२४ करोड रुपैयाँ लगानीमा बृहत् खानेपानी आयोजना शुरु



पर्वत । वर्षौंदेखि खानेपानीको अभावमा काकाकुलको नियति भोग्दै आएको यहाँको एक विकट गाउँमा बृहत् खानेपानी योजना शुरु भएको छ ।

पर्वत जिल्लाको फलेवास नगरपालिका–३ साविकको शंकरपोखरी गाविसमा आयोजना शुरु भएको हो । शंकरपोखरीका ७०० भन्दा बढी घरधुरीमा एक घर एक धारा विस्तारसहितको योजना शुरु भएको हो ।

यही महिनादेखि खानेपानीको आयोजना सञ्चालन भएको हो । छिमेकी जिल्ला स्याङ्जा र पर्वतको सिमानामा डहरे देउराली खानेपानी आयोजनामार्फत ल्याइएको खानेपानी संरचना जीर्ण भई पानी अपुग भएपछि शंकरपोखरीवासीले पानीको समस्या झेल्दै आएका छन् ।

यहाँका बासिन्दाले झण्डै दुई घण्टाको पैदलयात्रामा रहेका कुवा, खोल्साखाल्सीका धारा पँधेराबाट पिउने पानी बोक्नुपर्ने बाध्यता रहेको छ । नेपाल सरकार खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ करोड रुपैयाँको लागतमा बृहत् खानेपानी आयोजना सञ्चालन हुने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतले जनाएको छ ।

कार्यालयका अनुसार उक्त गाविसका ७०० भन्दा बढी घरधुरीलाई र केही सार्वजनिक धारासमेत निर्माण गर्ने गरी योजना शुरु भएको छ । गत जेठमा स्थलगत सर्वेक्षण गरी टेण्डरको प्रक्रिया शुरु गरिएको डिभिजन प्रमुख प्रेम डोटेलले बताए ।

‘अब नियमितरुपमा काम शुरु हुन्छ,’ उनले भने ।

डोटेलले आयोजनाको लागत स्टिमेट तयार भइसकेको र टेण्डरको काम पूरा भएलगत्तै निर्माण प्रक्रिया अगाडि बढेको बताए । सो आयोजनाको समयावधि दुई वर्ष मात्र रहेको पनि कार्यालयले जनाएको छ ।

डोटेलका अनुसार पाँचवटा मूलको पानी लिफ्ट पद्धतिमार्फत तानेर एक हजारदेखि पाँच हजार लिटरसम्मका ट्यांकी निर्माण गरिनेछ । आयोजनाले पाँच वटा ट्यांकी निर्माण गरेर मिटर पद्धतिमार्फत स्थानीयलाई पानी वितरण गर्ने जनाएको हो ।

एक घर एक धाराको अवधारणाअनुरुप खानेपानीको आयोजना लागू गरिएको कार्यालयले जनाएको छ । शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले वडाका उच्च बस्तीलाई लक्षित गरेर आयोजना निर्माणको चरणमा रहेको बताए ।

आयोजना सम्पन्न भएपछि उक्त वडाका एक हजार १०० घरधुरीमध्ये ७०० भन्दा बढी लाभान्वित हुने कार्कीले बताए । आउँदो २०७५ साल असार मसान्तमा सबै घरमा धारा जडान हुने समेत कार्कीले जानकारी दिए ।

पर्वतमा यसअघि यस्ता खालका योजना तीन स्थानमा सम्पन्न भइसकेका छन् । जिल्लाको साविक होश्राङ्दी, उरामपोखरा र ठूलीपोखरीमा लिफ्ट खानेपानी योजना सम्पन्न भइसकेका छन् भने फलेवास, माझफाँट, फलामखानीलगायतका गाविसमा एक घर एक धाराको अवधारणासहित योजना सञ्चालन भइरहेको जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ ।

पर्वतमा ९२ प्रतिशत बासिन्दामा खानेपानीको पहुँच पुगेको भनिए पनि हिउँदको समयमा भने अधिकांश ठाउँका बासिन्दाले खानेपानीको समस्या झेल्दै आएका छन् ।


क्लिकमान्डु