मुला बेचेरै किसानले कमाए करोडौं रुपैयाँ



पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३, को मझुवा, सिलौटी, डोजरडाँडा, सिम्ले क्षेत्रमा मुलाको उत्पादन वृद्धि भएको छ ।

यहाँका कृषकले व्यावसायिकरुपमै मुला खेती गर्न थालेकाले गत वर्षभन्दा यसपालि ५० प्रतिशतभन्दा बढी मुला उत्पादन भएको किसानले बताएका छन् ।

अर्गानिक मुलाले राम्रो बजार पाउँदै गएपछि यसको खेतीमा किसानको आकर्षण बढेको हो । यहाँ फलेको मुला पोहोर २०० गाडी निर्यात भएकामा यो वर्ष ४०० गाडी निर्यात भएको छ ।

चार सय गाडीबाट एक हजार मेट्रिक टनसम्म मुला बिक्री भएको स्थानीय व्यापारी मचिन्द्र सुनुवार मुखियाले सुनाए ।

‘मुला प्रतिकिलो १५ रुपैयाँदेखि १९ रुपैयाँसम्ममा बिक्दा एक करोड ८० लाख रुपैयाँ बढी आम्दानी भएको छ,’ उनले भने ।

यहाँ उत्पादित मुला फिदिमको शनिबारे बजार, इलामको पशुपतिनगर, झापा, विराटनगर, भारतको सिलगुडीसम्म पुग्ने सम्बद्ध व्यापारी बताउँछन् ।

यस क्षेत्रमा पाँच वर्षअघिदेखि थालिएको मुला खेतीले राम्रो बजार पाउँदा अहिले यसको बिस्तार भएको हो । मेची राजमार्ग आसपासका मझुवा, सिलौटी, डोजरडाँडा, सिम्लेका १५० भन्दा बढी परिवारका किसानले आलुपछि राम्रो आम्दानीको स्रोतका रुपमा मुला रोप्ने गरेका हुन् ।

मुला खेती थालेदेखि परिश्रमको फल छिटो खान चाहे मुलै रोप्नु पर्दोरहेछ भन्ने ज्ञानसमेत मिलेको सुस्मिता सुनुवारले सुनार्इन्।

मुला रोपेको दुई महिनाभित्रमा फलेर विकी सक्ने, सिँचाइको आवश्यकता नपर्ने र फुर्फुराउँदो माटो रहेको ओसिलो स्थान राम्रो हुने हुँदा मझुवा, सिलौटी, डोजरडाँडा, सिम्लेमा मुला फस्टाउने गरेको छ ।

मुला रोपेपछि सामान्य गोडमेलबाहेक अरु झन्झट गरिरहनु नपर्ने हुनाले यसलाई सरल खेती मानिन्छ । सजिलो खेती भएका कारण यसप्रति प्रायः गृहिणी महिलाको बढी लगाव रहेको पाइएको छ ।


क्लिकमान्डु