निजी क्षेत्रले पछिल्लो ५ महिनामा पुरा गर्यो यी ७ आयोजना (विवरणसहित)



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना अनेकन समस्या फसीरहेका बेला निजी क्षेत्रले निर्माण गरिरहेका सात आयोजनाले विद्युत् उत्पादन सुरु गरिसकेका छन् ।

प्राधिकरणका आयोजना समस्यामा फसेपनि निजी क्षेत्रले एकपछि अर्को गर्दै आयोजना निर्माण सम्पन्न गर्न थालेपछि विद्युत् उत्पादनमा प्राधिकरण पछाडि परेको छ ।

नेपालको केन्द्रिय विद्युत् प्रसारण लाइनमा प्राधिकरणको हिस्सा घटेर ४५ प्रतिशतमा झरेको छ भने निजी क्षेत्रको हिस्स बढेर ५५ प्रतिशतमा पुगेको छ ।

प्राधिकरणले हाल ३८० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ भने निजी क्षेत्रले करिब ४१० मेगावाट विजद्युत् उत्पादन गरिरहेको छ । भारतबाट ३७५ मेगावाट विद्युत् आयात भइरहेको छ । औद्योगिक कोरिडोरमा ३०० मेगावाट विद्युत् अपुग भएका कारण दैनिक ३ घण्टा लोडसेडिङ भइरहेको छ ।

केही समय भित्रै १३ मेगावाटको सिक्लेस, ३ मेगावाटको मिदिम, सात मेगावाटको मोलुङ र ३.२ मेगावाटको गेलुङ आयोजना विद्युत् उत्पादन सुरु गर्ने तयारीमा रहेका छन् ।

प्राधिकरणका अनुसार गत साउनदेखि हालसम्म निजी क्षेत्रको करिब ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गत साउनयता हालसम्म साना तथा मझौला गरी कूल ७ जलविद्युत् आयोजना सम्पन्न भएका हुन् ।

साना तथा मझौला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेका छन् । सरकारी स्वामित्वको प्राधिकरणका आयोजनामा समय र लागत बढ्दै गइरहेका बेला निजी क्षेत्रको सार्थक प्रयासले केन्द्रिय प्रसारण लाइनमा विद्युत् प्रवाहका लागि निजी क्षेत्रले थप सहजता थपिदिएको हो ।

प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएका आयोजनामा १३.६ मेगावाट क्षमताको थापाखोला, ५.१ मेगावाटको माथिल्लो माई ‘सि’, ४ मेगावाटको सवाखोला, ४ मेगावाटको पुवाखोला, ४ मेगावाटको सार्दी खोला, ४.९ मेगावाटको फावाखोला र ३ मेगावाटको गर्जाङ खोला आयोजनाले व्यापारिक उत्पादन शुरु गरिसकेको र प्रणालीमा जोडिइसकेको छ ।

यस्तै केही समय भित्रै १३ मेगावाटको सिक्लेस, ३ मेगावाटको मिदिम, सात मेगावाटको मोलुङ र ३.२ मेगावाटको गेलुङ आयोजना विद्युत् उत्पादन सुरु गर्ने तयारीमा रहेका छन् । यी आयोजनाबाट उत्पादन शुरु भएपछि प्रणालीमा थप ६६ मेगावाट विद्युत् उपलब्ध हुनेछ ।

आगामी चैतसम्ममा निजी क्षेत्रले थप १५१ मेगावाट विद्युत् उत्पादन गर्नेछ । चैतभित्रमा २५ मेगावाटको काबेली बि एक, २२ मेगावाटको माथिल्लो चाकु, २० मेगावाटको तल्लो मोदीसहित ९४ मेगावाटलगायतका ९ आयोजनाले उत्पादन शुरु गर्ने जानकारी प्राधिकरणलाई गराएका छन् ।

आगामी साउनसम्ममा निजी क्षेत्रको थप ५० मेगावाट विद्युत् प्रणालीमा जोडिने प्राधिकरणको दाबी छ । चालू आवमा निजी क्षेत्रको हिस्सा २०० मेगावाटको हाराहारीमा पुग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंको भनाइ छ ।

‘निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । हामी आगामी दुई वर्षभित्र थप ५०० मेगावाट विद्युत् उत्पादन गरिसक्छौँ, ३ वर्षभित्र त्यो हिस्सा बढेर करिब १ हजार मेगावाटको हाराहारीमा पुग्नेछ ।’

निजी क्षेत्रले तीव्ररूपमा विद्युत् उत्पादन गरिरहेका बेला प्राधिकरणको चमेलिया आयोजना व्यापारिक उत्पादन शुरु गर्ने तयारीमा छ । हाल परीक्षण उत्पादन भइरहेको दार्चुलामा आयोजनास्थल रहेको चमेलिया ३० मेगावाट क्षमताको छ । सो आयोजनाले व्यापारिक उत्पादन शुरु गरेपछि प्रदेश नं ७, ६ र ५ मा विद्युत् प्रवाहमा सहजता आउने प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु