कुल उत्पादनको करिब ५०% बिद्युत प्रदेश नं ४ मा, कति छ उत्पादन ?



काठमाडौं । सञ्चालनमा रहेका आयोजनालार्ई हेर्ने हो भने प्रदेश नं ४ नै अग्रस्थानमा रहेको छ । हाल उत्पादन भइरहेको विद्युत् र सञ्चालनमा रहेका आयोजनालाई हेर्ने हो भने संविधानअनुसार प्रस्तावित प्रदेश नं ४ नै सबैभन्दा बढी अग्रस्थानमा रहेको छ ।

मुलुकभर अहिले उत्पादित बिजुलीमध्ये सबैभन्दा धेरै यो प्रदेशबाट आपूर्ति भइरहेको विद्युत विकास विभागको तथ्यांकमा उल्लेख छ ।

हाल मुलुकमा ९९० मेगावाट बिजुली उत्पादन भइरहेको छ । त्यसमध्ये ४५० मेगावाट विद्युत् उत्पादन प्रदेश नं ४ मा भइरहेको छ ।

मुलुककै सबैभन्दा धेरै क्षमतायुक्त १४४ मेगावाटको आयोजना कालिगण्डकी ए आयोजना प्रदेश नं ४ को स्याङ्जामा अवस्थित छ । त्यस्तै देशकै दुई ठूला आयोजना मध्यमस्याङ्दी र मस्र्याङ्दी लमजुङ र तनहुँ जिल्लामा रहेको छ ।

विभागकाअनुसार केही वर्षसम्म जलविद्युतमा सबैभन्दा धेरै योगदान सोही प्रदेशले दिने देखिन्छ ।

एकाध वर्षमा सकिने आयोजना २५ मेगावाटको खानीखोला धादिङमा छ । निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सानिमा हाइड्रो प्रदेश नं १ को इलाम जिल्लामा पर्दछ ।

तथ्यांकका आधारमा हेर्दा जलविद्युतमा हाल मुलुक नै प्रदेश नं ४ सँग निर्भर हुनुपरेको छ । उत्पादन भइरहेका बाहेक निर्माणाधीन आयोजनाबाट अबको केही समयभित्र प्रदेश नं ४ मा करिब ५ सय मेगावाट विद्युत उत्पादन हुन लागेको तथ्यांकले बताउने गरेको छ । यस्तै मंगलबारबाट व्यवासायिक उत्पादन सुरु गरेको करिब १४ मेगावाटा क्षमताको थापा खोला समेत मुस्ताङ जिल्लामा नै छ । सो जिल्ला समेत प्रदेश नं ४मा पर्दछ ।

लमजुङमा निर्माण सम्पन्न भइ सञ्चालनमा आएको माथिल्लो मस्र्याङदी ५० मेगावाट, कास्कीमा आयोजना स्थल रहेको २५ मेगावाटको आयोजना समेत प्रदेश नं ४ मा नै पर्दछ ।

प्रदेश नं ४ को अर्को सबैभन्दा ठूलो सेती नदीमा तनहुँ हाइड्रोपावर निर्माणको क्रममा रहेको छ । सो आयोजनाको क्षमता १४० मेगावाट रहेको छ ।

यो प्रदेशभित्र निर्माणाधीन आयोजनाको क्षमता ४७७ मेगावाट छ । केही वर्षभित्रै उक्त क्षमताको बिजुली यो प्रदेशमा फेरि थपिनेछ । अनुमति लिएर निर्माण सुरु गर्ने साइत पर्खिएका आयोजनाको क्षमता झन्डै ३०० मेगावाट छ ।
अहिलेसम्म ४ नं प्रदेशभित्र पर्ने विभिन्न जिल्लाका आयोजनामा सिंगो नेपालको बिजुली धानिएको छ ।

अन्य प्रदेशमा प्रस्तावित कुनै ठूला क्षमताका आयोजना पूरा नहुँदासम्म यसको योगदान बढी नै हुनेछ ।

संविधानप्रदत्त सीमांकनअनुसार गण्डकी र धवलागिरीका १० जिल्ला सहित लुम्बिनीको नवलपरासीको पूर्वी भाग यही प्रदेशमा अवस्थित छ । नवलपरासीको गण्डक क्षेत्रको विद्युत आयोजना पनि यही प्रदेशमा पर्दा यो प्रदेशको योगदान जलविद्युतमा बढी रहेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादक संघले प्रकाशित गरेको तथ्यांकअनुसार पनि सबैभन्दा बढी जलविद्युत प्रदेश न. ४ बाट उत्पादन भइरहेको छ ।

सरकारी तथा निजी दुवैको क्षेत्रले यही प्रदेशमा लगानी गरेर विद्युत उत्पादन गरिरहेका छन् । भविष्यमा प्रदेश नं ६ मा जलविद्युतमा अग्रणी हुनसक्ने सम्भावना भए पनि अहिलेलाई ४ कै अग्रता रहेको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मिर्नाण सम्पन्न नहुँदासम्म प्रदेश नं ४ अग्रस्थानमा रहने विभागको तथ्यांकले देखाउँछ । सो आयोजना सम्पन्न भएपछि भने प्रदेश नं ३ को हिस्सा अग्रस्थानमा पुग्नेछ । हालको तथ्यांकले भने प्रदेश नं ४ नै अग्रस्थानमा रहेको छ ।


क्लिकमान्डु