सरकारको भन्सार नीतिले ४० करोड लागतको ‘डिओपी’ उद्योग समस्यामा



हेटौंडा । करिब ४० करोडको लगानीमा हेटौडा औद्योगिक क्षेत्रमा संचालनमा रहेको मासिक ४ सय टन उत्पादन क्षमताको डिओपी (Di Octyl Phthaiate) उद्योग बन्द हुने भएको छ ।

प्लाष्टिकका उत्पादन जोड्न प्रयोग गरिने डिओपी उद्योग बन्द हुने अबस्था आएको कम्पनीले जानकारी दिएको छ । २०६७ सालदेखि संचालनमा आएको यो उद्योग विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुन लागेको कम्पनीले जानकारी दिएको छ ।

निम्बस ग्रुपको लगानीमा संचालित यस उद्योगलाई कम्पनीले बन्द गर्नुपर्ने अबस्था आएको जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरिया भन्छन् ‘सरकारले हाम्रो जस्तो बाहिरबाट कच्चा पदार्थ ल्याएर चलाउने केमिकल उद्योगको बिषयमा न्यायोचित निर्णय गर्न सकेन, तयारी उत्पादन भन्दा कच्चा पदार्थमा बढि भन्सार कर लगाइएको छ । यसले हामीले यहाँ उत्पादन गरेर बिदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नै नसक्ने अबस्था आयो ।’

‘यसअघि भारतीय लगानीकर्ताले संचालन गरेको उद्योग हामीले पछि किनेका हौं, उनिहरुले सुरुमा एक अर्बसम्मको निर्यात गर्ने गरेका थिए । पछि हाम्रो सरकारले भन्सार दरमा परिर्वतन गरेसँगै उनिहरु उद्योग चलाउन नसकेर बेचेर गए’ बगरियाले क्लिकमाण्डूसँग भने ।

कम्पनीका फ्याट्री मेनेजर शैलेस लामिछाने भन्छन् ‘बिदेशबाट आउने तयारी उत्पादनमा ५ प्रतिशत भन्सार शुल्क लाग्छ तर हामीले कच्चा पदार्थ ल्याउँदा करिब १५/२० प्रतिशत भन्सार शुल्क तिर्नु पर्छ ।’

त्यसैले कम्पनीले आफ्नो डिओपी उत्पादन बन्द गर्न लागेको लामिछानेले जानकारी दिए । डिओपीको प्रयोग नेपाली कार्पेट, जुत्तालगायतका उद्योगहरुले गर्दै आएका थिए । तर, आयतीत उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर उक्त उद्योग बन्दहुने अबस्था आएको हो ।

केमिकल फ्याट्री

निम्बसका अन्य केमिकलमा आधारित उत्पादन
निम्बस ग्रुपले हेटौडा औद्योगिक क्षेत्रको करिब २५० रोपनी क्षेत्रफलमा बिभिन्न ७ प्रकारका केमिकल, पोलि ओभन फेब्रिक र प्लाष्टिकको ड्रमलगायतका केमिकलमा आधारित उत्पादन मूलक उद्योग संचालन गर्दै आएको छ ।

यस औद्योगिक क्षेत्रमा निम्बस ग्रुपले करिब २ अर्ब लगानी गरेर ती उद्योग संचालन गरिरहेको छ ।

उद्योगले डिओपी उत्पादन बन्द गर्ने तयारी गरेसँगै इमल्सन र पेन्टस् बकेट उत्पादन गर्ने तयारी सुरु गरेको छ । करिब ७०/८० करोड लगानीमा सुरु गर्न लागिएको उद्योगले नेपाली बजारमा पेन्टस्को प्रयोग बढ्दै गएकाले उक्त उद्योग लगाउन लागिएको जनाएको छ ।

कम्पनीका फ्याट्री मेनेजर शैलेस लामिछानेका अनुसार नेपाली बजारमा इमल्सनको माग निकै ठूलो रहेको र हाल सम्पूर्ण इमल्सन भारतलगायतका देशबाट आइरहेकोले यहि उत्पादन गर्ने तयारी गरिएको बताए ।

‘मल्टीनेशनल कम्पनीहरुलाई बिक्री गर्ने लक्ष्यकासाथ हामीले नयाँ प्लान्ट लगाउन लागेका छौं’ लामिछानेले भने ।

उत्पादित ड्रम

सरकारले भन्सार दर तय गर्दा तयारी उत्पादन र कच्चा पदार्थमा फरक कायम राख्ने हो भने यस्ता उद्योग संचालन हुन सक्ने देखिन्छ । अन्यथा कच्चा पदार्थ आयातमा आधारित उद्योगहरुले विदेशी उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न सक्ने अबस्था रहँदैन । त्यसले भएका उद्योगहरु समेत बन्द हुँदै जाने खतरा बढ्ने देखिन्छ ।


क्लिकमान्डु