काठमाडौंका भित्री सडकमा ४ पाङ्ग्रे सवारी निषेध, किन भए व्यापारी खुसी ?



काठमाडौं । काठमाडौंका भित्री शहरी क्षेत्रमा चारपाङ्ग्रे सवारी साधनलाई निषेध गरिनुलाई व्यापारीहरुले सकारात्मकरुपमा लिएका छन् । चारपाङ्ग्रे सवारी साधन निषेध गर्ने कार्यलाई व्यापारीक दृष्टिकोणले हेर्न नहुने उनीहरुको भनाई छ ।

सरकारले माघ २ गतेदेखि काठमाडौं महानगरपालिकाको १७, १८, १९, २२, २४, २५ र २७ नम्बर वडाका भित्री सडकमा चारपाङ्ग्रे सवारी साधन निषेध गर्दैछ ।

‘हामी नेपाली एकदम सुविधाभोगी भएका छौं, हामीलाई दुई पाइला हिंडे पुग्ने ठाउँसम्म जान पनि सवारी चाहिन्छ,’ बाँनियाँले क्लिकमाण्डूसँग भने ।

भोटाहिटीबाट असन चोकसम्म चारपाङ्ग्रे सवारी साधनलाई एकतर्फी निषेधित क्षेत्र बनाईएको छ । यस्तै, नरदेवीबाट भेडासिङ्गहुँदै ईन्द्रचोकसम्म तथा टेंङ्गलबाट बांङ्गेमुढाहुँदै भेडासिङ्ग, ईन्द्रचोकसम्म र क्षेत्रपाटीबाट ठहिटीहँुदै नघःल बांङ्गेमुढा भेडासिङ्गहँुदै ईन्द्रचोकसम्म एकतर्फि जान पाउने व्यवस्था मिलाईएको छ ।

साथै, इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंङ्ग, ज्याठाबाट त्यौड, ठहिँटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटुसम्म चारपाङ्ग्रे सवारी साधानलाई पूर्ण रुपमा निषेध गरिएको छ ।

काठमाडौं महानगरपालिका र महानगरिय ट्राफिक प्रहरी महाशाखाले भित्री शहरी क्षेत्रभित्र पर्ने सम्पदाको संरक्षणका लागि चारपाङ्ग्रे सवारी निषेध गर्न लागिएको जानकारी दिएका छन् ।

इन्द्रचोकमा लोकेश्वर ब्रास ट्रेडर संचालन गर्दै आएका सुनिलसिंह बाँनिया काठमाडौंको भित्री सडकमा चारपाङ्ग्रे सवारी साधन निषेध गर्ने काम ढिलो भएपनि शुरु भएकोमा खुसी व्यक्त गर्छन् ।

उनी चारपाङ्ग्रे सवारी साधनमात्र नभए दुईपाङ्ग्रे सवारी निषेध गर्नुपर्ने तर्क अघि सार्छन् ।

‘हामी नेपाली एकदम सुविधाभोगी भएका छौं, हामीलाई दुई पाइला हिंडे पुग्ने ठाउँसम्म जान पनि सवारी चाहिन्छ,’ बाँनियाँले क्लिकमाण्डूसँग भने ।

उनी सवारी साधन निषेध गर्दा व्यापारमा कुनै समस्या नपर्ने बताउँछन् ।

‘ग्राहकहरु सामान खरिदका लागि आउने भनेको यहि हो, केहि समय असहज भएपनि विस्तारै ग्राहकमा बानी पर्दै जान्छ,’ उनले भने ।

साथै, उनी सरकारले चारपाङ्ग्रे सवारीका साथमा दुईपाङ्ग्रे सवारी निषेध गर्नुपर्ने बताउँछन् । भित्री सडकमा पूर्णरुपमा सवारी निषेधगर्दा धुलो, धुँवा नउड्ने तथा यात्रुले निर्धक्करुपमा पसल घुम्न सक्ने वातावरण सिर्जना हुने उनको तर्क छ ।

असन, इन्द्रचोक, महाबौद्धलगायत आसपासका स्थान मुलुकको व्यापारिक केन्द्र हुन् । यी स्थान मानिस तथा सवारी दुवैको अधिक चाप हुने स्थानमा पर्छ ।

साँधुराबाटामा मान्छेलाई छिचोलेर हिड्न मुस्किल पर्ने गल्लीमा चारपाङ्ग्रे सवारी साधन मात्र नभएर दुईपाङ्ग्रे सवारी साधन पनि निषेध गर्नुपर्ने अनामनगरबाट असनमा घरायसी सामाग्री खरिद गर्न आएकी पुष्पा दुलाल बताउँछिन् ।

भित्री शहरी क्षेत्रमा चार पाङ्ग्रे सवारी साधनलाई बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निषेध गरिने छ ।

‘सवारी साधनका कारण बाटो हिड्न डरमर्दो अवस्था छ, पूर्णरुपमा सवारी निषेध गर्नसके हामी जस्ता पैदल यात्रीले चैन पूर्वक यात्रा गर्न सक्ने थिए,’ दुलालले भनिन् ।

विसं २०४० सालदेखि महाँबौद्ध, वीर अस्पताल नजिकै बदाम तथा पानी बेच्दै आएकी ५८ बर्षिय माइली शेर्पालाई व्यापारमा पर्ने प्रभावभन्दा पनि चारपाङ्ग्रे सवारी साधन निषेध गर्दा अत्यावश्यक अवस्थामा मानिसलाई समस्या पर्न नहुने बताउँछिन् ।

‘सवारी निषेध गर्नु राम्रो कुरा हो, अत्यावश्यक परेकालाई भने झन्झट हुनु भएन,’ शेर्पाले भनिन् ।

यस्तै, महाबैद्धमा राज वि. फर्मा संचालन गर्दै आएका राजभाई स्थापित चारपाङ्ग्रे सवारी निषेध भएसँगै पैदल हिड्ने ग्राहकलाई धेरै सुविधा हुने बताउँछन् ।

‘सामान बोक्ने गाडीहरुले घण्टौं पार्किङ गरेर सडक होल्ड गर्ने गरेका छन्, सवारी निषेधसँगै सडक खुल्ला हुनेछ,’ स्थापितले भने ।

तर असनमा श्री शुज सेन्टर संचालन गर्दै आएका नवराज चौलागाईं चारपाङ्ग्रे सवारी निषेध गर्दा व्यापारमा केहि असर पर्ने बताउँछन् ।

‘गाडीमा आउनेहरुले गाडी रोकेर सामान किन्ने हैनन्, गाडीबाट पसल याद गरेर किन्न आउने गरेको पनि पाइएको छ,’ चौलागाईले भने ।

भित्री शहरका केहि व्यापारीहरु भने अहिले नै चारपाङ्ग्रे सवारी निषेधका कारणबाट व्यापारमा कस्तो असर पर्छ भनेर भन्न नसकिने बताउँछन् ।

तर जे भएपनि सरकारी योजनालाई आफूहरुले पालना गर्ने उनीहरुको भनाई छ ।

भित्री शहरी क्षेत्रमा चार पाङ्ग्रे सवारी साधनलाई बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निषेध गरिने छ भने दुई पाँग्रे सवारी साधनहरुलाई भने निर्वाध संचालन गर्न दिईने छ ।


क्लिकमान्डु