भत्किएको घर बनाउन ५ सय भूकम्प पीडितले १ अर्ब ऋण लिए



काठमाडौं । ०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प गएपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले घोषणा गरे- भूकम्प पीडितलाई घर बनाउन २ प्रतिशत व्याजमै ऋण पाउने व्यवस्था मिलाउँछु ।

जसअनुसार काठमाडौं उपत्यकाका भूकम्प पीडितले आफ्नो भत्किएको घर बनाउन २५ लाख र काठमाडौं बाहिरका पीडितहरुले १५ लाख रुपैयाँ पाउने भए ।

गभर्नरको उक्त घोषणाले भूकम्पको पीडामा परेका पीडितहरुमा आशाको त्यान्द्रो मात्रै पलाएन, संकट पर्दा राज्य छ भन्ने आभाष पनि दिलायो ।

तर, कतिपयले भने गभर्नरले आवेगमा आएर यस्तो घोषणा गरेको भन्दै टिप्पणी पनि गरे ।

जब भूकम्पको त्रास कम भयो । र, जनजिबन सामान्य बन्यो । तब पीडितहरु घर बनाउनका लागि २ प्रतिशत ब्याजमै ऋण लिन बैंक जान थाले । बैंकहरुले ऋण नदिइ फर्काए ।

किनभने त्यसबेलासम्म ब्याज अनुदानको कार्यविधि नै बनेको थिए । राष्ट्र बैंकले कार्यविधि बनाउन केही समय लगायो । र, कार्यविधिमा प्रष्ट भन्यो– सामान्य अवस्थामा बैंकबाट ऋण लिन योग्यले मात्रै यस्तो सुविधा पाउने छन् ।

बैंकले ऋण दिनका लागि विभिन्न मापदण्ड तोकेको हुन्छ । जस्तैः बाटोले छोएको जग्गा धितो हुनुपर्ने, ऋणको किस्ता तिर्नसक्ने आम्दानी हुनुपर्ने लगायत ।

यस्तो कर्जा दिनका लागि राष्ट्र बैंकले बैंकहरुलाई शुन्य दरमा पुनरकर्जा उपलब्ध गरायो । राष्ट्र बैंकले कार्यविधि बनाएपछि बैंकहरुलाई भूकम्प पीडितलाई ऋण दिन दबाब बढ्न थाल्यो ।

गभर्नर डा. नेपाल नै सार्वजानिक कार्यक्रममा भन्थे- बैंकबाट ऋण लिन योग्य फाइल हुँदा हुँदै कुनै बैंकले २ प्रतिशत व्याजदरमा ऋण दिएनन् भने सीधै मलाई फोन गर्नु ।

गभर्नरको यस्तो अभिव्यक्तिसँगै ब्याज अनुदानको कर्जा दिन आनाकानी गरिरहेका थप दबाब बढ्यो । र, उनीहरुले कर्जा दिन थाले ।

राष्ट्र बैंकका अनुसार अहिले करिब ५ सय भूकम्प पीडितले आफ्नो भत्किएको घर बनाउनका लागि २ प्रतिशत ब्याजदरमै १ अर्ब १ करोड ३४ लाख रुपैयाँ ऋण लिइसकेका छन् । यो तथ्यांक ०७४ कात्तिक मसान्तसम्मको हो ।

सहुलियत ऋणमा के-के सुविधा ?

भूकम्प पीडितलाई सहुलियत दरमा आवासिय ऋण दिन राष्ट्र बैंकले बैंकहरुलाई शून्य ब्याजदरमा एक वर्षका लागि पुनःकर्जा दिन्छ । र, बढीमा १० वर्षसम्म वाषिर्करुपमा पुनःकर्जाको नवीकरण हुन्छ । बैंकले तपाईको ऋण हरेक वर्ष नवीकरण गर्नेछन् ।

यस्तो ऋण लिएको एक वर्षसम्म तपाईले किस्ता तथा व्याज तिर्नुपर्ने छैन । तर, दोस्रो वर्षदेखि भने नियमितरुपमा किस्ता तिर्नुपर्छ । ऋणीले तोकिएको अवधि अगावै ऋण तिरे बैंकले अतिरिक्त शुल्क लिन पाउने छैन ।

ऋण पाउन के-के गर्नुपर्छ ?

सहुलियत दरको ऋण लिन भूकम्पका कारण तपाईको घर बस्नै नहुनेगरी क्षतिग्रस्त भएको भनी सरकारी निकायले प्रमाणित गरेको हुनुपर्छ । यो प्रमाण लिएपछि मात्रै सहुलियत दरको ऋणका लागि बैंकमा आवेदन दिन योग्य ठहरिन्छ।

त्यस्तै, ऋण लिनका लागि अनिवार्यरुपमा धितो (घर वा जग्गा० हुनुपर्छ । किनभने बैंकहरुले धितो मूल्यांकनको ४० देखि ५० प्रतिशत मात्रै ऋण दिन्छन् ।

त्यति मूल्य पर्ने जग्गा हुँदा मात्रै ऋण पाइँदैन । ऋण तिर्न सक्ने गरीको आम्दानीको स्रोत पनि बैंकले खोज्छ । त्यसका लागि कि ऋण लिने व्यक्तिको जागिर हुनुपर्छ, कि त व्यापार व्यवसाय वा अन्य कुनै चित्तबुझ्दो आम्दानीको स्रोत हुनुपर्छ। होइन भने, बैंकबाट खाली हात फर्किनुपर्ने हुन्छ ।

ऋणको दुरुपयोग गरे जेल

घर बनाउन भनेर लिएको ऋण जग्गा वा घडेरी किन्न, व्यापार/व्यवसाय गर्नलगायतमा खर्च गरेको फेला परेमा कर्जा दुरुपयोग गरेको अभियोगमा बैंकिङ कसूर अन्तर्गत जेल साजाय भोग्नुपर्ने हुन्छ । धितो राखेको जग्गा बैंकले लिलामी गर्छ ।

 


पुष्प दुलाल