अमेरिकी राजदूत, सम्पादक र कलाकारहरुले पढाए सरकारी विद्यालयका विद्यार्थीलाई




काठमाडौं । अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज, राष्ट्रिय दैनिक तथा साप्ताहिकका प्रमुख सम्पादकहरु सुवास घिमिरे, गुणराज लुइटेल, चारु चड्डा, गायक अमृत गुरुङ लगायत करिब ७० जना विज्ञ र कुटनीतिज्ञले सरकारी विद्यालयहरुमा पढाउने भएका छन् ।

यो हप्ता ललितपुर, सिन्धुपाल्चोक र धनुषाका ग्रामीण सरकारी विद्यालयमा पुगेर टिच फर नेपालले आयोजना गरेको ‘कक्षाकोठामा एक दिन’ कार्यक्रममा उनीहरुले विद्यार्थीहरुलाई पढाउँदै छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, संचारकर्मीहरु, प्रमुख कार्यकारी अधिकृत, युवा उद्यमी, सामाजसेवी, अभियन्ता र कलाकारहरुका साथै टिच फर नेपालको बोर्ड सदस्य र अलमनाइ (पूर्व–प्रज्ञार्थीहरु) पनि सहभागी छन् । टिच फर नेपालका फेलोहरुले पढाउँदै आएको विद्यालयमा ‘कक्षाकोठामा एक दिन’ कार्यक्रम चलाइएको हो ।

यसरी अध्यापन गराउने धेरैजसो विद्यार्थीहरुमा आफ्नो गाउँ र वरिपरिको परिवेश बाहेक धेरै ज्ञान हुँदैन, जसले गर्दा उनीहरुको जीवनको आंकाक्षा पनि सानो परिवेशमा सिमित देखिन्छ । धेरै जसो खाडी मुलुकमा काम गर्न जाने, खलासी, ड्राइभर बन्ने सपना देख्छन् ।

‘नेपालको विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिकामा रहेका ब्यक्तिहरुलाई आफ्नै आगाडि पाउँदा, विद्यार्थीहरुको लागि निकै उत्प्रेरक हुन्छ । जस्तोसुकै परिस्थितिमा जन्मेका भएपनि ग्रामीण भेगका सरकारी विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरु पनि जिवनका थुप्रै सम्भावनाहरु प्रति जागरुक रहनु पर्छ भन्ने हाम्रो विश्वास हो । उत्प्रेरक व्यत्तित्वहरुबाट सिक्न पाउँदा उनीहरुको क्षितिज फराकिलो हुनुका साथै असम्भव मानिएका सपना पनि पूरा गर्ने सक्ने आत्मविश्वास बढ्छ,’ कार्यक्रमका संयोजक र टिच फर नेपाल फेलो (२०१४) नवाङ शेर्पाले भने ।

बुधबार दक्षिण ललितपुरको टिकाभैरबमा अवस्थित श्री बुद्ध माद्यामिक विद्यालय पुगेकी अमेरिकी राजदूत अलाइना टेपलेट्जले टिच फर नेपालको वार्षिक कार्यक्रम ‘कक्षाकोठामा एक दिन’ मा आफू एक दिनको लागि भएपनि शिक्षक बन्न पाएको र प्रतिभाशाली विद्यार्थीहरु माझ अन्र्तक्रिया गर्न पाउँदा खुसी भएको बताइन् ।

त्यस्तैगरी सिन्धुपाल्चोकको श्री रामदेवी माद्यामिक विद्यालय र श्री जनजागृति माद्यामिक विद्यालय पुगेका नेपथ्यका प्रमुख गायक अमृत गुरुङले भने, ‘शिक्षण पेशालाई म सधैँ आदर गर्छु । यो एउटा कठीन पेशा हो ।’

ललितपुरको सिम्ले स्थित श्री चण्डेश्वरी माद्यामिक विद्यालय पुगेका लोकप्रिय किताब ‘लू’ का लेखक नयनराज पाण्डेले विद्यार्थीहरुलाई दैनिकी लेख्न सिकाए । भविष्यमा राम्रो लेखक बन्नका निमित्त दैनिकी लेख्ने बानी बसाल्न जोड दिए । कक्षा सकिएपछि आफूहरुले उत्प्रेरणा पाएको अनुभव विद्यार्थीहरुले सुनाए ।

सामसुङ्ग इलेक्ट्रोनिक्स्की निर्देशक तथा जोन्टा क्लबकी उपाध्यक्ष सीमा गोल्छा, लेखक नयन राज पाण्डे, सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिश पोखरेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, अमेरिकी राजदूत टेपलेट्ज र अन्य व्यक्तिहरुले बुधबार ‘कक्षाकोठामा एकदिन’ कार्यक्रममा सहभागी भई विद्यार्थीहरुलाई अध्यापन गराएका थिए ।

‘मैले आफुले आफूलाई कसरी प्रस्तूत गर्छु भन्ने कुरा मेरो व्यक्तित्वको महत्वपूर्ण भाग हो र यसले मैले जीवनका कदमहरुमा ध्यान पु¥याउनु पर्ने रहेछ भनेर सिकें,’ माल्विका सुब्बाको कक्षा पश्चात् श्री महाकाली माद्यामिक विद्यालय, सिन्धुपाल्चोकमा अध्यनरत छात्रा सबिनाले भनिन् ।

माइ रिपब्लिका दैनिकका प्रधान सम्पादक सुवास घिमिरेले पढाएका कक्षाबाट असल पत्रकारिताको महत्व र रिपोर्टिङ्मा इमान्दारिताको आवश्यकता बुझ्ने मौका पाएको सिन्धुपाल्चोक स्थित कालिका चेतना माद्यामिक विद्यालयको कक्षा ८ मा अध्यनरत छात्र अनिश तामाङ्गले व्यक्त गरे ।


क्लिकमान्डु