यसरी बन्छ तातो कफिमा कलात्मक आर्ट (भिडियोसहित)




काठमाडौं । तपाइ कफिको पारखी हुनुहुन्छ भने कफिको कपमा विभिन्न कलात्मक आकृति देख्नुभएकै होला । कफिको कपमा देखिने कला साच्चिकै आकर्षक र मनमोहक हुने गरेको तपाइले पनि अनुभूत गर्नुभएको होला ।

कफि कपमा देखिने आकर्षक र मनमोहक चित्रकलालाई कफि आर्ट भनिन्छ । यो कसरी बन्छ ? के दुध र कफिले मात्र यसलाई बनाउन पर्याप्त होला ?

हामी यही जिज्ञासासहित क्याफिन कफि स्कूल पुग्यौं ।

त्यहाँ स्कूलका ट्रेनिंग कोर्डिनेटर फिजिकल शाक्यसँग भेट भयो । उनी यहाँ कफि आर्ट सिकाउने गर्छिन् । उनीसँगको कुराकानीमा हामीलाई के थाहा भयो भने कफि आर्टको लागि सामान्य कफि र दुध मात्र पर्याप्त हुँदैन रहेछ ।

कफि आर्टलाई ल्याटे आर्ट पनि भनिदो रहेछ । ल्याटे आर्टको नामबाट इटालीमा कफि आर्ट प्रचलनमा आएको पाइयो । यसलाई सुरुमा अमेरिकाका डेभिड स्कोमरले सन् १९८० देखि १९९० को अवधीमा ल्याटे आर्ट हर्ट प्याटर्नमा यसलाई विकसित गर्दै ल्याएका हुन् । ल्याटे कफि अर्थात कफि आर्ट न्यूजल्याण्ड, सिंगापूर, रोम, आइसल्याड, अस्ट्रिया, मेलबर्न र लन्डनमा धेरै प्रशिद्ध छ ।

अस्ट्रेलिया जानको लागि ठिक्क परेका जावलाखेल निवासी संस्कार श्रेष्ठ बिदेश जादा कफि आर्टको काम सजिलै पाइने भएकोले आर्ट सिक्न आएको बताउछन् ।

कत्तिको सजिलो छ कफि आट ?

कफि आर्ट बनाएको हेर्दा जति सजिलो देखिन्छ, यो बनाउन निकै गाह्रो छ । कफि आर्ट बनाउन कफि मेसिन आवश्यक पर्ने हुन्छ । यो मेसिनको मूल्य ६ लाख रुपैयाँभन्दा बढी पर्ने शाक्यले जानकारी दिइन ।

आर्टको लागि साधारण बजारमा पाइने कफि नभइ क्रेमा अर्थात फिजआउने खालको कफी प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनी राम्रो कफी आर्टको लागि अग्र्यानिक कफि प्रयोग गर्न सल्लाह दिन्छिन् ।

आर्ट सिक्न कति पैसा लाग्छ ?

कफि आर्ट सिक्नको लागि १५ दिनको समय नै पर्याप्त हुन्छ । यो १५ दिनको कोर्ष गर्न १५ हजार शुल्क लिने गरेको क्याफिन कफि आर्ट स्कूलले । अजय श्रेष्ठले सन् २०१३ बाट क्याफिन सञ्चालनमा ल्याएका हुन् ।

सुरुमा ३ जना मिलेर दरवारमार्गमा क्याफे खोलिएकोमा ५ वर्षको अवधिमा श्रेष्ठले अहिलेसम्म ५ स्थानमा क्याफे खोलेका छन् । सुरुमा क्याफे संचालन भएपनि आर्ट सिक्नेको संख्या बढाउन क्याफिनले केही महिना अगाडिदेखि मात्रै स्कूल संचालनमा ल्याएको हो ।

स्वरोजगारका लागि आर्ट
सकिन्छ । तर, यसको लागि लगानीको आवश्यकता हुन्छ । एउटा क्याफे सुरु गर्नको लागि ५० लाख रुपैयाँ जति लगानी चाहिने शाक्य बताउँछिन् । आर्ट सिकेकाहरुले क्याफे संचालनमा ल्याउँदा ब्यापारमा बृद्धि हुने र ग्राहक बढी पाइने गरेको कफि शप चलाउनेहरुको अनुभब छ ।

अहिले नेपालमा पनि कफि आर्टको माग बढ्दै गएको छ । र, कफि आर्टमा नयाँ पुस्ताको आकर्षण बढी छ । जसरी नेपालमा कफि आर्ट सिक्नेको संख्या बढ्दै गैरहेको छ, त्यसरी नै नेपालमा क्याफेहरु खुल्ने क्रम पनि बढेको छ ।

रोजगारीका लागि आर्ट
आर्ट सिक्नेहरुले जुनसुकै क्याफेमा गएर ८ हजार देखि १५ हजार रुपैयाँसम्मको जागिर सजिलै पाउने शाक्य बताउछिन् । उनको भनाइमा कफि आर्ट नेपालमाभन्दा बाहिरी देशहरुमा धेरै प्रख्यात छ । यसकारण बैदेशिक रोजगारीको लागि पनि आर्ट सिक्न आउनेको संख्या बढी भएको शाक्यको भनाइ छ ।

