यी अर्बपतिले देउसे-भैलेलाई कति दक्षिणा दिन्छन् ?



काठमाडौं । तिहार बत्ति र फुलको झिलिमिलिसँगै देउसी-भैलो खेलेर मनाउने चाड हो । देउसे-भैलेको उद्देश्य हो, मनोरञ्जनसहितको आम्दानी ।

त्यसैले उद्योगी/व्यवसायीहरुलाई चिठ्ठी नै काटेर विभिन्न संघ संस्था, क्लब, राजनीतिक दलका भातृ तथा शुभेच्छुक संगठनहरु जाने प्रवृत्ति पछिल्ला वर्षहरुमा बढ्दो छ ।

अर्बौंका मालिकहरुकहाँ देउसी खेल्न जाँदा मोटो रकम पाइने आशामा यस्ता समुहहरु तिहार लाग्ने वित्तिकै चिठ्ठी काट्न हतारिन्छन् ।

नेपालका धनाड्य व्यवसायीहरुले यसरी देउसी-भैलो खेल्न आउनेहरुलाई कति दान देलान् त ? हामीले केही ठूलो व्यावसायीहरुलाई सोधेका थियौं ।

बच्चाहरुलाई विषेश प्राथमिकता दिन्छु

सुरज बैद्य
अध्यक्ष, सार्क चेम्बर अफ कमर्श

मेरोमा देउसी-भैलो खेल्न धेरै जना आउँछन् । तर म ठूलालाई भन्दा बच्चालाई प्राथमिकता दिन्छु । जति साना बच्चा आए त्यति खुसी हुन्छ । ५/६ वर्षका बच्चाहरु आए भने म उनीहरुसँगै देउसी-भैलो खेलेर रमाइलो पनि गर्छु । उनीहरुलाई ३-४ सय रुपैयाँका दरले पैसा दिएर पठाउने गरेको छ । त्योभन्दा अलि ठूला अर्थात् १०-१२ वर्षका बच्चाहरु आए भने १०-१२ सय रुपैयाँ दिने गरेको छु ।

तर, पछिल्ला वर्षहरुमा देउसी भैलो विकृतिको रुपमा विकसित हुँदैछ । यसलाई चाडको रुपमा नमनाएर कतिपयले चन्दा उठाउने अवसरका रुपमा पनि देउसी भैलो खेल्न थालेका छन् । यद्यपि यो हाम्रो चाड हो । म पनि बच्चामा देउसी भैलो खेल्न जान्थेँ । कति दान पाइयो भन्ने चाहीँ यादै भएन ।

आज म देशबाहिर जाँदैछु । त्यसैले कर्पोरेट क्षेत्रमा पनि देउसी भैलो हुने हुँदा टोयटाको मूख्य कार्यालयमा देउसी खेल्न आउनेका लागि आवश्यक व्यवस्था मिलाएको छ ।

दान दिने काम बिनोद बाबुको हो

सारिका चौधरी
चौधरी समुह

तिहारमा देउसी-भैलो खेल्न आउने नेपालीहरुको संस्कार नै हो । हाम्रोमा २५-३० समुहजति आउलान् । तर, सबैलाई अपिसले नै चेक काटेर दिन्छ । त्यो कामको व्यवस्थापन बिनोद बाबुले नै मिलाउनु हुने भएकाले कति दान दिन्छौं भन्ने कुरा मलाई यकिन छैन । त्यही १०/१२ हजार रुपैयाँसम्म दिइन्छ होला । म त देउसी-भैलो खेल्न आउन फलफुल र मिठाइ खुवाएर पठाउँछु ।

टिम अनुसारको दान दिन्छु

भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

तिहार मनाउनका लागि म नेपालगञ्जको घरमा गएकी छु । घर र होटल सँगै छ । यहाँ देउसे-भैलेको ४०/५० समुह आउँछन् । यतातिर केटाकेटी दुबैले देउसी–भैलो खेल्छन् । राजनीतिक दलका भातृ तथा सुभेच्छुक संगठन, सामाजिक संघ/संस्था, टोलका क्लब र ससाना बच्चाहरुको समुह देउसी भैलो खेल्न आउँछन् । उनीहरुको टिम अनुसारको दान दिने गरेकी छु । बढीमा १५ हजार रुपैयाँसम्म दिने गरेका छौं ।

