कतै तपाईँको कम्प्युटरमा ‘बिट क्वाइन’ माइनिङ भइराखेको त छैन?



नेपालले हालै इन्टरनेटबाट हुने ‘विट क्वाइन’ जस्ता अभौतिक मुद्राको प्रचलनलाई अवैध ठहर गरेको छ। क्रिप्टोकरेन्सी भनिने यस्तो मुद्रा ‘विट क्वाइन’ बाहेक धेरै नाममा प्रचलनमा आएका छन् । लाइटक्वाइन, इथेरम, जेडक्यास लगायत धेरै नामका क्रिप्टोकरेन्सी अहिले प्रचलनमा छन् । नेपालमा यस्तो कारोबारमा संलग्न भएको भन्दै प्रहरीले केहीलाई पक्राउ गरी धमाधम अनुसन्धान समेत थालेको छ ।

हाम्रोमा अवैध ठानिए पनि धेरै मुलुकले यसलाई अन्य मुद्रा सरह नै प्रचलनमा ल्याएका छन् । यो इन्टरनेट र इन्टरनेट जोडिएका डिजिटल डिभाइसमा उत्पादन र प्रचलनमा आउँछ । अरू सरह इन्टरनेट सञ्जालमा जोडिएका तपाई-हामी थाहा भएर वा नभएर यसको उत्पादन वा प्रचलनमा प्रयोग भइरहेका हुन सक्छौं अर्थात् सरकारले अवैध भनेको कुरा तपाई हाम्रो आफ्नै कम्प्युटर वा मोबाइल फोनमा भइरहेको हुन सक्छ ।

तपाईले थाहै नपाई कसरी हुन्छ तपाईको डिभाइसको प्रयोग?

‘क्रिप्टोकरेन्सी माइनिङ’ इन्टरनेट जोडिएको संसारको जुनसुकै कुनाबाट पनि हुन सक्छ । यसरी माइनिङ गर्दा केही रकम कमिसनको रूपमा पाइने हुँदा धेरैले अहिले यसलाई व्यबसायको रूपमा नै गर्ने गरेका छन् । तर, पछिल्लो समय क्रिप्टोकरेन्सीको माइनिङको लागि सर्वसाधारण इन्टरनेट प्रयोगकर्ताका कम्प्युटर र मोवाइल डिभाइस प्रयोग गरी ब्राउजर मार्फत पनि माइनिङ गर्न थालिएको छ । यसलाई ‘इनब्राउजर माइनिङ’ भनिन्छ ।

क्वाइनहाईभ जस्ता कोड कुनै वेबसाइटले राखेको छ भने यस्तो वेबसाइट चलाएको समयमा त्यस्ता कोडले तपाईको डिभाइसमा ‘माइनिङ’ गर्छन् । कुनै वेबसाइटले तपाईसँग अनुमति मागेर गर्न सक्छन त कुनैले बिना जानकारी नै तपाईको डिभाइसको प्रयोग गरेका हुन सक्छन् ।

कुनै वेबसाइटले तपाईसँग अनुमति मागेर गर्न सक्छन त कुनैले बिना जानकारी नै तपाईको डिभाइसको प्रयोग गरेका हुन सक्छन् ।

तपाईँको डिभाइसमा माइनिङ भइराखेको छ भने यसले सिपियु, र्‍याम र ग्राफिक्स कार्ड जस्ता हार्डवयरको क्षमता उपयोग गर्छन् । जसले गर्दा तपाईको डिभाइस ‘स्लो’ हुन्छ र नियमित काममा असर पर्न सक्छ । कतिपय डिभाइस ‘ह्याङ’ हुने र धेरै भार पर्यो भने ‘क्यास’सम्म हुने सम्भावना हुन्छ। ब्याट्री र बिजुलीको खपत पनि यसले बढाउँछ ।

नेपालको सन्दर्भमा यसलाई गैरकानुनी ठानिएकाले तपाई जुनसुकै बेला कानुनी समस्यामा पर्ने खतरा पनि भयो । क्रिप्टोकरेन्सी कारोवारलाई वैध नै ठान्ने देशमा पनि विना अनुमति नै कुनै वेबसाइटले तपाइको हार्डवयर वा सफ्टवयरमा हस्तक्षेप गर्न भने पाउँदैनन् । यो गैरकानुनी नै हुन्छ।

पछिल्लो समय यसलाई प्रयोगकर्तालाई जानकारी नै दिएर माइनिङ गराउने साथै विज्ञापनको विकल्पमा वेबसाइटहरूले आर्थिक आर्जनको बाटो बनाउन सक्ने विषय पनि बहसमा छ । तर यो बहस टुंगोमा पुगेको छैन् ।

खासमा के हो ‘क्रिप्टोकरेन्सी माइनिङ’? 

नेपाली रूपैयाँका नोटमा हेर्नुहोस् त ‘नेपाल राष्ट्र बैंकबाट जमानत प्राप्त…यसको भुक्तानी लिन आएमा तुरून्तै पाइन्छ’ लेखिएको हुन्छ ।सबै देशले आफ्ना मुद्राको जमानी तोकेका हुन्छन् । तर, अरू मुद्रा जस्तो क्रिप्टोकरेन्सी नियमन गर्ने वा जमानत बस्ने कुनै सरकारी वा भौतिक निकाय यसमा हुँदैन। यसमा त सबै नियमनको कार्य कम्प्युटर सफ्टवयरले गर्छ।

एउटा क भन्ने व्यक्तिले ख भन्ने व्यक्तिलाई रकम भुक्तानी गर्दा भुक्तानी सहि छ छैन भनेर भेरीफाई गर्ने बीचमा अर्को मध्यस्तकर्ता चाहिन्छ । कारोबारको सम्पूर्ण विवरण स्वचालित रूपमा प्रमाणित र खाता अभिलेखिकरण गर्नुपर्ने हुन्छ । सुरक्षा र संवेदनशीलताको कारणले यसमा जटिल गणितीय प्रकृया पुरा गर्नुपर्छ ।

माइनिङ गर्ने भनेको विशेष सफ्टवयर मार्फत यो जटिल प्रकिया पुरा गराएर दुईपक्षलाई कारोबार गर्न सहयोग पुर्याउने हो । यसबाहेक नयाँ ‘क्वाइन’ उत्पादन पनि माइनिङ प्रकृयाबाटै हुन्छ । अझै प्रस्ट भन्नुपर्दा अहिले भौतिक नोटको कारोबारमा बैंकहरूले गर्ने काम यसमा माइनिङबाट हुन्छ ।

अहिले भौतिक नोटको कारोबारमा बैंकहरूले गर्ने काम यसमा माइनिङबाट हुन्छ ।

इनब्राउजर माइनिङ

क्रिप्टोकरेन्सी माइनिङबारे बुझेर आफैले व्यवसाय वा सौखको रूपमा माइनिङ गर्नु छट्टै कुरा भयो । तर, वेबसाइटले ब्राउजरबाट गराउने माइनिङका बारेमा भने प्रयोगकर्ता सचेत हुनु जरूरी छ । यसमा तपाइको डिभाइस प्रयोग गरेर रिवार्ड स्वरुप आउने आर्थिक लाभ अरूले नै लिएको हुन्छ ।

वेबसाइटले ब्राउजरबाट गराउने माइनिङका बारेमा भने प्रयोगकर्ता सचेत हुनु जरूरी छ । यसमा तपाइको डिभाइस प्रयोग गरेर रिवार्ड स्वरुप आउने आर्थिक लाभ अरूले नै लिएको हुन्छ ।

सुनुवार आइटी प्रोफेसनल हुन् ।


क्लिकमान्डु