तीव्रगतिमा उड्ने जहाजले सन् २०२३ मा पहिलो उडान भर्ने



काठमाडौं । विश्वभरका जहाज निर्माता कम्पनीहरुले तिव्रगतिमा उड्न सक्ने जहाज निर्माणको तयारीलाई तिव्र पारिरहेका छन् । पछिल्लो समय लकहिड मार्टिन कम्पनीले आवाजको गतिभन्दा तीव्र गतिको उडान भर्ने जहाज निर्माण गर्ने घोषणाले विश्वभर नयाँ तरंग सिर्जना गरेको छ ।

उडानको समय जतिसक्दो छोटो बनाउन जहाज निर्माता कम्पनीहरुको प्रतिस्प्रर्धामा लकहिड अगाडि आउनुले नयाँ छिट्टै तीव्रगतिमा उड्ने जहाज निर्माण हुनेमा विश्वका बैज्ञानिकहरु आशाबादी देखिएका छन् ।

एफ-१६ जस्तो सुपरसोनिक लडाकु विमान निर्माण गर्दै आएको कम्पनी लकहिड मार्टिनले आवाजको गतिभन्दा तीव्र गतिमा उडान भर्ने नागरिक प्रयोजनको विमान निर्माण गर्ने भएको हो ।

विमानको पहिलो उडानको योजना २०२३ का लागि तय भएको छ । बिजनेस जेट सञ्चालक फ्लेक्सजेटले २०१५ मै २० वटा एएस–२ को अर्डर गरेको थियो ।

सनफ्रान्सिस्कोबाट टोकियो यात्राका लागि साढे ५ घण्टाको समय मात्रै लाग्छ । अहिलेको जहाजबाट यात्रागर्दा १४ देखि १६ घण्टा लाग्ने गरेको छ ।

कसरी आवाजभन्दा तीव्र गतिमा उडान भर्ने, व्यापारिक प्रयोजनको विमानको ढाँचा तयार पार्ने र उत्पादन गर्ने भन्ने विषयको अनुसन्धानका लागि कम्पनीले सुपरसोनिक एरिअनसँग सम्झदारीमा पुगेको कम्पनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्झौताले एरिअनलाई अर्को हेभीवेट साझेदारी बनाएको छ । यसले पहिले पनि विमान निर्माता कम्पनी एयरबससँग बिजनेस जेटको ढाँचाका लागि काम गरेको थियो । लकहिड मार्टिनले आवाज कम आउने सुपरसोनिक जेटको विकासका लागि नासासँग मिलेर पनि काम गरिरहेको थियो ।

‘सुपरसोनिकको मामिलामा लकहिड मार्टिनको क्षमता चिरपरिचत रहँदै आएको छ । यो वास्तवमै चिरपरिचित छ,’ एरिअनका अर्बपति र अध्यक्ष रोबर्ट बासले बताए । ‘सक्षम नागरिक प्रयोजनको सुपरसोनिक एयरक्राफ्टको दीर्घकालीन विकासका लागि हामीले लकहिड मार्टिनसँग प्रतिबद्धता जाहेर गरेका छौं,’ उनको भनाइ थियो ।

एरिअन एएस–२ १२ यात्रु बोक्न सक्ने विमान हो । यसको अधिकतम गति म्याक १.४ छ । यो जेटले न्युयोर्कबाट लन्डनमा ४ घन्टाको हाराहारीमा यात्रु ओसार्न सक्छ । यो हालको अन्य यात्रु विमानले लिने समयको तुलनामा ३ घण्टा कम हो ।

व्यापारिक प्रयोजनको सुपरसोनिक उडानको २००३ मा अन्त्य भएको थियो । दुर्घटना भएको र मागमा पनि गिरावट आएकाले उक्त समयमा कंकर्ड विमानले विश्राम लिए पनि व्यापारिक प्रयोजनको सुपरसोनिक उडानको अन्त्य भएको हो ।

सुपरसोनिक यात्रु भ्रमण पुनः ल्याउन प्रयास गर्नेमा एरिअन एक्लो होइन । यो महिनाको सुरुमा जापान एयरलायन्सले डेनभरमा रहेको बुम सुपरसोनिकका लागि १ करोड डलरको प्रतिबद्धता व्यक्त गरेको थियो र २० वटा स्टार्ट अप विमानको खरिद गर्ने विकल्प पनि आफूसँग भएको बताएको थियो । भर्जिन ग्रुपका संस्थापक रिचार्ड ब्रान्सनले पनि गत वर्ष आफ्नो कम्पनीले पनि बुमको सुरुका १० विमान किन्ने विकल्प रहेको जनाएका थिए ।

बुमका संस्थापक ब्लेक स्कोलले म्याक २.२ वा प्रतिघण्टा १ हजार ४ सय ५० माइलभन्दा बढीको दूरी यात्रा गर्न सक्ने एयरक्राफ्टको विकास गरिरहेको बताएका छन् । यो गतिमा उडान भर्दा सनफ्रान्सिस्कोबाट टोकियो यात्राका लागि साढे ५ घण्टाको समय मात्रै लाग्छ । अहिलेको जहाजबाट यात्रागर्दा १४ देखि १६ घण्टा लाग्ने गरेको छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु