बिमस्टेक क्षेत्रमा बौद्ध सर्किट विकास गर्न महासंघ अध्यक्षको जोड




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाललगायत भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार क्षेत्रको पर्यटन विकासका लागि बौद्ध सर्किट विकास गर्नुपर्ने बताएकी छन् ।

बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमष्टेक) को १५ औं मन्त्रीस्तरीय बैठकको दोस्रो दिनको विशेष सत्रलाई सिंगो नेपाली निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष राणाले यस्तो बताएकी हुन् ।

यो क्षेत्रमा सहयोगको ठूलो सम्भावना बोकको पर्यटन क्षेत्रको विकासका लागि बौद्ध सर्किट आवश्यक हुने भन्दै उनले कला, सँस्कृति एवं प्राकृतिक सम्पदाले सम्पन्न यो क्षेत्रको पर्यटन विकासको सम्भावनालाई दोहन गर्न पर्यटन सम्बन्धी दीर्घकालिन योजना तथा रणनीति विकासमा जोड दिइन ।

‘पर्यटन विकासको महत्वपूर्ण कडी हुन सक्ने यस क्षेत्रलाई बौद्ध सर्किटको रूपमा विकास गर्नु पर्छ, यसका साथै रेल, सडक, समुन्द्र, वायु र डिजिटल मार्फत आपसी सम्पर्क विस्तारमा विशेष जोड दिनुपर्छ,’ अध्यक्ष राणाले भनिन् ।

बैठकमा बिमस्टेकका सदस्य राष्ट्रहरुका विदेश मन्त्रीहरूसहित उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको छ । सन् १९९७ मा गठित बिमस्टेक यस क्षेत्रका जनताको अपेक्षा अनुसार अगाडी बढ्न नसकेकाले काठमाडौं बैठक बिमष्टेकलाई बिना कुनै विलम्ब सशक्त ढंगबाट अगाडी बढाउन महत्वपूर्ण निर्णयहरू गर्न सफल हुने उनको विश्वास छ ।

अन्तरक्षेत्रीय व्यापारको करिब ७ प्रतिशत मात्र हिस्सा रहेको बिमष्टेकमा एक दुई राष्ट्रबीच मात्र क्षेत्रीय व्यापार सञ्जाल जोडिएको छ । सदस्य राष्ट्रहरूबीच न्यून सम्पर्क, कर तथा गैर कर अवरोधहरू र व्यापार सहजिकरणका कमजोर मापनहरू नै यस क्षेत्रका मुख्य कमजोरीहरू रहेको उनको भनाइ छ ।

अध्यक्ष राणाले सन् २००४ मा बिम्ष्टेक सदस्य राष्ट्रहरूबीच स्वतन्त्र व्यापार सम्झौता भए पनि यसले व्यापार उदारीकरणमा मूर्तरुप पाउन नसकेको बताइन् ।

‘म यस समारोह मार्फत यस क्षेत्रका निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सदस्य राष्ट्रका सरकार समक्ष एकिकृत क्षेत्रीय व्यापारका लागि जतिसक्दो छिटो राजनीतिक प्रतिबद्धता सहित यसलाई अगाडि बढाउन विशेष आग्रह गर्दछु,’ अध्यक्ष राणाले भनिन् ।

स्वतन्त्र व्यापार सम्झौता मात्रले आर्थिक सहयोग र आर्थिक एकिकरणको प्रत्याभूति दिन नसक्ने भन्दै उनले यस्ता मञ्चहरूलाई सफल पार्न नेपाल जस्ता अल्पविकसित राष्ट्रहरूको चासोलाई विशेष प्राथमिकता दिनै पर्नेमा जोड दिइन् । अध्यक्ष राणाले बैठकमा सहभागी विदेश मन्त्रीहरू समक्ष नेपाल जस्ता अल्प विकसित राष्ट्रहरूको उत्पादन क्षमता विकास, लगानी प्रवद्र्धन तथा आर्थिक अवसरहरू सृजना गर्न विशेष सहयोगका लागि आग्रह समेत गरिन् । त्यसका लागि अन्तर क्षेत्रीय लगानी तथा प्रविधि हस्तान्तरण सहितको क्षेत्रीय व्यापार अविबृद्धिमा महत्वपूर्ण जोड हुनुपर्ने उनको भनाइ छ ।

बिमष्टेक सदस्य राष्ट्रहरू बीच सहयोग तथा लगानीका निकै धेरै संभावनाहरू छन् । बिमष्टेक आफैं प्राकृतिक श्रोतमा निकै धेरै सम्पन्न क्षेत्र हो । जस्तो कि भुटान र नेपाल जल उर्जामा निकै धनी छन् भने म्यानमार र बंगलादेश प्राकृतिक ग्यासमा सम्पन्न छन् । यस क्षेत्रका निजी क्षेत्रहरूबीचको संयुक्त लगानीमा यी सम्भावनाहरूलाई दोहन गर्न उनले विशेष आग्रह गरिन् । क्षेत्रीय उर्जा प्रसारण लाइनको विकास एवं प्राकृतिक ग्यास पाइप लाइन विस्तार मार्फत यस क्षेत्रको उर्जा क्षमता विकास तथा उर्जा सुरक्षा प्रत्याभूतिका लागि अध्यक्ष राणाले आफ्नो संवोधन मार्फत यस क्षेत्रका सरकारहरू समक्ष आग्रह समेत गरिन् ।

व्यवसायिक सम्बन्ध एवं संजाल विस्तारबाट मात्रै क्षेत्रीय समृद्धि संभव भएको बताउँदै अध्यक्ष राणाले बिमष्टेक उद्योग वाणिज्य संघ गठन गरी सोही संघमार्फत यस क्षेत्रको व्यापार तथा लगानी अभिबृद्धि अगाडी बढ्नुपर्नेमा जोड दिइन् ।

आशियान र ईयुले प्राप्त गरेको आर्थिक सफलताबाट पाठ सिक्दै बिमष्टेकमा आर्थिक मुद्दालाई मुख्य रुपमा जोड दिई जानु पर्ने र यस क्षेत्रको सशक्त मञ्चको रुपमा अगाडि बढाउँदै यस क्षेत्रका जनताको समृद्धिमा लाग्न नेपाली निजी क्षेत्रको तर्फबाट अध्यक्ष राणाले यस क्षेत्रका सरकारहरू समक्ष विशेष आग्रह समेत गरेकी छन् ।


क्लिकमान्डु