ठ्याक्कै एक वर्षअघि भएको एउटा उज्यालो काम



काठमाडौं । राजधानी शहर मात्रै होइन, मुलुक नै लोडसेडिङले आक्रान्त थियो । मानिसहरु मैनबत्तीको खोजीमा भौतारिरहेका थिए ।

उद्योग व्यावसाय चौपट थियो । जनतामा राज्यप्रति विश्वास थिएन । जलस्रोतको धनी मुलुकको रुपमा नेपालको नाम कहलिए पनि अन्धकारले राज गरेको थियो । आम सर्बसाधारणदेखि नीति निर्मातासम्म राजनीतिक नेतृत्वलाई गाली गरेर बसेका थिए ।

दैनिक १८ घन्टासम्मको लोडसेडिङले पारेको सामाजिक, आर्थिक र मनोवैज्ञानिक प्रभावको हिसाब गरिसाध्ये थिएन । कुनै एउटा जादुको छडी चल्ला र राजधानी लगायत मुलुक उज्यालो होला भन्ने आशामा थिए मानिसहरु ।

सिंहदरबारले जनताका लागि भनेर धेरै प्रकारको घोषणा गर्दै आएको थियो । कसैले एक वर्षमा लोडसेडिङको अन्त्य त कसैले दुई वर्षमा उज्यालो नेपालको नारा लगाएका थिए ।

तर, नागरिकले त्यसलाई पत्याएका थिएनन् । सामाजिक सञ्जालमा सिंहदरबारको घोषणालाई उडाइएको मात्रै थिएन, मजाकको विषय पनि बनाइने गरिन्थ्यो ।

समय बदलियो, मानिसका चाहनामा कसैले पनि न्याय गर्न सकेनन् ।

एक बर्षअघिको आजैको दिन हो, प्राधिकरणको नेतृत्व सम्हाल्न तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले असक्षमको बिल्ला भिराएका कुलमान घिसिङ आइपुगे । कुलमान धेरैले चिनेका पनि थिएनन् । तर, उनको काम हेरेकालाई भने उनको काम र नाम दुवै थाहा थियो ।

तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मालाई पनि कुलमानलाई प्राधिकरणमा ल्याउन ठूलै पापड पेल्नु परेको थियो । प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा कार्यरत मुकेशराज काफ्ले जब्बर मात्रै थिएनन्, राम्रै खेलाडीसमेत थिए ।

काफ्लेलाई हटाउन तत्कालीन ऊर्जा मन्त्री शर्माले नेपाली काँग्रेसका सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग राम्रै वार्ता गर्नुपरेको थियो । तत्कालीन ऊर्जा मन्त्री शर्माले पत्रकारलाई सुनाएका थिए, ‘उता कुरा नगरेको भए कुलमानलाई एमडी बनाउन सकिने थिएन ।’

प्राधिकरणमा को नियुक्त हुन्, कसले छाडुन् मतलब थिएन जनतालाई । किनकि साँझ परेपछि मैनबत्ती र उज्यालोको विकल्पको खोजीमा दौडनु छदैथियो । यसैकारण आम मानिसले सहज रुपमा लिएनन् र सामान्य नियुक्ती जस्तै उनको नियुक्तीलाई पनि लिए ।

मुकेशराज काफ्लेले भदौ २४ गते राजीनामा दिएपछि ऊर्जा मन्त्रालयले सहसचिव दिनेश घिमिरेको संयोजकत्वमा एमडी छनौट समिति बनाएको थियो । सोही समितिको सिफारिशमा कुलमान एमडीमा नियुक्त भएका थिए ।

अप्ठ्यारै अप्ठेयारोकोबीचमा एमडी त नियुक्त भए कुलमान, तर प्राधिकरणका उनी ११ औं तहका मात्रै थिए । प्राधिकरणका कर्मचारी सोपानमा उनी कनिस्ट त छदै थिए, त्यसमाथि प्राधिकरणलाई लामै समयदेखि चलाएका वरिष्ठहरु उनलाई स्वीकार गर्ने अवस्थामा थिएनन् ।

शेरसिंह भाट, रामचन्द्र पाण्डेय, लेखनाथ कोइराला, सुनिल ढुङ्गेल, जस्ता वरिष्ठहरुले तत्काल उनलाई एमडीमा स्वीकार नगर्ने सार्वजनिक रुपमा नै चेतावनी दिएका थिए । प्राधिकरणका केही कर्मचारी उनलाई स्वीकार गर्ने पक्षमा थिए भने केही अस्वीकार गर्ने पक्षमा उभिएका थिए ।

