वर्षौंपछि नाफामा नविल बैंकलाई इन्भेष्टमेन्टले जित्यो, अब के होला ?



काठमाडौं । पछिल्ला ४/५ वर्षदेखि बैंकहरुको नाफामा नबिल बैंक सबैभन्दा अगाडि थियो ।

हरेक ३ महिनामा प्रकाशित हुने वित्तीय विवरणमा नबिलले सबैलाई पछाडि छाडेको हुन्थ्यो । कुनैबेला सरकारी लगानीका बैंकहरुको पुरानो ऋण उठेर ह्वातै नाफा बढी भएको स्थिति बाहेक नबिल नै जहिले पनि पहिलो नम्बरमा थियो ।

चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासिक अवधिको वित्तीय विवरणले नबिल बैंक नाफाका हिसाबले पहिलो हुन सकेन ।

विगतदेखि नाफामा पछ्याइरहने नेपाल इन्भेष्टमेन्ट बैंकले यसपटक भने नविल बैंकलाई उछिनेको छ ।

असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय वित्तीय विवरण अनुसार इन्भेष्टमेन्ट बैंकले ८९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ भने नबिल बैंकले ८५ करोड १४ लाख रुपैयाँ कमाएको छ । जसअनुसार इन्भेष्टमेन्ट बैंकको नाफा नबिलको भन्दा ४ करोड रुपैयाँले बढी छ ।

अघिल्लो वर्षको असोज मसान्तमा नबिलको नाफा ७९ करोड थियो भने नेपाल इन्भेष्टमेन्टको नाफा ७५ करोड थियो । १ वर्षअघि असोज मसान्तको वित्तीय विवरणमा ४ करोडले नाफा बढी रहेको नबिल यो वर्ष ४ करोड रुपैयाँले पछि परेको हो ।

गत आर्थिक वर्षमा नबिलले ३ अर्ब ६१ करोड नाफा गरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ११ करोड रुपैयाँ नाफा गरेका थियो । ३ अर्ब नाफा कटाउनेमा नबिल र इन्भेष्टमेन्टपछि सरकारी लगानीको वाणिज्य बैंक थियो ।

अघिल्लो आर्थिक वर्षको नाफामा नबिलको नाफा इन्भेष्टमेन्टको तुलनामा ५० करोड रुपैयाँले बढी थियो ।

असोज मसान्तको ब्यालेन्ससिटले नाफामा पहिलो स्थानमा कब्जा जमाउँदै आएको नबिललाई इन्भेष्टमेन्टले जितेको छ ।

वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको नबिलको निक्षेप १ खर्ब २३ अर्ब छ । यस्तै कर्जा लगानी ९४ अर्ब ९८ करोड छ । नबिलको रिबर्जमा ६ अर्ब ९० करोड छ ।

यस्तै १० अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेन्टको रिजर्बमा ८ अर्ब ९७ करोड छ । १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको इन्भेष्टमेन्ट बैंकले १ खर्ब ७ अर्ब कर्जा दिएको छ ।

बैंकले गर्ने मुख्य आम्दानीको स्रोतमा नबिलको ब्याज आम्दानी २ अर्ब ५० करोड आम्दानी गर्दा ब्याज खर्च १ अर्ब १४ करोड ब्याज खर्च गरेको छ । जसले गर्दा खुद ब्याज आम्दानी नबिलको १ अर्ब ३६ करोडको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्टको ३ अर्ब २० करोड ब्याज आम्दानी गर्दा ब्याज खर्च १ अर्ब ८८ करोड छ । खुद ब्याज आम्दानी १ अर्ब ३२ करोड छ ।

निक्षेप, कर्जामा नेपाल इन्भेष्टमेन्ट नबिलभन्दा अगाडि छ । जसले ब्याज आम्दानी र खर्च नबिलको तुलनामा इन्भेष्टमेन्टको बढी भएपनि खुद ब्याज आम्दानी भने नबिलको इन्भेष्टमेन्टको तुलनामा ४ करोडले बढी छ ।

नबिलले १५ करोड रुपैयाँ फि तथा कमिसन, अन्य संचालन खर्चबाट १० करोड तथा विदेशी मुद्राको कारोबारबाट १७ करोड कमाएको छ ।

इन्भेष्टमेन्टले बैैंकले फि र कमिसनबाट २१ करोड, अन्य संचालन आम्दानी ८ करोड तथा विदेशी मुद्राबाट १५ करोड कमाएको छ । नन फन्डिङ बिजनेशमा इन्भेष्टमेन्टले नबिललाई जितेको छ । मुख्य रुपमा कमिसनबाट आउने आम्दानीले नन फन्डिङ बिजनेशबाट इन्भेष्टमेन्टले नबिलले भन्दा बढी कमाएको हो ।

यसरी नबिलको कुल संचालन नाफा १ अर्ब ७९ करोड छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब ७७ करोड छ ।

नबिलको कर्मचारीको तलबमा २७ करोड तथा अन्य संचालनका लागि १६ करोड खर्च भएको छ । इन्भेष्टमेन्ट बैंकको कर्मचारीको लागि १९ करोड तथा अन्य खर्च १८ करोड छ । कर्मचारीको तलबको लागि भएको कम खर्चले गर्दा नबिलको तुलनामा इन्भेष्टमेन्ट बैंकको नाफा प्रोभिजन अगाडि ५ करोडले बढी छ । यद्यपि नेपाल इन्भेष्टमेन्टको तुलनामा नबिलको कर्मचारी खर्च भने अघिल्लो वर्षपनि बढी नै थियो ।

नबिलले नोक्सानी व्यवस्थाको लागि ९ करोड छुटाएको छ भने इन्भेष्टमेन्ट बैंकले १८ करोड छुट्याएको छ । तर, अघिल्लो वर्ष नउठेको ऋण भने नबिलको नउठेको देखिन्छ । असोज मसान्तसम्ममा अघिल्लो वर्ष नउठेको २ लाख मात्र ऋण नबिलले उठाएको छ । जबकी इन्भेष्टमेन्टले ९ करोड ७९ लाख उठाएको छ ।

अघिल्लो आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार नोक्सानीको लागि १९ करोड छुट्याएको थियो । अघिल्लो वर्षको ऋण उठाउन नसेको कारण नाफामा नबिललाई इन्भेष्टमेन्टले जितेको देखिन्छ ।


पुष्प दुलाल