औद्योगिक विकास बहसमा, हालसम्म १ खर्ब ५१ अर्ब वैदेशिक लगानी



काठमाडौं । नेपालमा १ खर्ब ५१ अर्बको बराबरको प्रत्यक्ष वैदेशिक लगानी भएको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको छ ।

केन्द्रिय बैंकले गरेको अध्ययनअनुसार २५२ वटा कम्पनीले उक्त रकम लगानी गरेको देखिएको छ ।

त्यसमध्ये झण्डै ५४ अर्ब रुपैयाँ कम्पनीहरुको चुक्तापुँजी रहेको छ भने, अरु रकम उनिहरुको रिर्जभमा देखिएको छ ।

वैदेशिक लगानी भएको उद्योग मध्ये ३७ वटा उत्पादनमूलक उद्योग छन् भने ११ वटाले मात्र निर्यातजन्य सामग्री उत्पादन गर्दैै आएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको ‘निर्यात प्रवद्र्धन’ विषयक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले द्रुत गतिमा उपभोग हुने उपभोग्य सामग्रीको अधिक व्यापार हुने गरेको र त्यस्ता ८ वटा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी रहेको रहेको जानकारी दिए ।

तीन वटा उद्योगले पनि निर्यातजन्य सामग्री उत्पादन गरिरहेका जानकारी दिँदै उनले उपभोग्य सामग्री उत्पादन गर्ने ८ र ३ वटा उत्पादनमुखी उद्योगले मात्र निर्यात व्यापार गर्दै आएका बताए ।

कार्यक्रमका अधिकांश वक्ताले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, उद्यमशीलता विकासका निम्ति निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने प्राविधिक एवं भौतिक पूर्वाधारको पर्याप्त उपयोग हुनुपर्ने र तिनको निर्माणमा राज्यले जोड दिनुपर्ने बताए ।

अलैँची, अदुवा, चियाजस्ता निर्यातजन्य कृषि उपज भारतमात्र होइन अन्य मुलुकतर्फ निकासी गर्नेगरी ठूलो परिमाणमा उत्पादन गर्नुपर्ने तथा गलैँचा, तयारी पोशाक र पश्मिनाको बजारीकरणमा आक्रामक ढंगले लाग्नुपर्ने आवश्यकता उनीहरुले औँल्याएका थिए ।

कार्यक्रममा औद्योगिक नीति सम्बन्धी कार्यपत्र डा. पुष्पराज बज्रार्चाय र डा. शंकरप्रसाद शर्माले प्रस्तुत गरेका थिए भने, नियाँतको अबस्था र नयाँ रणनीतिसम्बनधी कार्यपत्र सावतीका अध्यक्ष पोसराज पाण्डेले प्रस्तुत गरेको थिए ।

उद्योग सचिब यमकुमारी खतिवडा र बाणिज्य सचिब चन्द्रकुमार घिमिरेले आ आफ्नो सेसनको चेयर गरेका थिए ।

सिएनआईका अध्यक्ष हरिभक्त शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायत व्यवसायीक क्षेत्रका अगुवाहरुले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।


क्लिकमान्डु