दुई महिना मात्रै कार्यकाल बाँकी रहेका एमडी काफ्लेलाई हटाएको भन्दै गुनासो गर्ने जमात पनि छँदै थियो । तर, सरकारको निर्णय थियो, कुलमान नियुक्तीको ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकै प्रस्तावमा उनी नियुक्त भएका थिए । तर, काम गर्ने ग्राउण्ड उनका लागि सकारात्मक थिएन । अनेकन् आशंकाहरु थिए, अनेकन समस्या पनि थिए । अध्यारोलाई जित्ने र उज्यालोको खोजी गर्ने कुरा सम्भवतः सहज थिएन ।

तर, कुलमान एमडी बनेर प्राधिकरण छिरे । नारा लागेको थियो स्वागत र विरोध दुवैको, धर्ना घेराउ र प्रदर्शन पनि थियो ।

कनिस्टसँग काम गर्न सकिदैन भन्दै केही वरिष्ठ कर्मचारी त अदालतको ढोकासमेत ढकढक्याउन पुगे । उनलाई अर्को चुनौतीको रुपमा खडा भएका थिए सञ्चालक समितिका सदस्यहरु ।

प्राधिकरणको नाम भजाएका सञ्चालक समितिका सदस्यले कुलमान प्रवेश गरेको तेस्रो दिनमा नै अवरोध खडा गरे । काम गर्ने वातावरण पक्कै थिएन । तर, उनले प्राधिकरणको हट सिटमा बस्दै सोचे –कसरी दिने होला त जनतालाई राहत ।

विद्युत् भारप्रेषण केन्द्रको अवलोकनमा गए । तर, अवस्था उस्तै थियो, जुन उनको काबुमा छैन कि जस्तो लाग्ने खालको पनि ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर म्यानेजमेन्ट अध्ययन गरेका घिसिङले सोही विधि अपनाए, जो अरुले अपनाएका थिएनन् । कुलमान आएको केही समयभित्रै वानेश्वर, बालाजु, कलंकी, चपलीलगायतका सवस्टेशनको क्षमता विस्तार गरियो । कुनै प्रचार गरेनन्, उनले भित्रभित्रै काम गर्दै गए ।

दैनिक १२ घन्टा काटिने विद्युत् दैनिक दुई घन्टा मात्रै काटिन थाल्यो, मान्छेहरु होइन के भएको छ भन्दै सामान्य अनुभव गर्न थालेका थिए । भारप्रेषण केन्द्रमा बसेर उनले हिसाब गरे ।

साँझको समयमा काठमाडौंलाई ३१० मेगावाट विद्युत् भए हुने रहेछ । उद्योगलाई २४ सै घन्टा विद्युत् उपलब्ध गराएर डेडिकेटेड फिडरको नाममा रकम उठाउने धन्दा थाहा पाएका उनले त्यसलाई नियन्त्रण गर्ने प्रयास थाले, जुन पावर म्यानेजमेन्टको एउटा उपाय थियो ।

आवश्यक तयारी भित्रभित्रै चल्दै थियो, सकिन्छ कि सकिदैन भन्ने आशंका पनि उत्तिकै थियो । गत साल दशैदेखि नै काठमाडौँमा विद्युत् काटिन छाडेको थियो । चाडबाडको समय होला भनेर आम मान्छेले त्यसलाई सहजै रुपमा लिए । फेरि लोडसेडिङ फर्किहाल्छ भनेर लोडसेडिङमुक्तप्रति नागरिक विश्वस्त हुन सकेका थिएनन् ।

तिहार उज्यालोको पर्व । कमसेकम काठमाडौलाई मात्रै उज्यालो राख्न सकियो भने पनि धेरै काम हुन्थ्यो भन्ने हुटहुटीमा ऊर्जा मन्त्रालय पनि थियो ।

जडान गर्नुपर्ने नयाँ ट्रान्सफर्मर जडान गरियो । केवलहरु पनि फेरिए । ठिक छ भन्ने भएपछि तिहारमा परिक्षण गर्ने योजना बन्यो । काठमाडौंको स्यूचाटारको भारप्रेषण केन्द्रमा लक्ष्मीपूजाको दिन कुलमान विशेष टोली लिएर उपस्थित भए ।

‘सकिन्छ त सर’–तत्कालीन भारप्रेषण केन्द्रका प्रमुखले कुलनमालाई सोधेको प्रश्न थियो । तर, उत्तर चित्तबुझ्दो त उनीसँग पनि थिएन । सकिएला कि भन्ने चाही थियो रे, उनले सुनाएका थिए ।

साँझ पर्दै गयो । उद्योगलाई दिइएको बत्ती भारप्रेषण केन्द्रले ब्रेक डाउन ग¥यो । काठमाडौंलाई अध्यारोले छोप्नै लागेको थियो । भारप्रेषण केन्द्रको इन्डिकेटर १५० मेगावाटबाट ज्यामितीय रुपमा ३०० मेगावाटको हाराहारीमा पुग्यो ।

