५ करोड लगानीमा पशुपतिमा बन्दैछ यस्तो ‘अध्यात्मिक पार्क’



काठमाडौं । हिन्दु धर्मालम्बीहरुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा आध्यात्मिक पार्क निर्माण हुँदैछ । सनातन हिन्दु दर्शनको अवधारणा अनुसार आध्यत्मिक पार्क निर्माण थालिएको हो ।

पशुपति विकास कोषले उपलब्ध गराएको १ सय रोपनी जग्गामा आध्यात्मिक पार्क निर्माण भईरहेको छ । पशुपति क्षेत्रमा विगत २ बर्षदेखि विद्वत समाज नेपाल श्यामाश्याम धामले पार्क निर्माण गरिरहेको छ । पार्कको लागत ५ करोड रुपैयाँ छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र खण्डर, गाँजा तान्ने र यौनकर्मीको अखहडाको रुपमा परिणत हुँदै गएकाले पशुपति विकास कोषसँगको सहकार्यमा पार्क निर्माण गर्न लागिएको विद्वत समाज नेपाल श्यामाश्याम धामका अध्यक्ष धनेन्द्रपुरुष ढकालले जानकारी दिए ।

अध्यात्मिक पार्कभित्र प्रवेशका लागि ३ वटा ढोका छन् । ती ढोकाको विषेशता अनुसारको नाम राखिएको छ । पूर्वतर्फ कर्मकाण्डी मार्ग, पश्चिम ज्ञान मार्ग र दक्षिण तर्फबाट प्रवेश गर्ने बाटोलाई भक्ति मार्ग नामाकारण गरिएको छ ।

पशुपति मन्दिरतर्फ रहेको मार्गबाट कर्मकार्य, पूजापाठ गर्ने व्यक्तिहरु प्रवेश गर्ने भएकाले कर्मकाण्डी मार्ग नाम राखिएको हो ।

यस्तै, पुजा गर्ने उदेश्यले पशुपतिनाथ मन्दिर प्रवेशद्धारले दक्षिणतर्फको मार्ग प्रयोग गर्ने भएकाले त्यस तर्फको बाटोलाई भक्तिमार्ग नाम राखिएको छ । संसारिक ज्ञान हासिल गरेका ज्ञानी व्यक्तिहरु पश्चिम ढोकाबाट प्रवेश गर्ने भएकाले सो स्थानको नामाकारण ज्ञान मार्गको रुपमा गरिएको छ ।

३ वटै ढोकाबाट प्रवेश गर्नेहरुको मिलन हुने केन्द्रको नाम त्रिवेणी मार्ग छ । त्रिवेणी मार्गमा निर्माण गरिएको कुर्सीमा बसेर आ–आफ्नो शास्त्रार्थको प्रयोग गर्न सक्ने गरी त्रिवेणी निर्माण गरिएको ढकाल बताउँछन् ।

त्रिवेणी मार्गको ठीक अगाडि भक्ति स्तम्भ छ । ढकालका अनुसार भक्ति स्तम्भ हेर्ने व्यक्तिले आफूले आस्था गर्ने भगवानको प्रतिमा देख्छन् । भक्ति स्तम्भको छेउमा ढुङगा विछ्याएको एउटा चौर छ । सो चौरमा बसेर मानिसले भक्ति स्तम्भतर्फ फर्केर आफ्नो भगवनाको प्रर्थना गर्न सक्ने उनी बताउँछन् ।

‘मानिसलाई भगवानसँग प्रत्यक्ष साक्षत्कार गर्नका लागि पार्क निर्माण गरिएको हो, पार्कका निर्माण गरिएका हरेक आकृति वेदसँग सम्बन्धित छ,’ ढकाकले क्लिमाण्डूसँग भने ।

