भारती एयरटेलसँग मर्ज भयो टाटा समूहको टाटा टेलीसर्भिसेज



काठमाडौं । भारतीय टाटा समूहको टेलीकम सेग्मेन्ट टाटा टेलीसर्भिसेज बन्द भएको छ । कम्पनीले यसअघि नै भारतीय सरकारलाई जानकारी दिँदै आफ्नो सेवा बन्द गर्ने बताएको थियो । हाल आएर कम्पनीले भारती एयरटेलका साथ मर्ज गरेको छ ।

कुनै समय टाटा डोकोमोको नाममा चर्चित कम्पनी टाटा टेलीसर्भिसेजले ४ करोड भन्दा बढि भारतीयहरुलाई आफ्नो सेवा प्रदान गरिरहेको छ । एयरटेलसँगको मर्जपछि ती ग्राहकहरुलाई टाटा डोकोमोबाट एयरटेलमा स्वीच गरिनेछ ।

टाटाको टेलीकम सेवा निकै लामो समयदेखि घाटामा संचालन भईरहेको थियो । सो यूनिटलाई बिक्री गर्न असफल भएका चेयरम्यान एन. चन्द्रशेखरनले यो कारोबारलाई कुनै न कुनै रुपमा समेटने योजना गरिरहेका थिए । टाटा समूहले टाटा टेलीसर्भिसेज सन् १९९९ मा ल्याण्ड लाइन अपरेशनका साथ स्थापना गरेको थियो । यसले भारतमा सन् २००२ मा सीडीएमए सेवा शुरु गरेको थियो । रिपोर्टहरुकाअनुसार टाटा टेलीसर्भिसेजमा ग्रुपको ३४ हजार करोड भारु को ऋण छ ।

भारतीय इतिहासमा टाटा टेलीसर्भिसेज नै यस्तो कम्पनी हो जो १४९ वर्षको इतिहासमा पहिलो पटक बन्द भएको छ । टाटा टेलीसर्भिसेज र भारती एयरटेलले करारअन्तर्गत एयरटेलले टाटा टेलीसर्भिसेजको बिजनेस अपरेशनलाई अधिग्रहण गर्नेछ । टाटा ग्रुपको टेलीकम बिजनेस १९ वटा सर्कलमा रहेको र यो अब सबै एयरटेलले लिने बताईएको छ ।

कम्पनीकाअनुसार यो अधिग्रहणलाई नियमनकारी निकायहरुमा सहमतिका लागि पठाईएको छ र त्यसपछि लागू हुनेछ । अधिग्रहणपछि टाटा टेलीसर्भिसेजको सबै सम्पत्ति र ग्राहकहरु एयरटेलको हुनेछ । यसका साथै एयरटेलले टाटा टेलीसर्भिसेजले लिईरहेको स्पेक्ट्रमको पनि फाईदा पाउनेछ । मर्जपछि एयरटेलसँग १७८.५ मेगाहर्जको स्पेक्ट्रम हुनेछ ।

सो करारअनुसार भारती एयरटेलले टाटाको १० हजार करोड रुपैयाँको स्पेक्ट्रममा पनि शेयर हुनेछ । हाल टाटा टेलीसर्भिसेजसँग १९ सर्कल्समा थ्रीजी र फोरजीको लागि स्पेक्ट्रम छ ।

रिपोर्टहरुकाअनुसार यो मर्जर क्यासलेस तथा ऋण रहित शर्तमा आधारित हुनेछ । तरपनि एयरटेलले स्पेक्ट्रमको लागि सरकारलाई राजस्व तिर्नुपर्ने हुन्छ ।

करारअनुसार भारती एयरटेलले टाटाका ग्राहकहरुलाई उत्कृष्ट गुणस्तरको सेवा दिनुपर्नेछ । यसका अतिरिक्त उनीहरुलाई अतिरिक्त सेवा मिल्नेछ जसमा भ्वाइस र डाटा दिईनेछ । भारती एयरटेलका चेयरम्यान सुनील मित्तलले यो डिल फाइनल भएपछि ग्राहकहरु र नेटवर्क दुबै तर्फबाट बिना रोकतोक मर्जर हुने र केहि मुख्य सर्कलहरुमा सेवा ससक्त बनाउन थप काम गरिने उल्लेख गरेका छन् ।

टाटा टेलीसर्भिसेजको जापानी साझेदार डोकोमोले आफ्नो लगानी फिर्ता गरेपछि त्यसको विकल्पहरुको बारेमा कम्पनीले सोचिरहेको थियो । डोकोमोको टाटा टेलीसर्भिसेजमा २६ प्रतिशत हिस्सा थियो ।

भारतीय टेलीकम क्षेत्रमा रिलायन्स जियोको प्रवेशपछि भारतीय टेलीकम कम्पनीहरुले आफ्नो बजार हिस्सा कायमै राख्नका लागि विभिन्न विकल्पहरुमा ध्यान दिईरहेका छन भने केहि कम्पनीहरु मर्जरमा गईसकेका छन् । एजेन्सीको सहयोगमा


क्लिकमान्डु