उपत्यकाका स्मार्ट सिटीदेखि ठूला पूर्वाधारसम्म वातावरणमैत्री अनिवार्य




काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकारणले निर्माण गर्ने भौतिक संरचनाहरु वातावरणमैत्री हुने भएको छ । वातावरणमैत्री भौतिक संरचना निर्माणका लागि प्राधिकरणले ‘इकोसिस्टम वेस एडप्टेसन’ (इबीए) अध्ययन गर्ने भएको हो ।

एबीए अध्ययनका लागि परामर्शदाता कम्पनी छनोट गर्न लागिएको उपत्यका विकास प्राधिकरणका सहरी योजना विज्ञ भागवतभक्त खोखालीले जानकारी दिए ।

प्राधिकरणले काठमाडौं उपत्यकाभित्र भक्तपूर, ललितपूर र काठमाडौं जिल्लाका ३ शहरमा स्मार्ट सिटी र अन्य भौतिक संरचना बनाउँदैछ । प्राधिकरणले यी सबै संरचना वातावरणमैत्री बनाउन यस्तो पहल थालेको हो ।

‘नेपालका भौतिक संरचनाहरु इबीए अध्ययनबिना निर्माण भईरहेका छन्, इबीए अध्ययन नगरि निर्माण गरिएका भौतिक संरचनाले वातावरणमा कस्तो किसिमको प्रभाव पारेको छ भन्ने थाहा पाउन सकिदैन,’ खोखालीले क्लिकमाण्डूसँग भने ।

प्राधिकारले निर्माण गर्ने भौतिक संरचनाले वातावरण पारेको प्रभाव बारेमा बुझ्नका लागि इबीए आवश्यक भएको खोखाली बताउँछन् । इबीए अध्ययनबाट भौतिक संरचनाका कारण वातावरणमा पर्ने प्रभावलाई न्युनिकरण गर्न मद्दत पुग्ने खोखालीको बुझाई छ ।

प्राधिकरणले इबीए अध्ययनका लागि इच्छुक कम्पनीसँग प्रस्ताव माग गरिसेको छ । प्राधिकरणको प्रस्तावमा ९ वटा स्वदेशी कम्पनीले अध्ययनका लागि प्रस्ताव पेस गरेको खोखाली बताउँछन् ।

ती कम्पनीलाई प्राधिकरणले मंसिर ३ ‘लेटर फर रिक्वेस्ट’ पठाइसकेको प्राधिकरणका प्रवक्ता केशव न्यौपानले जानकारी दिए । हाल प्राधिकरणले ती कम्पनीहरुको आन्तरिक मुल्याङकन गरिरहेको छ ।

के हो इबीए ?
इकोसिस्टम वेस एडप्टेसनलाई छोटकरीमा इबीए भनिन्छ । इबीएबाट कुनै पनि भौतिक संरचना निर्माण गर्दा सो स्थानकोे पर्यावरणमा हुन सक्ने परिवर्तनको जानकारी हासिल गर्न सकिन्छ ।

इबीए अध्ययन मार्फत वातावरणमा देखिन सक्ने परिवर्तनका साथै त्यसलाई न्युनिकरण गर्ने उपयम पहिचान गर्न सहयोग पुग्ने विज्ञ खोखाली बताउँछन् ।

हाल निर्माण गरिएका भौतिक संरचनामा इबीए अध्ययन नभएकाले सो स्थानको पर्यावरणमा आएको परिवर्तन बारेमा थाहा पाउन सकिएको छैन । जसका कारण सो स्थानमा बसोबास गर्ने जीव÷जन्तुमा परेको प्रभाव बारेमा अनविज्ञ रहनु परेको उनी बताउँछन् ।

इबीए किन आवश्यक छ ?
नेपालका भौतिक संरचनाहरु इबीए अध्ययन बिना निर्माण हुने गरेको खोकाली बताउँछन् ।

‘इबीए अध्ययन बिना निर्माण गरिएका भौतिक संरचनाहरु पर्यावरणमा पारेको प्रभावबारे थाहा पाउन सकिदैन, जसका कारण सो स्थान बसोबार गर्ने जीव÷ जन्तुमा कस्तो खालको प्रभाव परिरहेको बुझ्न कठिन हुन्छ,’ विज्ञ खोखालीले भने ।

इबीए अध्ययनबाट भौतिक संरचना बन्ने स्थानमा बसोबास गर्ने जीव÷जन्तुमा पर्न गएको सकारात्म र नकारात्मक प्रभाव दुवै थाहा पाउन सकिने उनको बुझाई छ ।


क्लिकमान्डु