यसरी डेकोर गरिएको अर्थात आर्टसहितको कफि एक कपको १ सय २० रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म पर्ने शाक्यको भनाइ छ ।

यस्तै अस्ट्रेलिया जानको लागि ठिक्क परेका जावलाखेल निवासी संस्कार श्रेष्ठ बिदेश जादा कफि आर्टको काम सजिलै पाइने भएकोले आर्ट सिक्न आएको बताउछन् ।

कालोपुलका तेन्जिंग तामाङ कफि आर्ट सिकेपछि आफ्नै क्याफे खोल्ने सोचमा रहेका छन् । कपनकी शिवानी कर्मचार्य रहरले कफि आर्ट सिक्न आएको बताउँछिन् ।

सिंगापूर बसेर फर्केकी मेरिका गर्बुजा हाल अस्ट्रेलिया जानको लागि कफि आर्ट सिक्दै छिन् । यस्तै फुरसाङ डोल्मा तामाङ बेलायत जानको लागि आर्ट सिक्दै छिन् ।

कति प्रकारको बन्छ कफि ?
कफिका विभिन्न प्रकार हुने गर्छन् । हट ड्रिंक कफि १५ प्रकारको हुने गर्छ । जसमा क्याप्पुच्चिनो, मोक्का, अफगाटो, हट लेयर मोक्का, लात्ते लगायत हुन् ।

यस्तै कोल्ड ड्रिंकमा १० देखि १५ प्रकारका कफि आर्ट हुने गर्छ । त्यसमा आइस टि, लेमोनेद, आइस लात्ते, आइस मोक्का, ब्लेन्देद मोक्का, आइस क्याप्पुचिनो जस्ता धेरै प्रकारका कोल्ड ड्रिंक कफि आर्टहरु बनाउन सकिन्छ ।

कफि आर्ट गर्दा हर्ट, रोसेटा, वेभिङ हर्ट, हर्ट स्विल, टुलिप, स्वान, कतबच, थ्रिडी, प्रिन्टिङ, बेट र डबल लिप जस्ता धेरै प्रकारका आर्टहरु प्रयोग गरिन्छ ।

कसरी बनाउने आर्ट ?
१. आर्ट बनाउनको लागि दुधको बढी महत्व हुने गर्छ । दुध राम्रो क्वालीटीको भएन भने आर्ट सफल हुने सम्भावना नै रहदैन । त्यसैले आर्ट बनाउँदा भरसक गाईको शुद्ध दुधको प्रयोग गर्नु राम्रो हुन्छ । जसले गर्दा आर्ट बनाउँदा फोमका प्रयोग राम्रोसँग हुन सक्छ ।

२. दुध पछि अर्को महत्वपूर्ण कुरा कफि हो । कफि पनि हामीले सधै प्रयोग गर्ने खालको साटो अर्गानिक भए राम्रो हुन्छ । त्यसलाई राम्रोसँग पिसेर प्रयोग गर्नु पर्ने हुन्छ ।

३. आर्ट बनाउँदा कफिको धुलो घोलेर बनाउनु मुख्र्याइ हुन्छ । आर्टको लागि पिसेको धुलो कफिलाई मेसिनमा पोटा फिल्टरको मद्दतले यसको रस निकाल्ने गरिन्छ । एक कप कफि बनाउँदा एक औंस ३० एमएल कफिको रस निकाल्नु पर्ने हुन्छ ।

४. आर्ट बनाउन प्रयोग हुने दुध ताप्के वा डेक्चीमा तताएर प्रयोग गर्न नसकिने हुँदा यसलाई कफी मेकर मेसिनको नै प्रयोग गर्नु पर्ने हुन्छ । मेसिनमा दुध तताउनको लागि छुट्टै स्टिमर हुने गर्छ । जगमा दुध हालेर स्टिमरले त्यसको फोम अर्थात फिज देखापर्ने गरी तताउनु पर्ने हुन्छ । तताएको दुधलाई एकै छिन हल्लायर दुधमा फोम (फिज) आउन दिनु पर्ने हुन्छ । दुध र फोमको मात्रा बराबर हुनु पर्ने हुन्छ ।

५. यसरी कफिको रस र तातो दुध तयार भएपछि कफिको रसलाई कफि कपमा हाल्नुहोस् । तेक्स्चर अर्थात फोम भएको दुधलाई हल्का हल्लाएर कफिसँग घोलिने गरि बिस्तारै कपमा हाल्नुहोस् । यसरी हाल्दा त्यसको फोमले आफुले चाहे जस्तो आकार श्रृजना गर्न सक्छ ।

यसरी तपाइ सजिलै कफि आर्ट बनाउन सक्नुहुनेछ । यो कफिको चुस्कीले तपाइ ३ वटा फ्लेबरको महसुस लिन सक्नु हुने छ । सुरुमा कफीको कप ओठसम्म पुराउँदा कफीको बास्ना, दोस्रो कफिको चुस्की जिब्रोमा पुग्दा त्यसको स्वाद र तेस्रो त्यसको चुस्की लिइसकेपछि आन्नदमय महसुस गर्नुहुने छ ।


क्लिकमान्डु