एक बर्षपछि घर बनाउन राखेको पैसा कहाँ लगानी गर्ने ? रबिन्द्र भट्टराईको लेख



एक मित्रले सोधे – एक बर्षपछि घर बनाउने योजना बनाएको छु । अहिले मसँग भएको पैसा कहाँ लगानी गर्दा ठीक होला ?

उनको यो प्रश्न मैले फेसबुकमा पनि राखेको थिएँ । धेरै मित्रहरुले फरक फरक प्रतिकृया पनि दिनुभयो । र, कतिपयले मेरो जवाफको अपेक्षा पनि गर्नुभयो । यो उहाँको मात्र नभइ धरैको समस्या हुन सक्छ ।

यस्ता प्रश्नहरु हरेक दिनजसो आउने गर्छन् । जहाँ मानिसका वर्तमान अवस्थालाई भविष्यको उद्देश्यसँग जोड्ने उपयुक्त वित्तीय बिकल्पको खोजिगरिएको हुन्छ ।

घर बनाउन पहिले नै घडेरी किनिसकेका यी व्यक्तिको तत्काल घर बनाउने कुनै योजना छैन । तर, एक बर्षपछि भने उनी भएको घडेरीमा घर बनाउन चाहन्छन् । यो अवधिमा भएको पैसाको सही व्यवस्थापन गर्नु उनको लक्ष हो ।

प्रश्न हेर्दा उनी वित्तीय सल्लाहकारको खोजिमा छन्, जसले उनको समस्या बुझेर सही सल्लाह प्रदान गर्न सकोस । धेरै देशमा वित्तीय सल्लाहकार राम्रो पेशा र व्यवसाय पनि हो । जुन व्यक्तिगत र संस्थागत दुवै तरिकाबाट गर्न सकिन्छ । उनीहरुबाटै मानिसले वित्तीय समस्याको समाधान खोज्ने गर्छन् । र, यी एक प्रकारका वित्तीय डाक्टरहरु पनि हुन ।

वित्तीय सल्लाहकारको सेवा धेरै हदसम्म बैंकसँग पनि सम्बन्धित छ । जहाँ बैंकले आफ्ना ग्राहकलाई यस प्रकारको सेवा दिन सक्छ । तर हामीकहाँ बैंकले यस प्रकारका सेवा प्रदान गर्ने बारे खासै सोचेको देखिदैन । यसका लागि अनुसन्धान, जनशक्ति र इमान्दारिता चाहिन्छ । आशा गरौं केही समयपछि यसको सुरुवात हुनेछ ।

एक बर्षको लागि भएको पैसा लगानी गर्न लगानीका विकल्पको लामै सुचि तयार हुन सक्छन् । जस्तैः
सुनमा लगानी गर्ने
एक बर्षे मुद्दती खातामा राख्ने
बचत खातामा राख्ने
सेयरमा लगानी गर्ने
तीन बर्षे मुद्यती खातामा राख्ने ।
एउटा अर्को घडेरी किन्ने । आदि ।

कुन विकल्पमा जाने भन्नका लागि पहिला हाम्रो आवश्यकता तथा उद्देश्य थाहा पाउन जरुरी छ । सोही अनुसार उपयुक्त विकल्पमा जान सकिन्छ ।

घर बनाउदा सवै पैसा एकैपटकमा आवश्यक नपर्ने भएकाले एक बर्षे अर्थात १२ महिने, १४ महिने, १६ महिने, १८ महिने मुद्दतीमा बाँडेर पैसा राख्न सकिन्छ, जसले साँवाको सुरक्षासँगै बढी व्याज पनि प्राप्त हुन्छ ।

मेरो बुझाइमा एक बर्षपछि घर बनाउन चाहनेको पहिलो सर्त साँवाको सुरक्षा नै हुनुपर्छ । यसको अर्थ अहिले जति पैसा छ वा भविश्यमा थपिन्छ, जुन नघटोस् । र, सुरक्षित होस । जसका कारण घर बनाउन समस्या नहोस । दोस्रो शर्त घर बनाउन सुरु गरेपछि हाम्रो लगानीलाई नगदमा परिणत गर्नुपर्छ र सजिलै नगदमा परिणत गर्न पनि सकियोस् । नगदमा परिणत गर्दा साँवा भन्दा तल गएर वा घटाएर विक्री गर्नु नपरोस् । यसलाई हामी तरलता भन्छौं ।

उनको लगानी अवधि अल्पकालिन भएकाले अल्पकालीन लगानीका दुई सिद्धान्त साँवाको सुरक्षा र तरलतालाई आधार मानेर भएका बिकल्प मध्येबाट सही विकल्पको छनौट गर्नुपर्छ ।

