धनका पति गणेश र कुबेरको प्रतिकका रुपमा यःमरी चढाइदै, यस्तो छ यमरीको महिमा




काठमाडौं । आज मार्ग शुक्ल पूर्णिमा । अर्थात धान्य पूर्णिमा हो । आजको दिनलाई लिम्बुहरुले उधौली पर्वका रुपमा मनाउने गर्छन् । यसैकारण सरकारले उधौली पर्वमा सार्बजनिक बिदा पनि दिने गरेको छ ।

यसबाहेक नेपालको अर्काे जातिले पनि धान्य पूर्णिमालाई विशेष पर्वको रुपमा मनाउने गर्छ । नेवार समूदायहरु ज्यापू दिवसको रुपमा यो पर्व मनाउने गर्छन् । यस दिन नेवारी समूदाय चामलको पिठोमा चाकु लगायतका सामाग्रीको झोल मिसाएर यःमरी बनाएर खाने गर्छन् ।

नेवारी समुदायकी राज्य लक्ष्मी महर्जन भन्छिन् ‘यःमरी विशेष गरी तिहारमा पुजा गरिएको चामललाई पिसेर, त्यसको कोन बनाइ, त्यस भित्र चाकु, नरिवल, तिल, खुवा, सुकुमेल र ल्वाङ आदि पिसेको झोल मिसाएको परिकार हालेर एउटा छ्ट्टै परिकार बनाउने गरिन्छ । यसरी बनाइएको यमरीलाई २४ वटा पाटीमा राखेर ढुकुटीमा पुजा गर्ने र त्यसलाई ४ दिन पछि निकाल्ने गरिन्छ ।’

नेवार समुदायमा यःमरीको निकै महत्व रहेको पाइन्छ । नेवार समूदायमा बच्चाको २ र ४ वर्षको जन्म दिनमा अनिवार्य रुपमा यःमरीको माला लगाइ पुजा गर्ने प्रचलन छ । यस्तै दिदी बिहिनीहरुलाई भेटघाट (नखेट) मा बोलाउदा पनि यःमरी बनाएर खुवाउने चलन रहिआएको छ ।

किम्बदन्ती अनुसार तत्कालीन पान्चाल देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा दम्पती भगवान विष्णुका परम भक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्माणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्माणरुपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाइन् ।

उनको सत्कारदेखि प्रशन्न भई कुवेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । उनी गएपछि सुचन्द्र दम्पतीले धानको भकारीमा यःमरी चढाएर चार दिनपछि प्रसादको रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पत्ति अझ वृद्धि भएको खबर जताततै फैलियो । त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको महत्व बढेकोे मान्निछ ।

यःमरीलाई कुवेर र गणेशका प्रतिकका रुपमा लिइने र पूर्णिमाका दिन यःमरीलाई धानका भकारीलगायतमा चढाइन्छ । यसरी चढाएको यःमरी चारदिन पछिमात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन छ । यःमरीलाई भगवती अन्नपूर्ण देवीका प्रतिकको रुपमा पनि लिइन्छ । यस दिन नेवार समुदायले यःमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याःक महादेव, पार्वतीलगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र भण्डार कोठामा यःमरी चढाएर मात्र आफूले खाने चलन रहेको नेवार संस्कृतिविदहरु बताउँछन् ।


क्लिकमान्डु