विद्युत् चोरी नियन्त्रणमा आक्रामक बन्दै प्राधिकरण, एकै दिन समातिए २० जना



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण अभियणनलाई पुनः आक्रामक रुपमा अगाडि बढाउने भएको छ ।

स्थानीय तहको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण केही समय आझेलमा परेको उक्त अभियान पुनः सञ्चालन गर्न प्राधिकरणले मातहतका क्षेत्रीय कार्यालय र जिल्ला स्थित वितरण केन्द्र र कार्यालयलाई कडा निर्देशन दिएको छ ।

गृह मन्त्रालय र जिल्लास्थित सुरक्षा निकायको समन्वयमा अगाडि बढाइने त्यस्तो अभियानले विद्युत् वितरणमा समेत थप सहजता उत्पन्न गर्ने विश्वास लिइएको छ ।

पछिल्लो पटक झापामा एकैपटक ७२ जना विद्युत् चोरीमा संलग्नलाई नियन्त्रणमा लिएर कारवाही गरेको प्राधिकरणले कपिलवस्तुको तौलिहवामा समेत एकै पटक ७१ जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष गरी तराई र मधेशका विभिन्न जिल्लामा विद्युत् चोरी र चुहावटको मात्रा अत्याधिक रहेको छ । साँझपरेपछि हुकिङका माध्यमबाट हुने चोरीको मात्रा बढी रहेको प्राधिकरणको आन्तरिक अध्ययनले देखाएको छ । तौलिहवामा १० लाख बढीको विद्युतीय उपकरण नियन्त्रणमा लिइएको छ । यस्तै ८ लाख ७५ हजार जरिवाना गराइएको छ ।

तौलिहवा वितरण केन्द्रका प्रमुख अमोदकुमार यादवले चोरी नियन्त्रण अभियानलाई योजनावद्ध रुपमा अगाडि बढाइएका कारण चोरीको मात्रा घट्दै गएको छ । सो क्षेत्रमा ४२ प्रतिशत विद्युत् चुहावट हुने गरेकोमा हाल २९ प्रतिशतमा झरेको छ ।

चोरी नियन्त्रणमा खट्ने कर्मचारीलाई विशेष भक्ताको व्यवस्था गरिएपछि अभियान प्रभावकारी भएको सम्बन्धित कर्मचारीको भनाइ छ ।

प्राधिकरणले निर्वाचन लगत्तै तौलिहवामा विद्युत चोरीमा संलग्न २० जनालाई एकै दिन नियन्त्रणमा लिएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा मात्रै विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गर्दा करिब २ अर्ब बराबरको फाइदा प्राधिकरणलाई भएको थियो ।

यस्तै चोरी तथा चुहावट नियन्त्रण अभियानका कारण कुल चुहावट समेत ३ प्रतिशतले घटेको थियो । प्राधिकरणले चालु आवमा पुनः ३ प्रतिशत चुहावट नियन्त्रण गर्ने लक्ष्य राखेको छ । हाल प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २२.७५ प्रतिशत चुहावट छ । त्यसमा प्राविधिक चुहावट १५ प्रतिशत रहेको छ भने बाँकी विद्युत् चोरी तथा हुकिङ मार्फत हुने चुहावट रहेको छ ।

त्यस्तै टिओडी मिटरमार्फत हुने चुहावट तथा औद्योगिक तथा व्यावसायिक संस्थाले मिटरमा मिलाएर गर्ने चुहावटलाई पनि निर्मूल गर्न अभियान सञ्चालन गर्ने तयारीमा प्राधिकरण रहेको ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।

एक प्रतिशत मात्रै चुहावट कम गर्दा समेत प्राधिकरणलाई करिब १ अर्ब बराबरको फाइदा हुने बताइदै आएको छ । प्राविधिक चुहावट नियन्त्रणका लागि प्रसारण लाइन मर्मत, नयाँ तार राख्ने तथा ट्रान्सफर्मर कन्डक्टरहरुको परिवर्तन गर्नुपर्ने देखिएको छ । त्यतातिर भने प्राधिरकणले हालसम्म ध्यान दिएको छैन ।

काठमाडौं उपत्यकामा अत्याधिक चुहावट हुने भक्तपुरको समेत चुहावट हाल २० प्रतिशतको हाराहारीमा रहेको छ । त्यसलाई कम्तीमा १५ प्रतिशतमा झार्न लक्ष्य निर्धारण गरिएको छ । चितवनको चोरी नियन्त्रण भइसकेको छ । तराईका केही जिल्लामा अझै बढ्ता चुहावट भइरहेकाले त्यसलाई नियन्त्रणका लागि प्रयास भइरहेको र सुरक्षा निकायको समेत समन्वयमा काम भइरहेको प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु