कात्तिक २८ गतेदेखि एनालग केवल टिभि बन्द हुँदै



काठमाडौं । सरकारले शहरी क्षेत्रमा संचालनमा रहेका एनालग केबल टेलिभिजन सेवा बन्द गराउने भएको छ । सूचना तथा संचार मन्त्रालयले यहि कात्तिक २८ गतेदेखि शहरी क्षेत्रका एनालग केबल टिभि बन्द सेवा गराउने भएको हो ।

केहि दिनअघि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै २७ गतेसम्म सबै केबल टिभिहरुलाई एनालगबाट डिजिटलमा रुपान्तरण गर्ने अन्तिम मौका दिएको छ । सोहि सूचनाको आधारमा सरकारले कात्तिक २८ गतेदेखि महानगर, उपमहानगर र नगरपालिका क्षेत्रमा संचालित एनालग केबल टिभि बन्द गराउने भएको हो ।

पहिलो चरणमा कात्तिक २८ गतेदेखि एनालग स्वीच अफ गरिने

मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर अनिल भुजेलले पहिलो चरणमा कात्तिक २८ गतेदेखि एनालग स्वीच अफ गरिने जानकारी दिए ।

‘हामी कात्तिक २८ गतेदेखि सबै केबल टिभीहरुको अनुगमनमा जान्छौं र एनालग प्रशारण स्वीच अफ गछौं,’ उनले भने ।

पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र अनुगमन गरिने भएपनि अन्य क्षेत्रहरुमा पनि क्रमश अनुगमन गर्ने

उनले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र अनुगमन गरिने भएपनि अन्य क्षेत्रहरुमा पनि क्रमश अनुगमन गर्ने बताए।

एनालग प्रशारण बन्द गराउनका लागि मन्त्रालयले नेपाल केवल टेलिभिजन महासंघ र नेपाल केवल टेलिभिजन व्यवसायी महासंघलार्इ पत्र पठाउँदै यस विषयको सूचना प्रशारणमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

सरकारले केवल टिभिलाई डिजिटलमा रुपान्तरण गर्ने योजनाअनुसार नै एनालग प्रविधिलाई बन्द गराउने योजना ल्याएको हो । विश्वका अधिकांश मुलुकहरुले हाल डिजिटल टेलिभिजन सेवा मात्र प्रदान गर्दै आएका छन् ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने गएको वैशाख १५ देखि नै डिजिटलाईजेसनको प्रकृया शुरु भईसकेको भन्दै सबै केवल टिभि क्रमशः डिजिटलमा जानुपर्ने बताए ।

‘अब डिजिटलाईजेसनबाट पछाडि फर्किन सकिँदैन्, सकेसम्म छिट्टै डिजिटलमा जानुपर्दछ, सरकारले यसअघि देखि नै व्यवसायीलाई डिजिटलाईजेसनमा जान भनेको हो,’ उनले क्लिकमाण्डूसँग भने ।

ढकालकाअनुसार हाल महानगर, उपमहानगर र नगरपालिका क्षेत्रमा सेवा दिईरहेका केवल टिभि सेवा प्रदायकहरुमध्ये केहि डिजिटलमा गईसकेको र केहि जाने क्रममा रहेका छन् ।

केवल व्यवसायीहरुले सेटटप वक्सका कारण समयमा नै डिजिटाइजेसन हुन नसकेको भन्नु उनीहरुको व्यवसायीक योजनामा कमजोरी भएको उनको भनाई थियो ।

यसअघि देखि नै सरकारले एनालग केवल टिभि संचालन गरिरहेका सेवा प्रदायकहरुको अनुमति पत्र नविकरण गर्ने कार्यमा रोक लगाएको छ र डिजिटल टिभी सेवा प्रदायकहरुलाई मात्र प्राथमिकतामा राखेको छ ।

हालको कानूनअनुसार नै जाँदा पनि पुस महिनादेखि एनालग टिभि प्रशारण स्वत गैर कानूनी हुन्छ ।

मन्त्रालयका उपसचिव अनुप नेपालले पुसदेखि डिजिटल टिभि सेवा मात्र वैधानिक हुने भन्दै हालसम्म ३५ प्रतिशत मात्र डिजिटाइजेसन भएको बताए ।

‘अवेरनेसमा कमजोरी भएको हो, अवेरनेस भएमा तत्काल ५० प्रतिशतभन्दा बढि डिजिटाइजेसन हुन्छ,’ नेपालले क्लिकमाण्डूसँग भने ।
सरकारले जनचेतना अभिवृद्धि गर्ने योजना बनाईरहेको उनको भनाई छ ।

उपसचिव नेपालकाअनुसार विश्वमा डिजिटल सेवा प्रशारणका लागि चारवटा प्लेटफर्म रहेको र चारैवटा प्लेटफर्म मार्फत नेपालमा सेवा संचालनमा रहेको छ ।

मन्त्रालयकाअनुसार हालसम्म ४ वटा कम्पनीहरुले डिजिटल प्रणाली अबलम्बन गरिसकेको र आफ्नै हेड–इन राखेका छन्, यस्तो हेडइन बुटवल, काठमाडौं, गुल्मी र नेपालगंजमा कम्पनीहरुले राखेका छन् । त्यसैगरि करिब ७० वटा केवल टिभि सेवा प्रदायक कम्पनीहरुले डिजिटलमा जानको लागि मन्त्रालयमा आवेदन दिईसकेका छन् ।

नेपालभर हालसम्म ८५२ वटा केवल टिभि सेवा प्रदायकले अनुमति पत्र लिएको मन्त्रालयको तथ्यांकमा छ ।


क्लिकमान्डु