बच्चाहरुलाई १-२ सय दिन्छु

पशुपति मुरारका
पुर्वध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

पहिले पहिले त धेरै टोली देउसी भैलो खेल्न आउँथे । अचेल धेरै कम आउँछन् । तर, अचेल आउनेहरु अधिकांस पहिले नै चिठ्ठी काटेर आउँछन् । पहिले रमाइलो गर्न आउँथे, अचेल देउसी भैलो पनि व्यावसायिक भएको छ । पैसा उठाउने उद्देश्यले आएका हुन्छन् । त्यसैले हाम्रो खर्च पनि बढेको छ । देउसे-भैलेको टोली र अबस्था हेरेर दान दिने गरेको छु । राजनीतिक दलका भातृ संगठन, शुभेच्छुक संगठन र संससंस्थाहरु आउँदा अलि बढी दान दिनुपर्छ । टोलका बच्चाहरु आउँदा त १/२ सय रुपैयाँ दिँदा भैहाल्छ ।

देउसे-भैलेका लागि ठूलै रकम खर्च हुन्छ

शेखर गोल्छा

बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

देउसी-भैलो खेल्ने चलनप्रति मेरो फरक धारणा छ । यो नेपालीहरुको सबैभन्दा युनिक कल्चर हो । तर, अहिले पैसा उठाउने मेलो बनाउन थालिएको छ । यसले हाम्रो कल्चरलाई विकृत बनाउँदै लगेको आभाष हुन्छ । यस्तो प्रवृत्तिलाई सुधार गर्नुपर्ने समेत देखिएको छ ।

साथीभाई, बालबच्चाले संस्कार जोगाउन खलिने लेउसी÷भैलो अहिले राजनीतिक दल, सामाजिक संघ-संस्थाहरुले चिठ्ठी काटेरै जानकारी दिन्छन् । र, आउँछन् । उनीहरुलाई सहयोग त गर्नै पर्यो । दान दिएको कुरा यति नै रकम दिएँ भनेर त कसरी भन्नु ? जे होस् देउसे भैलेका लागि मोटो रकम खर्च हुन्छ । खासगरी अपिसमै धेरै समुहहरु देउसी खेल्न आउँछन् । उनीहरुलाई अपिसबाटै चेक काटेर दान दिने गरेको छु । त्यो खर्च पनि अपिसकै हो ।

बुबाले दिनुहुन्छ, मलाई त थाहै छैन

अञ्जन श्रेष्ठ
व्यवसायी

पहिले पहिले त धेरै समुह आउँथे । अचेल खासै आउँदैनन् । यद्यपि २/४ टोली त आउने नै भए । उनीहरुको टिम र अवस्था हेरेर दान दिइन्छ । मेरो त सँधै बुबाले दान दिने भएकाले मलाई यकिन थाहा छैन । बच्चामा देउसी भैलोमा नजाने कुरै भएन । यो हाम्रो संस्कृति हो यसलाई जोगाइराख्ने चुनौति आएको छ । दिपावली भनेको कलरको चार्ड हो । साथै यो चार्ड मिठासको चाड पनि भएकाले सबैमा खुसि कसरी बाँड्न सकिन्छ भनेर मनाउँनु पर्छ ।

१०-१५ हजारसम्म दिन्छु

प्रबलजंग पाण्डे
व्यवसायी

मेरोमा कम्तिमा पनि १५/२० टोली देउसी-भैलो खेल्न आउँछन् । प्राय सबैले चिठ्ठी काटेर जानकारी दिएर आएका हुन्छन् । उनीहरुको टोली र अवस्था हेरेर दान दिने गरेको छु । अहिलेसम्म सबैभन्दा बढी १५ हजार रुपैयाँ दिएको हुँला । पछिल्लो समय युवाहरु क्रिसमस र न्युयर मनाउन लालहीत भएका छन् तर हाम्रो देउसी भैलोमा चासो छैन । यसले कताकता हाम्रो संस्कृती लोपहुने हो की भन्ने डर लाग्छ । म आफुपनि सानो छँदा देउसी भैलोमा जाने गरेको थिए ।


क्लिकमान्डु