‘फ्रिक्वेन्सी मात्र ओगट्ने कम्पनीको लाइसेन्स नै खारेज हुनसक्छ’



काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले केहि टेलिकम कम्पनीहरुले फ्रिक्वेन्सी मात्र ओगटेर बसेको हुँदा लाइसेन्स दिने बेलामा नै ध्यान पुर्याउनुपर्ने बताएका छन् ।

मन्त्री बस्नेतले आइतवार तीन जना पत्रकारलार्इ सम्मान गर्दै केहि टेलिकम कम्पनीहरुले फ्रिक्वेन्सी मात्र ओगटेर बसेको हुँदा लाइसेन्स दिने बेलामा नै ध्यान पुर्याउनुपर्ने बताएका हुन्।

‘एकथरी कम्पनीहरु काम गरिरहेका छन र अर्काथरी झोलामा लाइसेन्स राखेर बसेका छन्, अब लाइसेन्स दिँदा नै ध्यान दिउँ,’ मन्त्री बस्नेतले भने ।

उनले लामो समयसम्म पनि सेवा संचालन गर्न नसक्ने कम्पनीलाई फ्रिक्वेन्सी दिने काम नै गलत भएको भन्दै सेवा संचालन नगर्ने हो भने लाइसेन्स नै खारेज हुनसक्ने चेतावनी दिए ।

नियमनकारी निकायले अनुगमन गर्नुपर्ने र कम्पनीहरुलार्इ सेवा शुरु गर्न दबाब सिर्जना गर्नुपर्ने मन्त्री बस्तेनले बताए ।

नेपालमा टेलिफोन सेवा संचालन गरेको एक सय वर्ष पूरा भएको अवसर पारेर नेपाल टेलिकमले तीनजना पत्रकारलाई सम्मान गरेको हो ।

टेलिकमले आइतवार एक कार्यक्रम आयोजना गरेर नागरिक दैनिकका संवाददाताद्वय सन्तोष न्यौपाने र सन्तोष पोखरेल तथा गोरखापत्र दैनिकका विश्वास रेग्मीलाई पुरस्कृत गरेको हो । न्यौपाने र पोखरेललाई संयुक्तरुपमा जनही १५ हजार रुपैयाँसहित तथा रेग्मीलार्इ ३० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष महेन्द्रमान गुरुङले चालु आवमा कार्यसम्पादनको आधारमा सक्रिय भएर काम गर्न टेलिकम कर्मचारीहरुलाई आग्रह गरे । उनले यो वर्ष केहि उपलब्धिमुलक काम गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिताको आचारसंहिताभित्र रहेर आलोचनात्मक समाचार सम्प्रेण गर्न आग्रह गरे ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमले चालु आर्थिक वर्ष २०७४/७५ मा जिएसएम, सिडिएमए, इन्टरनेट सेवा, ग्राहक सेवा र सेवाको गुणस्तर सुधारलगायतका कार्य गर्ने जानकारी दिए ।

२०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक संख्या १ करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ । त्यसैगरी २०७४ जेठ समान्तसम्ममा इन्टरनेट ग्राहक आधार ८३ लाख ९५ हजार रहेको टेलिकमले जानकारी दिएको छ ।


क्लिकमान्डु