ल्हासा-काठमाडौँ र काठमाडौँ-लुम्बिनी रेलमार्ग प्रक्रिया अघि बढ्ने



काठमाडौँ । चीनले ल्हासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग आज बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेटमा चीनले उक्त प्रतिबद्धता जनाएको हो ।

परराष्ट्रमन्त्री महराले चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमका बारेमा आफूले नेपालका सबै प्रमुख दलका नेतासँग परामर्श गरेर साझा र सकारात्मक धारणा लिएर आएको विश्वास दिलाएपछि चिनियाँ प्रधानमन्त्री खछ्याङले हवाइ र रेलमार्गको सम्पर्क सञ्जालसम्बन्धी विगतमा भएका समझदारीलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका हुन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा दुई देशबीच व्यापार र पारवहन सम्झौता भएको थियो।

भेटमा प्रधानमन्त्री खछ्याङलाई उपप्रधानमन्त्री महराले चीनका राष्ट्रपति सि चीनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएको उपप्रधानमन्त्रीका सञ्चार तथा जनसम्पर्क संयोजक हरि लामिछानेले बेइजिङबाट जानकारी दिए।

यस्तै उपप्रधानमन्त्री महरालाई चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निमन्त्रणा दिएका छन्। मन्त्री महराले तातोपानी र केरुङ नाका खुलाउन आग्रह गर्दा चीनले सकारात्मक प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री खछ्याङले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको आन्तरिक राजनीतिक स्थिति राम्रोसँग अघि बढेकामा खुशी व्यक्त गर्नाका साथै नेपाली जनताको समृद्धिको चाहना पूरा हुने अपेक्षा व्यक्त गरेका छन्।

आजै परराष्ट्रमन्त्री महरा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेजिङमा भेटवार्ता भयो । भेटमा विदेशमन्त्री यीले आपसी सम्बन्ध तथा एकार्काले द्विपक्षीय र बहुपक्षीय हितमा समर्थन गर्नेजस्ता साझा विकासका तीन सिद्धान्तमा केन्द्रित रहेर चीनले सहकार्य गर्ने बताए।

उनले दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, सम्पर्क सञ्जालm बेइजिङ र चेन्दुको काठमाडौँसँग सीधा हवाई सम्पर्क, नेपालको पुनःनिर्माणमा सहयोग, व्यापारका क्षेत्रमा लगानी अभिवृद्धि तथा ऊर्जा र पर्यटनमा सहयोग गर्ने विश्वास दिलाएका थिए।

यस्तै उपप्रधानमन्त्री महरा र चीनका स्टेट काउन्सिलर याङ जेचीबीच आज भेटवार्ता भई आपसी हित र चासोका विषयमा छलफल भयो । सो अवसरमा एक क्षेत्र एक मार्ग (ओबोर)बाट नेपालले सहयोग लिनसक्नेमा जेचीले जोड दिएको र उपप्रधानमन्त्री महरा त्यसमा सहमत भएका थिए। रासस


पुष्प दुलाल