राजधानीमा बिमलेन्द्र धनी, तराइमा राजेन्द्र, धनुषा-३ मा कसले जित्ला चुनाब ?




काठमाडौं । प्रतिनिधिसभा निर्वाचनले मुलकुलाई राम्रैसँग गाँजेको छ । चुनावका बारेमा विभिन्न खालका व्याख्या र टिप्पणी हुन थालेका छन् । कुन उम्मेदवारले जित्लान् वा कसले चुनाब हार्ला भन्ने अनुमान र भविष्यवाणी पनि उस्तै छ ।

तर, जनताको मत हो, कहिले एउटा उम्मेदवारलाई आफ्नो ठान्छन् र कहिले पराइ पनि मान्छन् ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चर्चा र चासोका निर्वाचन क्षेत्रहरुमध्ये धनुषा ३ पनि हो ।

नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तो सो क्षेत्रबाट निर्वाचनको मैदानमा छन् । दुवै उम्मेदवारले आफूले नै विजयी हुने दावी पनि गर्दै आएका छन् ।

सम्पत्तिको तुलना गर्दा दुबै नेताको आर्थिक हैसियत उस्तै देखिन्छ । तराइ मधेशमा भने महतोसँग बढी जमिन देखिएको छ । काठमाडौं उपत्यकामा जग्गाको सबालमा निधिले महतोलाई जितेका छन् ।

निधि र महतोको राजनीतिक वा चुनाबी अबस्थाको समीक्षाभन्दा पनि आर्थिक हैसियतको बढी चर्चा यहाँ गर्न खोजिएको छ ।

कति सम्पत्ति छ निधिसँग ?
काँग्रेस नेता निधिले उपप्रधानमन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणका आधारमा लेखाजोखा गर्ने प्रयत्न गरिएको छ । उनले सार्बजनिक गरेको विवरणअनुसार उनीसँग ६० तोला सुन र १५० तोला चाँदी छ ।

सुन र चाँदी भने उनकी श्रीमतीले दाइजोबाट प्राप्त भएको जनाएका छन् । यस्तै उनीसँग घरमा नै १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ रकम रहेको छ । उनले आफ्नो आम्दानीको स्रोतको रुपमा पारिश्रमिक, भ्रमण भत्ता र कृषि आयलाई देखाउने गरेका छन् ।
उनले आय आर्जनबाट भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी जग्गा किनेको उल्लेख गरेका छन् ।

उनले भक्तपुरको कटुञ्जेमै ६ आना जमीन १३ लाख ५० हजार रुपैयाँमा किनेका छन् । सोही स्थानमा निधिका नाममा थप ३ आना जग्गा छ । त्यसको खरिद मूल्य ३ लाख ८० हजार रुपैयाँ रहेको विवरणमा उल्लेख गरेका छन् ।

भक्तपुरकै कटुञ्जेमा उनको नाममा रहेको थप ४ आना जमीनको भने खरिद मूल्य उल्लेख गरेको पाइदैन । निधिको नाममा धनुषा जिल्लामा मात्र विभिन्न कित्तामा १९ विघा जमीन छ । धनुषा जिल्लाको तत्कालीन नगराई गाविसका विभिन्न वडामा सो जमीन छ ।

निधिको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा २९ लाख रुपैयाँ नगद देखिन्छ । हिमालय बैंकमा १४ लाख ३७ हजार ५ सय ९३ रुपैयाँ छ । उक्त पैसाको आम्दानीको स्रोतको रुपमा जग्गा बिक्री, पारिश्रमिक, भत्ता, भ्रमण भत्ता आदि रहेको उल्लेख गरेका छन् । यस्तै सोही बैंकमा नै थप १४ लाख रुपैैयाँ देखिन्छ । सो रकम निधिको पत्नीको नाममा छ ।

यस्तै अनकल निधीका नाममा कृषि विकास बैंकमा २९ हजार रुपैयाँ छ । निधिको नाममा करिब १३ लाख ५० हजार रुपैयाँ विभिन्न व्यक्तिबाट उठाउन बाँकी छ । ऋण तथा सापटी मागेर लगेका र कृषि व्यवसायबाट पाउनु पर्ने उक्त पैसा उठाउन नसकेको सम्पत्ति विवरणमा उल्लेख छ ।

निधिका नाममा २०५४ सालमा ७ लाख रुपैयाँमा खरिद भएको एउटा निशान भ्यान छ । तर उनी यतिखेर महिन्द्राको बोलोरो चढेर हिड्छन् । निधिसँग विभिन्न कम्पनीको २ हजार १ सय ६० कित्ता साधारण शेयर छ ।