वेदमा उल्लेख गरिएको जस्तै ६४ वटा ज्योतिलिङ्ग, गोवर्दन पवर्त, रंगभूमि मधूरा, गौरीकुण्ड, पुष्प वाटिकालगायतका धार्मिक स्थान पनि छन् ।

पार्कको प्रमुख अकर्षक केन्द्रको रुपमा ७ लोक र १४ भुवन रहने ढकाल बताउँछन् । ७ लोक र १४ भूवनमको वायुमण्डलको प्रतिनिधित्व गर्ने किसिमको मौसम हुनेछ । त्यहाँ प्रविधिको सहयोगमा बर्षा, हिउँ, कुहिरो, चिसो, गर्मीलगायतको वायुमण्डल बनाइनेछ ।

यस्तो थियो पार्क बन्ने स्थान

अध्यात्मिक पार्क विश्व संपदा सूचीमा रहेको पशुपतिनाथ मन्दिरको क्षेत्रमा निर्माण गरिँदैछ । पार्क निर्माण गर्नुअघि सो स्थानमा चाबहिलदेखिको ढल बग्ने गरेको थियो । साथै, त्यहाँ गाँजा खाने, देह व्यपाहार गर्नेहरुले अखडाको रुपमा लिने गरेका थिए । सो स्थानमा साधरण मानिस जानलाई लाज मर्दो र डरलाग्दो  थियो । त्यहाँको बोट विरुवाको उचित संरक्षण हुन सकेको थिएन ।

विद्वत समाज नेपाल श्यामाश्याम धामले पार्क निर्माणको काम सुरु गरेसँग सो स्थानमा ठूलो परिवर्तन आएको छ । पार्क निर्माण भईरहेको स्थानमा अनावश्यक मानिसहरु प्रवेश गर्न सक्दैनन् । साथै, बाँदरलाई पनि पार्कमा प्रवेश रोक लगाइएको छ । बाँदर भगाउनका लागि गुलेलीको प्रयोग गर्ने गरिएको अध्यक्ष ढकाल बताउँछन् ।

यसकारण बनाइँदै छ पार्क ?

पशुपतिनाथ हिन्दुहरुको पवित्र तीर्थस्थल हो । ठूलो क्षेत्रफल र घना जंगल भएकाले सम्बन्धित निकायले पशुपतिक्षेत्रमा प्रयाप्त ध्यान दिन सकेको छैन । त्यसको फाइदा उठाउँदै त्यहा गैरकानूनी र अनाधिकृत कार्य हुने गरेका थिए ।

त्यस्तो कार्य रोक्नका लागि साथै पशुपति क्षेत्रलाई सुन्दर र आर्कषक बनाउनका लागि पार्क निर्माण गर्न लागिएको हो । पार्कबाट पशुपति क्षेत्रको सुन्दरता रक्षा हुनका साथै हिन्दुधर्म ग्रन्थको ज्ञान हासिल गर्न सक्ने ढकाल बताउँछन् ।

अध्यात्मिकका साथै वैज्ञानिक प्रविधिको संयोजन

पार्क अध्यात्मिक हिसाबले मात्र नभई वैज्ञानिक सिद्धान्तबाट निर्माण गरिएको ढकाल बताउँछन् । बर्षातको समयमा जम्मा हुने पानीलाई जमिन भित्र पठाउनका लागि गौरी कुण्डलगायत ७ वटा पोखरी निर्माण गरिएको छ । ती पोखरीमा बर्षातको पानी जम्मा गरिन्छ । साथै, मानिसलाई रक क्लाइमिङको अनुभूति प्रदान गर्नका लागि ढुङगे बाटो पनि निर्माण गरिएको छ ।

लगानी कस्को ?

पार्क निर्माणमा लाग्ने सम्पूर्ण रकमको व्यवस्था स्वामी श्री हरिदास जीले गरेका छन् । उनी जगदगरु श्री कृपालु महाराजका एकमात्र नेपाली प्रर्चारक हुन् ।


पुष्प दुलाल