तारे होटल खोल्न भयो सहज, कुन स्तरको लागि कस्तो मापदन्ड ?



काठमाडौं । सरकारले एकतारेदेखि पाँचतारे होटेल र रिसोर्टका लागि मापदण्ड खुकुलो बनाएको छ ।

संशोधित मापदण्ड अनुसार अब दुर्गम तथा हिमाली भेगमा खुल्ने तारे होटेलले शहरी इलाकामा खुल्ने होटेल र रिसोर्ट सरह मापदण्ड नपुर्याए पनि तारे होटेलको मान्यता पाउनेछन् ।

सरकारले एकतारेदेखि पाँचतारे होटेलसम्मको मापदण्डमा मात्र संशोधन गरेको छ । पर्यटकीय होटेल, रिसोर्ट तथा पाँचतारे डिलक्स होटेलको हकमा भने कुनै परिवर्तन गरिएको छैन ।

सरकारी मापदण्ड पूरागरी सञ्चालनमा रहेका कम्तीमा २ सयवटा सुत्ने कोठा भएका होटेल र रिसोर्टलाई ‘पाँचतारे डिलक्स’ भित्र वर्गीकरण गरिएको छ ।

होटेल र रिसोर्टलाई सरकारले सेवाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वर्गीकरण गरेको हुन्छ । ती विविध मापदण्डमध्ये कोठा र केही भौतिक सुविधासम्बन्धी मापदण्ड मात्र संशोधन गरिएको छ ।

कुन होटलको कस्तो हुन्छ ?

एकतारेका लागि
पुरानो-एकतारे होटेलमा कम्तीमा ५ वटा गाडी पार्किङ गर्न सकिने उपयुक्त व्यवस्था हुनुपर्ने छ ।

नयाँ (थप) तर, गाडी नपुगेको स्थानमा होटेल खोल्दा पार्किङ अनिवार्य छैन ।

पुरानो-कम्तीमा २० वटा सुत्ने कोठा हुनुपर्ने ।

नयाँ-काठमाडौं उपत्यकामा रहने होटेलको हकमा कम्तीमा २० वटा र उपत्यकाबाहिर रहने होटेलको हकमा कम्तीमा १५ वटा सुत्ने कोठा हुनुपर्ने ।

दुईतारेका लागि
पुरानो-कम्तीमा १० वटा गाडी पार्किङ गर्न सकिने उपयुक्त व्यवस्था हुनुपर्ने ।

नयाँ (थप) -तर, गाडी नपुगेको स्थानमा सञ्चालन हुने होटेलको हकमा पार्किङ अनिवार्य हुनेछैन ।

पुरानो-कम्तीमा ४० वटा सुत्ने कोठा हुनुपर्नेछ ।

नयाँ-काठमाडौं उपत्यकाको हकमा कम्तीमा ४० वटा र उपत्यकाबाहिर रहने होटेलको हकमा ३० वटा सुत्ने कोठा हुनुपर्ने ।

तीनतारेका लागि
पुरानो-कम्तीमा २० वटा गाडी पार्किङ गर्न सकिने उपयुक्त व्यवस्था हुनुपर्ने ।

नयाँ (थप)-तर, गाडी नपुगेको स्थानमा सञ्चालन हुने होटेलको हकमा पार्किङ व्यवस्था अनिवार्य हुनेछैन ।

पुरानो-कम्तीमा ६० वटा सुत्ने कोठा हुनुपर्ने ।

नयाँ-काठमाडौं उपत्यकाको हकमा कम्तीमा ६० वटा र उपत्यकाबाहिर रहने होटेलको हकमा कम्तीमा ४५ वटा सुत्ने कोठा हुनुपर्ने ।

चारतारेका लागि
पुरानो-औसत क्षमताको बाहिरी पौडी पोखरी हुनपर्ने ।

नयाँ (थप)-तर, उच्च हिमाली क्षेत्रमा स्थापना हुने होटेलको हकमा पौडी पोखरी अनिवार्य हुनेछैन ।

पुरानो-कम्तीमा ८० वटा सुत्ने कोठा हुनुपर्नेछ ।

नयाँ-काठमाडौं उपत्यकामा रहने होटेलको हकमा कम्तीमा ८० वटा र उपत्यकाबाहिर रहने होटेलको हकमा कम्तीमा ६० वटा सुत्ने कोठा हुनुपर्ने ।

पाँचतारेका लागि
पुरानो-एक अन्तर्राष्ट्रियस्तरको पोडी पोखरी र बाल पौडी पोखरी छुट्टाछुट्टै हुनुपर्ने र पोखरी र सनबाथ क्षेत्र रुख-बिरुवाले घेरिएको तथा सार्वजनिक क्षेत्रबाट नदेखिने हुनुपर्ने ।

नयाँ (थप)-तर, उच्च हिमाली क्षेत्रमा स्थापना हुने होटेलको हकमा पौडी पोखरी अनिवार्य हुनेछैन ।

पुरानो-कम्तीमा १०० वटा सुत्ने कोठा हुनुपर्ने ।

नयाँ-काठमाडौं उपत्यकामा रहने होटेलको हकमा कम्तीमा १०० वटा र उपत्यकाबाहिर रहने होटेलको हकमा कम्तीमा ८० वटा सुत्ने कोठा हुनुपर्ने ।


क्लिकमान्डु