वितरण गर्न लागेको छ,’ दाहालले भने ।

नेपाल सरकारको केन्द्रीय तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दाहालले यस्तो जानकार िदिएका हुन् । कार्यक्रममा बजार विकास समितिका सदस्य तथा किसान प्रतिनिधि राजन न्यौपानेले तरकारीको माग र आपूर्तिको नियमन र त्यसको आयातको बारेमा जानकारी दिए ।

‘नेपालमा तरकारी भारत, चीन र भुटानबाट आयात हुने गर्छ, यो वर्ष असोज र कात्तिकमा झरीले गर्दा पनि उत्पादन कम भयो, उत्पादनै कम भएपछि आयात बढेको देखिन्छ,’ न्यौपानेले भने ।

कालिमाटी फलफूल तथा तरकारी बजारले आर्थिक वर्ष २०७३/७४ मा २ लाख ४९ हजार २ सय मेट्रिक टनको तरकारी तथा फलफूल आयात गरेको थियो भने आर्थिक वर्ष ७४/७५ को पुस मसान्तसम्म १ लाख ८ हजार २ सय ७० मेट्रिक टन आयात गरेको छ ।

पछिल्लो समयमा कालिमाटी बजारमा दैनिक ६ सय ५० देखि ७ सय मेट्रिक टन सामान आयात हुने गर्छ । कालिमाटीले दैनिक करिब ३ करोड रुपैयाँसम्मको कारोबार गर्दै आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले बताए ।

यस्तै आर्थिक वर्ष २०७३/७४ को वार्षिक अवधिमा भारतबाट ४४.७३ प्रतिशत तरकारी तथा फलफूल आयात हुने गरेको छ । चीनबाट ०.५२ प्रतिशत तरकारी आयात हुने गरेको थियो । यो आर्थिक वर्षमा भने भारतबाट तरकारी आयात हुने क्रम घट्दो क्रममा छ । यो आर्थिक वर्ष २०७४/७५ मा भारतबाट ४४.६४ प्रतिशत आयात भएको छ । यो वर्ष चीनबाट तरकारी बढी आयात भएको पाइएको छ । यो आर्थिक वर्षमा चीनबाट ०.५८ प्रतिशत तरकारी आयात भएको छ ।

अन्य तरकारीहरु नेपालका विभिन्नस्थानहरु भक्तपुर, चितवन, दोलखा, गोर्खा, झापा, काभ्रे, नुवाकोट, रामेछाप, सर्लाही, सिन्धुपाल्चोक र तनहुबाट आउने गरेका छन् ।

यस्तै यो आर्थिक वर्षको सुरुबाटै विभिन्न तरकारीहरुको मूलयमा उतार चढाव आएको पाइएको छ । कात्तिकसम्म आकासिएको तरकारीको मूल्य मंसिरपछि भने घटेको छ ।

बर्षातको मौसममा उत्पादनमा कमी आएको र कतिपय विरुवा मरेका कारण त्यसलाई रिप्लान्ट गर्नु परेकाले पनि तरकारीको मूल्य वृद्धि भएको कार्यकारी निर्देशक पौडेलले बताए । यसैगरी भारतमा पनि दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएका कारण नेपालमा समेत यसको असर परेको पौडेलको भनाइ छ । भारतले न्यूनतम निर्यात दर लागू गरेका कारण नेपालमा प्याजको मूल्य बढेको छ ।

यस्तै कार्यकारी निर्देशक पौडेलले मूल्य वृद्धि हुनुमा मार्केट च्यानल धेरै हुनु, उत्पादनको स्थिति सानो र छरिएको हुनु, ढुवानी अवस्था कमजोर हुनुका साथै सवारीसाधन सानो हुनु र परम्परागत तवर तरिका तथा प्रविधिका कारण पनि मूल्यमा निकै असर पुराएको पौडेलले जानकारी दिए ।


क्लिकमान्डु