कुलमानको मनका डर भरिँदै गयो– लौ धान्दैन कि कसो हो ।

इन्डिकेटर अझै अगाडि लाग्यो, ३०५, ३०८, ३१० हुँदै ३१२ मेगावाटमा पुगेर थामियो ।

‘सर धान्छ त’– भारप्रेषण केन्द्रका कर्मचारी सोध्दै थिए । उनी अझै चुपचाप थिए । साँझको सात बज्यो, राजधानी एकाएक उज्यालो देखियो ।

अनि उनले आफ्नो टीमसहित भएर भारप्रेषण केन्द्रको छतमा बसेर राजधानीको चारैतिर नियाले । र, खुसीको पहिलो मुस्कान आफ्नै शैलीमा मुस्काए ।

राजधानी साँच्चै उज्यालो भयो ।

‘सर, धान्छ त’– अझै सोधीरहेका थिए भार प्रेषण केन्द्रका कर्मचारी ।

तर, उनी ढुक्क थिए– मस्र्याङ्दी कोरिडोरको सबै विद्युत् राजधानी ल्याइएको थियो । त्रिशुली कोरिडोरको पनि विद्युत् सबै थपिएको थियो । उद्योगको विद्युत् काटिएको थियो ।

इन्डिकेटरको बत्ती बलिरहेकै थियो, कुलमान चुपचाप थिए ।

समय बित्दै गयो । वर्षौदेखिको अध्यारो राजधानीलाई उज्यालो दिएकोमा उनी आफै खुसी देखिए । लक्ष्मीपूजाको दिन मुलुकभर विद्युत माग १३०० मेगावाट बढीमा पुगेको थियो ।

‘पहिलो फोन कसलाई गर्नुभयो त सर’– उनलाई धेरै पछि सोधिएको प्रश्न थियो ।

‘मैले ऊर्जा मन्त्रीलाई नै गरेको थिए, लौ सम्भव छ, काठमाडौलाई उज्यालो बनाउन । मेरो पहिलो शब्द थियो त्यो, त्यो समयको । लौ सफल भइयो’– उनले यसो भनेका रहेछन् ।

ऊर्जामन्त्री जनार्दन शर्माले बधाई दिएका थिए उनलाई ।

चैनको स्वास फेरेर बसेका कुलमानलाई फेरि अर्काे आपत आइलाग्यो । बुढानिलकण्ठको चार घरमा विद्युत् उपलब्ध हुन सकेन । तर, कारण ठूलो थिएन, सामान्य प्राविधिक जटिलताका कारण ती चार घरमा बत्ती बलेका थिएनन् ।

उज्यालो काठमाडौं बनेको खुसीभन्दा पनि त्यसलाई कसरी टिकाउने भन्ने चिन्ता बढी थियो त्यसपछि उनलाई ।

‘पावर म्यानजेमेन्टलाई केन्द्रमा राखेर काम गरिएका कारण हामी सफल भएका हौ, त्यसमा हामी सबैको योगदान छ,’ उनी यसो भन्छन् ।

जस उनले आफू मात्रै लिएनन् ।

‘तत्कालीन प्रधानमन्त्री र सरकारकै योजना थियो त्यो काम,’ उनले बताउने गरेका छन् ।

आज एक वर्षपछि आएर हेर्दा कुलमान विद्युत् व्यवस्थापनमा सफल देखिएका छन् । उनको सफलताको पछाडि इमान्दार प्रयास नै सबैभन्दा ठूलो कारण हो । आज उद्योगले २० घन्टा विद्युत् पाएका छन् ।

विगतमा १० घन्टा मात्रै विद्युत् पाएका उद्योगले शतप्रतिशत बढी विद्युत् पाउँदा उत्पादन क्षमता मात्रै बढेको छैन, राज्यको आम्दानी समेत बढेको छ । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.९ हुनुको पछाडि सोही कारण नै प्रमख हो भनेर नीति निर्माताहरु नै भनिरहेका छन् ।

तर, एक वर्षकोबीचमा उनी केही प्रकरणमा सार्बजनिक विबादमा पनि तानिए ।

सोलार प्रकरण, एलइडी प्रकरणलगायतका प्रकरणमा उनको नाम जोडियो । तर, १८ घण्टासम्मको लोडसेडिङ खेपेर हैरान भएका जनताले उनलाई साथ दिए । उनको शाखमा कुनै कमी भएन ।

र, अहिले सर्बसाधारण भनिरहेका छन्– विगत १० बर्षयता सरकारले कुनै राम्रो काम गरेको छ भने त्यो काम प्राधिकरणको एमडी कुलमान बनाउनु हो ।


पुष्प दुलाल