लोडसेडिङ हुँदैन, गत बर्षको झै सहयोग गरिदिनुस्ः कुलमान घिसिङ




काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको दाबी गरेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषितरुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भएपछि प्राधिकरणले यस्तो स्पष्टीकरण दिएको हो ।

प्राविधिक समस्याका कारण कही कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको प्राधिकरणको भनाइ छ । यसका साथै आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकको मागलाई समेत मध्यनजर गरी फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

‘हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर विद्युत माग बढ्ने हुँदा हामीसँग उपलब्ध सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा हुँदै पनि उचित व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध छ, उक्त चुनौतीको सामना गरी आम ग्राहकलाई उज्यालो दिन गत वर्षझै यस वर्षको हिउँदमा लोडसेडिङ न्यूनीकरण गर्न प्राधिकरणले विद्युत माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेका छौं,’ प्राधिकरणले भनेको छ ।

यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ । नपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिब तीन घण्टा विद्युत कटौती गर्नु परेको प्राधिकरणको भनाइ छ ।

यस वर्षको हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत गृहको कुशलतापूर्वक उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको छ । हिउँदयामको विद्युत आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा बिगतमा झैं विद्यमान नेपाल–भारत प्रसारण लाइन संरचनाहरुबाट सहजरुपमा विद्युत आपूर्ति भई नै रहेको र यसको निरन्तरताको लागि भारत सरकार र सम्बन्धित नियकायहरुबाट प्राधिकरणले सहयोग पाइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा गत वर्षझैं यस वर्ष पनि आ–आफ्नोतर्फबाट सहयोग गरी दिन प्राधिकरणले सबैलाई अनुरोध पनि गरेको छ ।


क्लिकमान्डु