बन्ने भयो ८२ किमी लामो नेपाल-चीन क्रस बोर्डर ट्रान्समिसन लाइन



काठमाडौं । नेपाल र चीनबीच भएको ऊर्जा आदानप्रदान तथा सहयोग सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको केही दिनपछि नेपालका लागि अर्को खुसीको खबर आएको छ ।

त्यो खुसीको खबर भनेको चीनसँग पनि ठूलो क्षमताको अन्तरदेशिय प्रसारण लाइन निर्माण गर्ने प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।

रसुवा-केरुङ-गल्छी ५०० केभी क्षमताको अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि प्रक्रिया सुरु भएको छ । प्रसारण लाइन निर्माणका विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिनियाँ अधिकारीबीच केही दिनपहिले केरुङमा छलफल भएको थियो ।

यसअघि नेपालले डबल सर्किट ४०० केभी क्षमताको अन्तरदेशिय प्रसारण लाइन निर्माणको प्रस्ताव पेश गरेको थियो । उच्च चिनियाँ अधिकारीसँग सो बारेमा छलफल समेत भएको थियो ।

चीनले डिसी प्रणालीमा ५०० केभी क्षमताको प्रसारण लाइन निर्माणको प्रस्ताव राखेको छ । र, सो सम्बन्धमा छलफल भएको प्राधिकरणले जनाएको छ ।

यसअघि रसुवागढी केरुङबीचमा मात्रै प्रसारण लाइन निर्माणको विषयमा छलफल भएको भएपनि नयाँ प्रस्तावअनुसार उक्त प्रसारण लाइन धादिङको गल्छीसम्म विस्तार गरिनेछ ।

केरुङदेखि गल्छीसम्म करिब ८२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने योजना रहेको छ । त्यसका लागि करिब १० करोड अमेरिकी डलर खर्च हुने प्राम्भिक अनुमान छ । त्यो भनेको नेपाली मुद्रामा १० अर्ब बराबर हुनेछ । प्राधिकरणले यसअघि नै सो प्रसारण लाइनको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ ।

अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्याजेन्ज कर्पोरेशन (एमसिसि) कार्यक्रम अन्तगर्त केही दिन पहिले भएको ५० अर्बको सम्झौतामा समेत प्रसारण लाइन निर्माणमा विशेष सहयोग रहने उल्लेख गरिएको छ ।

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले केही समय पहिले गरेको चीन भ्रमणको क्रममा नदी बेसिनको अध्ययन तथा प्रसारण लाइन निर्माणका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारतसँग मात्रै जोडिएको विद्युत् प्रसारण लाइनलाई चीनसँग पनि जोड्ने लक्ष्यका साथ महत्वपूर्ण छलफल र प्रक्रिया अगाडि बढेको छ, ऊर्जा मन्त्रालयका एक अधिकारीले भने- यो नेपालको हितका लागि उपयुक्त विधि र माध्यम हो ।

नेपाल र चीनबीच रसुवा-केरुङ, तातोपानी-खासा, कोराला तथा अन्य सम्भाव्य क्षेत्रबाट अन्तरदेशिय प्रसारण लाइन निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको छ । मुस्ताङ-कोरला अर्को महत्वपूर्ण र सहज नाकाको रुमपा लिइन्छ ।

तत्कालीन प्रधानमन्त्रीद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण गर्दा अन्तरदेशिय प्रसारण लाइन निर्माणको विषयमा चिनियाँ उच्च अधिकारीसँग छलफल भएको थियो ।

किमाथांका अरुण र प्रसारण लाइन निर्माणका विषयमा छलफल केन्द्रित भएपनि प्रक्रिया भने अगाडि बढ्न नसकेको अवस्थामा चिनियाँ पक्षबाट नै ५०० केभी डिसी अन्तरदेशिय प्रसारण लाइन निर्माणको प्रस्ताव आएको छ ।

यसले दक्षिणतर्फबाट बहँदै आएको विद्युत् उत्तरबाट पनि बहने स्थिती पैदा भएको छ । त्यसो त त्रिदेशिय साझेदारीको रुपमा अन्तरदेशिय प्रसारण लाइन निर्माण र विस्तारमा जोड दिनुपर्ने आवाज पनि बेला बेलामा उठ्दै आएको छ ।

रसुवागढी-केरुङ मार्गलाई चीन सरकारले ओबिओर परियोजनामा राखेको र सो सम्बन्धी प्रक्रिया पनि अगाडि बढीसकेको सन्दर्भमा अन्तरदेशिय प्रसारण लाइनलाई पनि सोही अवधारणामा राखेर निर्माण सुरु गर्दा थप सकारात्म्क पहल हुन सक्ने सम्वद्ध पक्षको बुझाइ छ ।


पुष्प दुलाल