पारित भयो दूरसञ्चार नियमावली, ७५% सरकारी स्वामित्व भएको सेवा प्रदायकले अनुमति पाउने



काठमाडौं । नेपालमा दूरसंचार पूर्वाधार विकास गर्ने उद्धेश्यका साथ ल्याउन लागिएको दूरसंचार पूर्वाधार नियमावली मन्त्रिपरिषदबाट पारित भएको छ । सो नियमावलीमा केहि मुख्य संसोधन सहित पारित भएको हो ।

दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली मन्त्रिपरिषदबाट पारित भएर हाल राजपत्रमा प्रकाशित हुने प्रकृयामा रहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव राजीव गौतमले केहि समयअघि नै सो नियमावली पारित भईसकेको बताए ।

‘नियमावली त्यसैबेला सचिवहरुबीच छलफल भएर केहि संसोधनसहित पारित भएको हो, हामीले त्यसलाई एक साता अघि संचार मन्त्रालयमा पठाईसकेका छौं,’ सचिव गौतमले क्लिकमाण्डूसँग भने ।

संसोधित नियमावलीमा नेपाली सरकारी कम्पनीले पनि दूरसंचार पूर्वाधार बनाउन सक्ने प्रावधानलाई थप गरिएको छ । त्यसैगरि दूरसंचार पूर्वाधार विकास गर्नका लागि २ वटा कम्पनीलाई मात्र अनुमति दिईने उल्लेख भएको कानून मन्त्रालय स्रोतले जानकारी दियो ।

‘७५ प्रतिशत सरकारी स्वामित्व भएको सेवा प्रदायकले कुनैपनि बेला अनुमति पत्रका लागि निवेदन दिन सक्ने प्रावधान थप गरिएको छ, यसले स्वदेशी कम्पनीले पनि बनाउन सक्ने बाटो खोलेको छ,’ स्रोतले भन्यो ।

यो संसोधन प्रावधानपछि अब नेपाल टेलिकमले पनि सरकारी कम्पनीको रुपमा दूरसंचार पूर्वाधार विकास गर्न सक्ने बाटो खुला गरेको छ ।

यसअघि सो नियमावलीको मस्यौदामा नेपाली कम्पनीहरु सहभागी हुन नसक्ने गरि न्यूनतम मापदण्डका प्रावधानहरु राखिएको थियो ।

त्यसैगरि नयाँ संसोधित नियमावलीअनुसार अधिकतम २ वटा कम्पनीहरुलाई मात्र दूरसंचार पूर्वाधार विकासको लागि अनुमति दिने उल्लेख गरिएको स्रोतको भनाई छ ।

‘पहिलो चरणमा २ वटा कम्पनीलाई मात्र अनुमति पत्र दिने र त्यस्तो अनुमति ५ वर्षसम्म एक्सक्लूसिभ हुनेछ,’ स्रोतले बतायो ।

यसअघि कति वटा कम्पनीलाई अनुमति दिने भन्ने नियमावलीमा उल्लेख थिएन तर नेपाल दूरसंचार प्राधिकरणले भने प्रतिस्पर्धाको लागि २ वटा कम्पनीलाई दिनुपर्छ भनेर सुझाव पेश गरेको थियो ।

हाल कानून मन्त्रालयमा रहेको सो नियमावली दशैं लगत्तै राजपत्रमा प्रकाशित हुने बताईएको छ । राजपत्रमा प्रकाशित भएपछि त्यसैको आधारमा प्राधिकरणले दूरसंचार पुर्वाधार विकास गर्नका लागि सार्वजनिक सूचनामार्फत कम्पनीहरुलाई आव्हान गर्नेछ ।


पुष्प दुलाल