कति छ महत्तोको सम्पत्ति
पछिल्लो पटक महत्तो सार्वजनिक पदमा छैनन् । डा बाबुराम भट्टराई नेतृत्वको सरकारको समयमा उनी स्वास्थ्य मन्त्री भएका थिए । त्यसअघि उनको जिम्मा नै जस्तै भएको थियो वाणिज्य तथा आपूर्ति मन्त्रालय । राजनीतिक जीवनमा उनी ११ पटक मन्त्री भएको देखिन्छ ।

संविधानसभाको दोस्रो निर्वाचनमा सहकर्मी मानिएका महेन्द्रराय यादवसँग पराजित भएका महत्तो पछिल्ला चार वर्ष कुनै पनि सार्वजनिक पदमा नभएका कारण उनको सम्पत्ति यति नै होला भनेर भन्न सकिने अवस्था भने छैन । तर, उनले तत्कालीन समयमा पेस गरेको विवरणका आधारमा भन्दा उनी पनि तराईका एक जमिन्दार नै हुन् ।

सर्लाहीमा उनको करिब ४० बिगाहा जग्गा छ । उनले सो जग्गालाई आफ्नो पैत्रिक सम्पत्तिको रुपमा उल्लेख गर्ने गरेका छन् ।

काठमाडौँको सिनामंगलमा उनको तीन तले घर छ । त्यो घर उनले श्रीमतीको नाममा रहेको बताउने गरेका छन् । करिब ६५ तोला सुन र करिब २०० तोलाभन्दा बढी चाँदीका धनी महत्तोको बैंक तथा वित्तीय संस्थामा भने रकम देखिदैन ।

‘पछिल्लो पटक म मन्त्री पनि भएको छैन, सांसद पनि होइन, कसरी आउँछ मलाई पैसा’ उनी भन्ने गर्छन् ।

पछिल्लो पटक धनुषा क्षेत्र नं ३ नै रोज्नुको पछाडि आफू मधेशवादको पक्षमा रहेको उनको धारणा छ । निधि र महत्तो एकै स्थानबाट निर्वाचनमा नलड्ने भन्दै तालमेलको प्रयास पनि भएको थियो । तर, तामेलको विषयमा कुरा नमिलेपछि दुवै नेता एकै स्थानबाट भिड्न तयार भएका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सर्लाहीका हुन् । तर, यो पटक उनले धनुषामा निधिसँगको चुनावी प्रतिस्पर्धा गर्न खोजेका छन् ।

काँग्रेस नेता निधिले कांग्रेस र राजपाबीच तालमेलको प्रयास पनि नगरेका होइनन् । तर, सर्लाही ४ मा अमरेशकुमार सिंहले नछाडेपछि महतोले निधिसँग नै प्रतिस्पर्धा गर्न खोजे । महतोले यो चुनावलाई ‘मिनी जनमतसंग्रह’ को संज्ञा पनि दिने गरेका छन् ।

महतोले सहिद दुर्गानन्द झाको गाउँबाट चुनावी अभियान सुरु गरेका छन् । धनुषा ३ मा जनकपुर उपमहानगरको १ देखि १६ र २०, २३ देखि २५ वडा पर्छ । यस्तै नगराइन नगरपालिकाका साथै धनौजी र मुखियापट्टी मुसहरमिया गाउँपालिका र विदेह नगरपालिकाको वडा नम्बर ९ समेत उक्त निर्वाचन क्षेत्रमा पर्छ ।

स्थानीय चुनावमा नगराइन र धनौजी र मुखियापट्टी कांग्रेसले जितेको थियो भने जनकपुर उपमहानरमा राजपा १० हजार मतान्तरले विजयी भएको थियो । तर, यो क्षेत्रमा पर्ने स्थानीय तहहरुका वडाध्यक्षको मत विश्लेषण गर्दा कांग्रेसको १८ हजार १३१ र राजपा र फोरम गठबन्धनको १७ हजार २८० मत छ ।

सम्पत्तिको तुलना गर्दा दुबै नेताको आर्थिक हैसियत उस्तै देखिन्छ । तराइ मधेशमा भने महतोसँग बढी जमिन देखिएको छ । काठमाडौं उपत्यकामा जग्गाको सबालमा निधिले महतोलाई जितेका छन् ।


क्लिकमान्डु