यस्तो छ घर जाने टिकट लिन बसपार्क पुगेकाहरुको हालत




काठमाडौं । दशैँमा घर जानेहरुको लर्को बढेसँगै बसपार्कहरुमा दशैँकै मौका छोपेर यात्रुहरुलाई ढग्नेहरुको पनि कुनै कमी छैन ।

यातायात ब्यवस्था विभागले तोकेको भाडा दरभन्दा बढी भाडा लिए कारवाही गरिने भन्ने कुरा मजाक मात्र बनेको बसपार्कहरु पुगेपछि थाहा हुन्छ ।

नयाँ बसपार्कबाट दशैँको लागि घर जान बसेका महेश तामाङले तोकिएको भन्दा बढी भाडा तिर्नुपरेको बताए । उनले विर्तामोड जानको लागि बसको टिकट काट्दा बढी पैसा तिर्नु परेको बताए ।

‘पहिला घर जान १ हजार २ सय बसभाडा तिर्नु पर्थ्यो अहिले १ हजार ५ सय रुपैयाँ तिरेर जानु परेको छ, पैसा बढी तिरेरै भएपनि दशैंमा त घर जानै पर्यो,’ तामाङले भने ।

यस्तै बर्दियाबास जान लागेका एक यात्रुले नाम नबताउने सर्तमा बर्दियाबासको भाडा दर पहिले १ हजार ५० रुपैयाँ तिर्ने गरेकोमा अहिले १ हजार १ सय २५ रुपैयाँ तिर्नु परिरहेको बताए ।

अर्घखाँची जाने टिकट लिएकी ठाकुरा परियारको भनाइ छुट्टै छ । उनले दशैंको बेलामा गाडी भाडा फरक नभएको बताइन् । इलाम जान लागेकी सर्मिला कटुवालले पनि दशैंमा बढी भाडा तिर्नु नपरेको सुनाइन् ।

बर्दिया जान लागेकी सुनिता परियारको भनाइ फरक छ । उनी सिटको टिकट नपाए पनि १ हजार ३ सय रुपैयाँ तिरेर ‘मुडा’को टिकटमा घर जादै रहिछिन् ।

उदयरपूराको गाइघाट जान लागेकी कुमारी नेपालले भने बढी पैसा तिर्नु परेको सुनाइन् । ‘अरु बेलामा ७ सय रुपैयाँ गाडी भाडा लाग्थ्यो, अहिले हजार रुपैयाँ तिरेकी छु,’ नेपालले भनिन् ।

कोहलपुरको नम्की जान लागेकी हेमा जोशी भने दशैंको बेलामा बढी पैसा तिर्न बानी परेकी रहिछन् । अरु बेलामा १३४१ रुपैयाँ भाडा लाग्ने यात्राको लागि दशैंको बेलामा उनले १५ सय रुपैयाँ तिरेको रहेछ ।

‘दशैंको बेला सधै यस्तै हो, अरु बेलाको भन्दा बढी पैसा लिन्छन्, जसरी भएपनि घर जानै पर्यो, टिकट पाएकोमा म खुशी छु,’ उनले भनिन् ।

सरकार र यातायात ब्यवसायीको संयुक्त पहलमा धेरै ठाउमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बालाजुको नयाँ बसपार्कमा पनि यस्तै सहायता कक्ष छ ।

सहायता कक्षमा खटिएकी प्रहरी साहायक निरिक्षक लिला भट्टराई आफूहरुले सकेसम्म सहयोग गरेको बताउछिन् । बढी भाडा तिर्नु परेको बारेमा उनको भनाइ फरक छ ।

सरकारले नै एसीयुक्त बसको भाडा सामान्य गाडीको भन्दा ४० प्रतिशत र डिलक्स बसको भाडा सामान्य गाडीको भन्दा २० प्रतिशत बढी तोकेको छ । डिलक्स वा एसीवाला बसको टिकट काट्ने र फलानो गाडीले बढी भाडा लियो भन्दै उजुरी गर्न आउनेको संख्या पनि धेरै भएको उनले बताइन् ।

‘यात्रुहरु नबुझी जान्छन्, एसी र डिलक्समा टिकट काट्छन्, अनि बढी भाडा लियो भनेर गुनासो गर्छन्, चेतनाको कमीले पनि धेरै यात्रु अलमलमा परे जस्तो देखियो,’ भट्टराईले भनिन् ।

यस्तै चाबहिलमा टिकट काट्न आएका रोशन खड्का असोज ९ गतेको समेत टिकट नपाएर चिन्तित छन् । उनलाई पैसाभन्दा पनि टिकट पाए हुन्थ्यो भन्ने लागेको छ ।

‘बर्ष दिनमा आउने चाड मान्न घर जान पाए हुन्थ्यो, टिकट नपाएर हैरान भएको छु, २÷४ सय रुपैयाँ बढी लिएर भएपनि मलाई टिकट दिए हुन्थ्यो,अहिल उनी भन्छन् ।

अहिले खोटाङ जानलाई समेत पहिला ओखलढुङ्गा गएर फेरि अर्को गाढी फेर्नु पर्ने समस्या भएको खोटाङकी सुमीला राईको भनाइ छ ।

चाबहिलको सहयोग कक्षमा बसेका प्रहरी जवान हरिकृष्ण कार्की धेरै गुनासो नआएको बताउँछन् ।

‘यहाँ खासै समस्या केही आएको छैन, आफूले टिकट लिएको गाडी फेला नपरेको गुनासो धेरै छ,’ कार्कीले भने ।

यस्तै आफ्नो भाउजुलाई घर पठाउनको लागि टिकट काट्न आएका गुन्जेश्वर यादव सिट नपाउने भएकाले जति मुल्य परे पनि टिकट काट्नु पर्ने समस्या भएको गुनासो गर्छन् । उनले सप्तरी जानको लागि पहिला ८ सय ५० रुपैयाँ तिर्दै आएकोमा अहिले ९ सय ५० रुपैयाँ तिर्नु परेको गुनासो पोखे । यादव चाडवाडमा १÷२ सय रुपैयाँ बढी लिनु सामान्य भएको बताए ।

यस्तै गौशलाबाट जनकपुर जान लागेका सर्फिक अन्सारी र चन्दन शर्माको गुनासो भने फरक छ । उनीहरु जनकपुर जाने गाढी भाडामा कुनै फरक नभएको र पहिला पनि ७ सय र अहिले पनि ७ सय रुपैयाँ नै भाडा तिरेको बताउछन् ।

उता विराटनगर जानको लागि १० गतेको टिकट खोज्दै गौशला पुगेकी आश्मा खड्का भने टिकट नपाएर टिकट काउन्टर भौतारी रहेकी भेटिइन् । उनी विराटनगर जाने टिकटको मूल्य जति परे पनि तिर्न तयार रहेको बताउछिन् ।


क्लिकमान्डु