विदेशबाट पठाएको १ लाख रुपैयाँभन्दा बढी नगद झिक्न नपाइने



काठमाडौं । विदेशबाट रेमिटेन्स कम्पनीबाट पैसा पठाउँदा १ लाख रुपैयाँभन्दा बढीको भुक्तानी नगदमा नहुने भएको छ । राष्ट्र बैंकले तयार पारेको विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धी व्यवस्थाको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

मस्यौदामा भएको व्यवस्था जस्ताको त्यस्तै लागू भए विदेशमा रहेका आफन्तले पठाएको पैसा १ लाख रुपैयाँभन्दा बढी नगद झिक्न पाइने छैन ।

सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डन विदेशबाट पैसा पठाउँदा १ लाख रुपैयाँभन्दा बढी रकम नगदमा भुक्तान नगरेर बैकिङ प्रणालीमा मात्र गर्नुपर्ने व्यवस्था लागू हुन लागेको बताए ।

‘राष्ट्र बैंकले अहिले सुझाव पनि मागेको छ,’ उनले भने, ‘हामीलाई पर्नसक्ने व्यवहारिक समस्याको बारेमा हामीले सुझाव दिने छौं ।’

राष्ट्र बैंकले २ वर्षअघि पनि रेमिटेन्स रकमलाई नगदमा दिने व्यवस्थालाई निरुत्साहित गर्न नगद कारोबारमा १ लाखको सीमा तोक्ने तयारी गरेको थियो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा विदेशमा रहेका नेपाली नागरिकहरुले आर्जन गरेको रकम विद्युतीय माध्यमबाट नेपालमा विप्रेषण कम्पनीहरु/बैंकहरुबाट नियुक्त ऐजेन्ट वा सब ऐजेन्टमार्फत भुक्तानी गर्दा १ लाख रुपैयाँसम्मको रकम नगदमा भुक्तानी गर्नसक्ने उल्लेख छ ।
उक्त सीमाभन्दा बढीको रकम भुक्तानी गर्नु परेमा बैंक खातामार्फत् गर्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको व्यवस्था कार्यान्वयनमा आएमा १ लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिनुपर्दा रेमिटेन्स एजेन्टले एकाउन्ट पेइ (एसी) चेक भुक्तानी पाउनेलाई दिनुपर्ने हुन्छ ।

राष्ट्र बैंकले रेमिटेन्स रकममा नगद भुक्तानीको सीमा १ लाख रुपैयाँ तोक्दा हुन्डीको कारोबार बढ्ने खतरा रहेको रेमिटेन्स क्षेत्रमा सक्रिय रहेका व्यवसायीहरु बताउँछन् ।

‘हुन्डी कारोबारीहरु अत्याधिक सक्रिय छन्,’ एक रेमिटेन्स कम्पनी संचालकले भने, ‘घरसम्म रकम पुर्याउनेसम्मको सुविधा हुन्डी कारोबारीले दिन्छन् । यस्तो अवस्थामा १ लाखको सीमाले हुन्डी कारोबारलाई पश्रय दिन्छ ।’

तर, धेरैजसो अवस्थामा नेपालीले विदेशबाट पठाउने रकम एक पटकमा १ लाखभन्दा बढी भने हुँदैन । राष्ट्र बैंकले डिजिटल प्रणालीबाट गरिने भुक्तानीमा पनि सीमा तोक्ने घोषणा गरेको छ ।


पुष्प दुलाल