जब साधारणसभामै ‘स्वीफ्ट ह्याकिङ’ प्रवेश गर्यो



काठमाडौं । राष्ट्रिय सभागृहमा मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकको ३१औं साधारणसभा थियो । अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, सेयरधनी र कर्मचारीहरुको बाक्लो उपस्थितिले खचाखच थियो ।

अध्यक्ष पृथ्वीबहादुर पाँडेले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । तर, अध्यक्षको प्रतिवेदनमा भन्दा अर्कै विषय बढी बहसमा आयो । त्यो हो- केही दिनअघि मात्रै एनआइसी एशिया बैंकमा भएको स्वीफ्ट ह्याकिङ काण्ड ।

सभामा सेयरधनीको तर्फबाट बोल्ने धेरैले एनआइसी एशियामा भएको ह्याकिङबाट पाठ सिक्दै ह्याकरबाट जोगिन सञ्चालक समिति र व्यवस्थापनलाई सुझाब दिए ।

‘ह्याकरहरुले इन्भेष्टमेन्ट बैंकको पैसा चोरेर विदेशमा पठाउने अवस्था नआओस्, यसका लागि सेक्युरिटीमा एकदमै ध्यान दिनुपर्यो,’ एक सेयरधनीले सुझाब दिए ।

अर्का सेयरधनीले भने,- ‘कतिपय अवस्थामा मोवाइल ह्याक गरेर लाखौं/करोडौं रुपैयाँ जितेको गलत म्यासेज लिएर ठग्न खोजिएको हुन्छ, यदि लोभमा परेर ह्याकरले भनेजस्तै गरियो भने डुबिन्छ । इन्भेष्टमेन्ट बैंक ह्याकरले दिने क्षणिक लाभको प्रलोभनमा नफसोस् ।’

साधारणसभामा करिब डेढ दर्जनले बोलेका थिए । जसमध्ये एक दर्जनजति सेयरधनीले ह्याहरबाट जोगिन बैंकले सूचना प्रविधिलाई मजबुत बनाउन ठूलो लगानी गर्नुपर्ने धारणा व्यक्त गरे ।

खासगरी बैंकहरुले सूचना प्रविधि र यसबाट उत्पन्न हुने जोखिनम नियन्त्रणमा लगानी गर्न कन्जुस्याईं गर्ने गरेकाले ह्याकरलाई सजिलो भएको उनीहरुको भनाई थियो ।

के भने पृथ्बीबहादुर पाँडेले ?

सेयरधनीले ह्याकिङको कुरा उठाएपछि बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले ह्याकिङ धेरै नै गंभीर चुनौति भएको बताए ।

‘हामीभन्दा ह्याकरहरु धेरै बाठा हुन्छन्, धेरै कदम अगाडि हुन्छन्, अमेरिकाजस्तो मुलुकमा समेत १२ वर्षको केटोले पेन्टागनको सिस्टम ह्याक गरेको थियो,’ पाँडेले भने, ‘नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार सुरक्षित बनाउन हामी लागि परेका छौं ।’

अहिले एनआइसी एशिया बैंकमा भएजस्तो ह्याक भोलि इन्भेष्टमेन्ट बैंकमा पनि हुनसक्ने भन्दै उनले सबैलाई चनाखो रहन आग्रह गरे ।

‘हामीले सूचना प्रविधिलाई बजबुत बनाउनका लागि लगानी गर्न कुनै कन्जुस्याईं गरेका छैनौं, स्वीफ्टको मापदण्ड र सिस्टम हुबहु फलो गरिरहेका छौं,’ पाँडेले थपे, ‘हामी सेक्युरिटीमा जति खर्च गर्न तयार छौं, हाम्रो उद्देश्य भनेको बैंकिङ कारोबार सुरक्षित होस् भन्ने हो ।’


पुष्प दुलाल