जसको सोचले ५० बर्ष अगाडी नेपालमा कारको ब्यवसायीक बिक्री सुरु भयो



स्व. डा. विजयगजानन्द वैद्य

काठमाडौं । नेपालमा टोयोटा गाडी बिक्री सुरु भएको ५० वर्ष पुरा भएको छ । नेपालको लागि टोयोटाको आधिकारिक बितरक युइनाटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ५० बर्ष अगाडि टोयोटा गाडी नेपाल भित्र्याएको थियो ।

ब्यक्तिगत प्रयासबाट राणा प्रधानमन्त्री वीरशमशेरले वि स. १९५८ सालमा सवारी भित्र्याएका थिए । यस हिसाबले नेपालमा सवारी साधन भित्रिएको १ सय १६ वर्ष पूरा भएपनि व्यवसायीक हिसाबले टोयोटा नै नेपाल आएको पहिलो गाडी हो ।

नेपालमा सवारी साधन आयात गर्ने कम्पनी खोलेर बिक्री सुरु गर्ने श्रेय बैद्ययज् अर्गनाइजेशका चेयरम्यान स्व. डा. विजयगजानन्द वैद्यलाई जान्छ । वैद्यले बैद्ययज् अर्गनाइजेशन अन्र्तगत युइनाटेड ट्रेडर्स सिन्डिकेट कम्पनी खोलेर नेपालमा पहिलोपटक जापानी अटो कम्पनी टोयोटाका गाडी भित्र्याएपछि आधिकारिक रुपमा बिक्री सुरु भएको थियो ।

नेपालमा वि.स. १९७८ वाट नै सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको हो, भने २००३ सालबाट सवारी दर्ता सुरु गरीएको तथ्याङक पाइन्छ ।

त्यसैगरी २००७ सालबाट ट्राफिक नियन्त्रण सुरु गरिएको थियो । नेपाल सरकारले २०२० सालमा सवारी ऐन जारी गरी नेपालमा सवारी साधनलाई व्यवस्थापन गर्न सुरु गरेको थियो ।

टोयोटाबाट सुरु भएको नेपालको सवारी बिक्रीले वि.स. २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि सुरु भएको खुल्ला बजार अर्थतन्त्रको अवधारणाले भने व्यापकता पायो ।

जसकारण हाल आएर सवारी आयातकर्ता र स्पेयर्स पार्टस बिक्रीकर्ताहरु ४ सय ५० भन्दा बढी पुगेका छन् । त्यसमा सवारी आयातकर्ता मात्रै झन्डै ५ दर्जनको हाराहारीमा छन् । उक्त आयातकर्ताहरुले नेपाली बजारमा दर्जनौ ब्रान्डका सयौ मोडलका गाडीहरुको बिक्री गर्दै आएका छन् ।

अहिले गाडी आयातकर्ताले नयाँ–नयाँ मोडलका गाडी भित्र्याउनुको साथै नयाँ अटोमोबाइल हवका रुपमा उपत्यका बाहिर बिभिन्न ठाउँलाई अटोमोवाइल हब बनाउन लागिपरेका छन् । उक्त सबै अटोमोबाइल हबहरुबाट आफूले बिक्री गर्ने सवारी साधनको बिक्रीपश्चात्को सर्भिस पनि दिन थालेका छन् ।

नेपालमा अटोक्षेत्रमा लगानीकर्ताहरु पनि दिनदिनै बढ्दै गएका छन् । नेपालमा हाल खरबौं रुपैयाँ यो क्षेत्रमा लगानी भइसकेको छ । वार्षिक झन्डै १ लाख २० हजारको हाराहारीमा सवारी साधन भित्रिने गरेका छन् ।

यातायात व्यवस्था विभागको तथ्यांकलाई हेर्ने हो भने झन्डै २७ लाख सवारी देशभरमा दर्ता भइसकेका छन् । सवारीको लागि आवस्यक स्पेयर्स पार्टसहरु वार्षिक ५ अर्ब रुपैयाँबराबरको आयात हुने गरेको तथ्याङक पाइन्छ ।

सरकारले हरेक वर्षको आर्थिक वर्षमा भन्सारदर, अन्तःशुल्क लगायतका करमा वृद्धि गर्दै गाडीमा २ सय ४० प्रतिशत र मोटरसाइकलमा ८० प्रतिशतसम्म कर लगाउने गरेको छ ।

सरकारले काठमाडौं उपत्यकलाई मात्र ध्यान दिएर सवारी आयतलाई रोक्न खोज्नुभन्दा पनि नेपालको सम्पूर्ण अटोमोबाइल क्षेत्रले हरेक वर्ष भन्डै ९० अर्ब रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको छ । उक्त क्षेत्रले नेपालको सम्पूर्ण राजस्वको २८ प्रतिशत हिस्सा ओगटेको छ ।

सरकारले हरेक वर्ष लिने राजस्वको केही प्रतिशत मात्र पनि सडक विस्तारमा खर्चिएको भए हालको जस्तो दुर्गती देख्नुपर्ने थिएन । जसका कारण हरेक दिनजसो सडक दुर्घटनाले अकालमा मानिसले ज्यान गुमाउनु पर्ने थिएन ।

नेपालमा गाडीको एसेम्बल मात्र उत्पादन गर्न सकिएमा सयौंले रोजगारी पाउनुको साथै अर्थतन्त्रमा पनि ठूलो सहयोग पुग्नेमा दुईमत छैन । नेपालको छिमेकी देश भारत र चीनले पनि पहिले जर्मनी, जापानिज, इटलीयन गाडीहरुका एसेम्बल निर्माणबाट सुरु गर्दै आज विश्व अटो बजारमा नयाँ-नयाँ मोडेलका गाडी उत्पादन गर्ने मुख्य राष्ट्रका रुपमा विकसित हुँदै गएका छन् ।

नेपालमा १० लाख रुपैयाँकोे कारदेखि ३ करोड ५० लाख रुपैयाँ मूल्यसम्मका गाडीहरु बिक्री हुने गरेका छन् । नेपालमा, दुईपांगे्र सवारीदेखि कार, जिप, भ्यान, हेवी सवारी, हेविइक्युपमेन्ट जस्ता सवारीको बिक्री हुँदै आएको छ ।

नेपाल आज विश्वका जुनसुकै सहरमा उत्पादन भएका गाडीहरु पनि बिक्रीका लागि ल्याइने गरेका छन् । पछिल्लो समय नेपालमा भारतीय, जर्मनी, इटलियन, कोरियन, मलेसियन, अमेरिकन गाडी कम्पनीहरुले उत्पादन गरेका अत्याधुनिक सुविधाका नयाँ-नयाँ मोडलहरु बिक्री हुँदै आएका छन् ।


क्लिकमान्डु