यी दुई सिद्धान्तलाई टेकेर भएका विकल्पहरुको विश्लेषण गर्ने हो भने लगानीका लागि हामी धेरै विकल्पमा सहमत हुन सक्दैनौं । सुनमा लगानी गर्न सकिन्छ । यसमा तरलता भए पनि साँवाको सुरक्षा हुन सक्दैन । किनकि सुनको मूल्य बढ्छ नै भन्ने छैन । यहाँ बजारको जोखिम उच्च छ । र, सुन गहनाको रुपमा किन्नु पर्ने भएकाले त्यसका अन्य लागतले नोक्सान बढ्न सक्छ ।

धरैले देखेको र सजिलै लगानी गर्न सक्ने अर्को विकल्प सेयर हो । सेयरको मुल्यमा हुने उतार चढावका कारण यसमा जोखिम बढी छ । राम्रै वित्तीय अवस्था र व्यवस्थापन भएको कम्पनीमा लगानी गरे पनि एक बर्ष पछि हामीले किनेको भन्दा माथि मूल्य जान्छ नै भन्ने निश्चितता हुदैन । र, कतिपय अवस्थामा चाहेको बेला विक्री नहुन पनि सक्छ । यसैले पनि यो बिकल्पमा जान सक्ने सम्भावना छैन ।

अर्को विकल्प तीन बर्षे मुद्दति खातामा राख्ने भन्ने छ । जुन साँवा नघट्ने कुरामा सहमत हुन सके पनि तरलताका हिसावले हामी एक बर्षमा यसलाई नगदमा परिणत गर्न सक्दैनौं । किनकि यहाँ तीन बर्षका लागि पैसा राख्नु पर्छ । तीन बर्षे मुद्दती लाई एक बर्षमा नगदमा परिणत गर्न पनि सकिएला तर समय नपुगिअगाडि नै झिकेवापत बैंकले शुल्क लिने गर्छन् । जसका कारण हाम्रो प्रतिफल एक बर्षे मुद्दतीमा पाएको व्याज भन्दा तल जानसक्छ । यसकारण पनि यो सही बिकल्प नहुन सक्छ ।

यस्तै हामीसँग एकटुक्रो जग्गा किनिराख्ने भन्ने पनि विकल्प छ । यसको अर्थ अहिले भएको पैसाले एउटा जमिनको टुक्रो किनिराख्ने र घर बनाउन सुरु गर्नु अघि विक्री गरेर घर बनाउने भन्ने हो । यो विकल्पले साँवाको केही हदसम्म सुरक्षा गर्ला । तर, तरलता प्रदान गर्दैन । अर्थात चाहेको बेला जग्गा विक्री गरेर नगदमा परिणत गर्न सकिदैन । जग्गा तरल सम्पति होइन । कतिपय अवस्थामा जग्गा विक्री गर्न बर्षौं लाग्न सक्छ ।

अव हामीसँग दुइवटा विकल्प रहे । बाणिज्य बैंक वा राम्रो वित्तीय अवस्था भएका फाइनान्स कम्पनी वा विकास बैकमा बचत वा एक बर्षे मुद्दती खातामा पैसा राख्ने भन्ने हो । साँवाको सुरक्षा वा चाहेको बेला कम्तिमा पनि साँवा पाउन सक्ने हिसावले एक बर्षे मुद्दती र बचतमध्ये कुनै एक विकल्पमा जान सकिन्छ ।

तर एक बर्ष पछि पैसा आवश्यक पर्ने भएकाले बचत भन्दा एक बर्षे मुद्दतीमा पैसा राख्न उपयुक्त हुन्छ । किनकि तुलनात्मकरुपमा यसमा बढी व्याज प्राप्त गर्न सकिन्छ । र, एक बर्षपछि सजिलै नगदमा परिणत गर्न पनि सकिन्छ । यदि बैंकले सुविधा दिए मुद्दतीमा पनि भएको पैसालाई विभिन्न समय अवधि भएका मुद्दती खातामा राख्न सकिन्छ । जस्तो घर बनाउदा सवै पैसा एकैपटकमा आवश्यक नपर्ने भएकाले एक बर्षे अर्थात १२ महिने, १४ महिने, १६ महिने, १८ महिने मुद्दतीमा बाँडेर पैसा राख्न सकिन्छ, जसले साँवाको सुरक्षासँगै बढी व्याज पनि प्राप्त हुन्छ । र, ती मित्रका लागि यो नै सवैभन्दा उत्तम विकल्प हुन सक्छ ।


क्लिकमान्डु