बिटक्वाइन पछि यसरी आयो इथिरियम, के होला परम्परागत बैंकिङको भविष्य ?




तपाईहरुले बिटक्वाइनको बारेमा त सुन्नुभएकै छ, तर इथिरियमका बारेमा नि ?

पछिल्लो समय निकै चर्चामा रहेको ‘बिटक्वाइन’का बारे तपाईहरुले पनि केही जानकारी पक्कै लिइसक्नुभएको होला । अथवा, प्रयोग नै गरिसक्नुभएको पनि हुनसक्छ ।

अहिले भने यसले केही ठूला ब्यवसायिक कम्पनीहरुको सहयोगमा अर्को प्रतिस्पर्धी समेत पाएको छ ।

‘इथिरियम’को मुल्य र चर्चा दुवै चुलिदैं छ पछिल्लो समय । बिटक्वाइन म्यागेजिनका अनुसार इथिरियमको मुद्राले अहिलेसम्मकै उच्च मुल्य ४ सय २० डलर छोइसकेको छ । बिटक्वाइनको अहिलेको मुल्यको १० भागको १ भाग हाराहारी मुल्य रहेको इथिरियमको नयाँ बिशेषताहरुले लगानीकर्तालाई निकै आकर्षित गरिरहेका छन् ।

के हो इथिरियम ?
सन् २०१५ बाट शुरु गरिएको इथिरियम एक प्रबिधि हो, जहाँ इथर नामको मुद्राको कारोबार हुने गर्छ ।

बिटक्वाइन जस्तै यो प्रबिधिले पनि इन्टरनेटको सहायताले गोप्य ढंगले भुक्तानी गर्न सघाउँछ । र, यी कारोबार बिकेन्द्रित खातामा प्रदर्शन गर्दछ । यसले यो काम कुनै तेस्रो पक्ष वा बैंकको संलग्नता बिनै गर्ने गर्छ, जसले प्रयोगकर्ताहरुलाई बिभिन्न शुल्क तिनुपर्ने झन्झटबाट मुक्ति दिन्छ । ठूलो कारोबार गर्ने प्रयोगकर्तालाई यसले धेरै राहत दिन्छ ।

चोरी र ठगीका बिरुद्ध प्रयोग हुने सुरक्षा प्रबिधिका लागि पनि बिटक्वाइनलाई झैं इथिरियमलाई पनि चिनिन्छ ।

बिटक्वाइन र इथिरियम के अर्थमा फरक छन् ?
पहिलो, बिटक्वाइन डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) हो । तर, इथिरियम एउटा डिजिटल मञ्च मात्रै हो । र, यसैमा यसको संभावना पनि लुकेको छ ।

इथिरियमले कारोबारहरुको अभिलेख बिटक्वाइनको भन्दा छिटो राख्छ । र, यसका सर्मथकहरु इथिरियमलाई बिटकोइन भन्दा चुस्त र चलाउन पनि सजिलो भएको बिश्वास गर्छन् ।

इथिरियमले आफ्नो सञ्जालमा एपको प्रयोगलाई छुट दिएको छ ।

इथिरियमका सिर्जनाकार भिटालिक बुटेरिनका अनुसार, ‘यसको पछाडीको सोच के हो भने, क्लाउडमा एउटा जादुमयी कम्प्युटर छ । र, त्यहाँ जोसुकैले प्रोग्राम पठाउन र प्रोग्राम चलाउन पाउँछन् । र, ती प्रोग्रामहरु एक आपसमा संवाद गर्न सक्छन्’ ।

यसले प्रणालीमा आउने अवरोध, ठगी र अन्य हस्तक्षेपहरुको उन्मुलन गर्न सघाउँछ । यसको मतलब अर्को प्रयोगकर्तालाई भुक्तानीको लागि प्रोग्राम सेट गरेपछि लामो समयसम्म कुनै थप ‘इनपुट’ बिनै कारोबार गर्न सकिन्छ ।

इथिरियममा कोडमा लेखिएका स्मार्ट सम्झौता, डिजिटल सम्झौता आदि स्वचालित ढंगले रुजु गर्न र लागू गर्न सकिन्छ ।

कसले किन्दै र प्रयोग गर्दै छन् ?
इथिरियममा कारोबार हुने मुद्रा इथर बिटक्वाइन पछिको सबैभन्दा ठूलो डिजिटल मुद्रा हो । इथरको कुल ‘सर्कुलेसन’को मुल्य २८ अर्ब अमेरिकी डलरभन्दा माथि छ । बिटक्वाइनको भने ५७ अर्ब डलरभन्दा माथि छ ।

सिएनबीसीका अनुसार इथरको ६० प्रतिशतभन्दा बढि खरिद कोरियन मुद्रा ओनमा भएको छ । दक्षिण कोरियाले इथर र बिटक्वाइनलाई नियमन गर्ने सोच बनाएको छ । यसले इथिरियमको मञ्चमा कारोबार हुने इथरप्रति मानिसहरुको आकर्षण बढाइरहेको छ ।

सन् २०१७ मा स्थापना भएको ‘द इन्टरप्राइज इथिरियम एलायन्स’मा जेपी मोर्गन, माइक्रोसफ्टलगायत ८६ कम्पनी छन् । यी कम्पनीले इथिरियमको बिकासलाई सघाइरहेका छन् ।

अहिले ५५ लाख इथिरियम खातामा करिब १० करोड इथर रहेको छ । यसलाई मुद्राको रुपमा धेरै वेब होस्टिङ कम्पनी र स्वतन्त्र अनलाइन ब्यवसायहरुले स्वीकार गर्छन् । र, यसलाई क्रेडिट कार्डको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

धेरै प्रयोगकर्ताहरुलाई खातामा वा ‘वालेट’मा भएको इथरको मुल्य बिटक्वाइनको झैं बढ्दै जान्छ भन्ने छ । तर, बिज्ञहरुको भनाई भने इथिरियममा लगानी भनेको नयाँ मञ्च र सिर्जनशील प्रोग्राममा लगानी हो, नयाँ डिजिटल मुद्रामा होइन ।

नेपालमा कस्तो छ यसको कानुनी हैसियत ?
इथरका बारेमा नेपालमा कानुनी रुपमा केही बोलिएको छैन । तर, इथरभन्दा अगाडि रहेको भनिएको विटक्वाइनको बारेमा भने नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्बजनिक गरिसकेको छ ।

राष्ट्र बैंकले साउन २९ गते सार्बजनिक सुचना प्रकाशित गर्दै नेपालमा बिटक्वाइन अबैध रहेको र कारोबार नगर्न नगराउन सर्बसाधारणलाई सुचित गरेको छ । राष्ट्र बैंकले जारी गरेको सुचनामा विटक्वाइनको कारोबारको अनुमति नलिएको भन्ने आधार मात्रै दिइएकोले अब यस्ता डिजिटल मनीको कसैले स्वीकृति माग्न गए भने राष्ट्र बैंकले के गर्ला भन्ने प्रश्न भने जन्मिएको छ ।

भुक्तानी प्रणालीका नयाँ नयाँ माध्यम र विकल्प थपिन थालेपछि अबको बैंकिङ कस्तो होला वा यसको भविष्य कसरी सुरक्षित होला भन्ने प्रश्न भने उठ्न थालेको छ ।
एजेन्सीहरुको सहयोगमा


क्लिकमान्डु