सेयर बजारमा गर्मी बढ्यो, अब यसो गर्नुहोस्



काठमाडौं । पछिल्ला केही दिनदेखि नेप्से परिसूचक बढ्दो ट्रेण्डमा देखिन्छ । ठूलै छलाङ नमारे पनि दैनिक केही अंक बढ्दै नेप्से परिसूचक १६६० अंकको हाराहारी पुगिसकेको छ ।

बिगतका बर्षहरुको ट्रेण्ड हेर्ने हो भने पनि असारपछि बजार बढ्ने गरेको पाइन्छ । भदौमा थोरै घट्ने अनि असोज र कार्तिकमा फेरी बढेर मंसिरदेखि फेरि ओरालो लाग्ने ट्रेण्ड देखिन्छ । बिभिन्न अध्ययनहरुले यस्तो ट्रेण्को पुष्टि गरेका पनि छन् ।

गत बर्ष पनि साउन १२ गते नेप्सेले अहिलेसम्मकै उच्चतम बिन्दु १८८१ अंक छोएको थियो ।

असारमा कम्पनीहरुको वित्तीय बिवरणको मोटामोटी आंकलन बाहिर आउन थाल्ने, साउनदेखि त अपरिष्कृत वित्तीय बिवरण सार्वजनिक नै हुन थाल्ने र असोज–कार्तिक देखि लाभांश नै घोषणा हुन थाल्ने भएका कारण यस्तो ट्रेण्ड देखिएको हुनसक्छ । साथै, यो समयमा ठूला चाडबाड पर्ने हुनाले पनि बजार केही चञ्चल भएको हुनसक्छ ।

जसरी मानिसहरु जाडो बढ्दै जाँदा जाकेट, सिरक आदि झिक्छन् अनि जाडो घटेर गर्मी बढ्दै जाँदा फेरी ती थन्क्याउँदैं टिर्सट, हाफपाइन्ट आदि झिक्छन् त्यसैगरी सेयर बजारले ट्रेण्ड परिवर्तन गर्दै गर्दा त्यही अनुसारको रणनीति बनाउन लाग्ने हो कि ?

यहाँ भन्न खोजेको कुरा के मात्र हो भने सेयर बजारको पनि केही निश्चित चाल वा ट्रेण्ड हुन्छ, जसलाई बजारले पटक पटक दोहो¥याउँछ । यो कुनै पनि ट्रेण्ड नभएको र नितान्त ‘आकस्मिकताका’ आधारमा चल्ने बजार होइन ।

केही समय खर्च गरेर बजारको चाल बुझ्ने प्रयास गर्ने लगानीकर्ताले बुझेकै कुरा हो यो । समाचार, हल्ला र अनुमानका आधारमा मात्र निर्णय गर्ने लगानीकर्ताका लागि मात्र सेयर बजार कुनै पनि चाल, गति र ट्रेण्ड नभएको जुवाको खाल हो ।

यस लेखमा सेयर बजारलाई प्रकृतिसँग तुलना गर्ने प्रयास गरिएको छ । जसरी प्रकृति एउटा बैज्ञानिक पद्धतिका आधारमा चल्छ, त्यसैगरी सेयर बजार पनि चल्छ । प्रकृतिको आफ्नै केही नियम भए जस्तै सेयर बजारको पनि आफ्नै केही नियम हुन्छन् । र, ती नियम धेरै जसो समयमा एक आपसमा मिल्छन् ।

उदाहरणको लागि दिन र रातको प्रक्रियालाई लिन सकिन्छ । यसमा प्रकृतिको आफ्नै ट्रेण्ड हुन्छ । एकदम आकस्मिक ढंगले एकै छिनमा रात र दिन हुँदैन । सूर्य उदाएपछि बिस्तारै दिन शुरु हुन्छ, छिप्पिदैं जान्छ, मध्य दिनसम्म पुग्छ र बिस्तारै ओर्लदैं रात हुन्छ । रात पनि बिस्तारै शुरु हुँदैं, छिप्पिदैं मध्य रात हुन्छ । र, फेरि बिहानी हुँदैं त्यही प्रक्रिया दाहोरिन्छ । सेयर बजारको जस्तै यो एउटा ट्रेण्ड हो । एउटा प्रक्रिया हो, जहाँ केही उतारचढावहरु हुन्छन् ।

बजारमा पनि यस्तै ‘अप ट्रेण्ड’ र ‘डाउन ट्रेण्ड’ हुन्छ । बजार बिस्तारै चढ्दै जान्छ, उच्चतम बिन्दुमा पुग्छ, फेरि बिस्तारै ओर्लदैं आउँछ, न्युनतम बिन्दुमा झर्छ । र, फेरि उक्लन थाल्छ ।

यो प्रक्रिया गत बर्ष पनि देखिएको थियो । बजार ९ सय हाराहारीबाट उठ्दै १८८१ सम्म पुग्यो र फेरि १२ सयसम्म आइपुग्यो । अहिले फेरि उक्लदैं १६६० पुगिसकेको छ ।

यो बीचमा धेरै उतारचढाव पनि आए । तर, बजारको ट्रेण्ड बुझ्ने मान्छेलाई खासै फरक परेन । ट्रेण्ड नबुझ्ने लगानीकर्ता भने कहिले धेरै हौसिए त कहिले धेरै आत्तिए ।

प्रकृतिमा रात र दिनका अलावा मौसमहरुको-बर्षा, जाडो गर्मी-पनि आफ्नै ट्रेण्ड हुन्छ । यी सबै मौसमहरु बिस्तारै शुरु हुन्छन्, उच्चतम बिन्दुमा पुग्छन् र झर्न थाल्छन् । यी सबै ट्रेण्ड हुन्, प्रक्रिया हुन्, आकस्मिकता होइनन् ।

मानिसहरुलाई हरेक बर्ष गर्मी वा जाडो हुँदा अघिल्ला बर्षहरु भन्दा धेरै भएको महशुस गर्छन् । नेपालीमा उखानै छ, ‘मरेको गोरु बलियो, यसपालिको जाडो धेरै’ ।

सेयर बजारमा पनि बजार बढ्दा मानिसहरु अब कहिल्यै घट्दैन जस्तो गरि हौसन्छन् । र, बजार घट्दा अब कहिल्यै बढ्दैन जस्तो गरि आत्तिन्छन् । अर्थात्, हरेक पटक बजार बढ्दा वा घट्दा पहिलो पटक बढेको वा घटेको जस्तो गर्छन् ।

प्रकृतिको नियम भनेको बढेपछि उच्चतम बिन्दुसम्म बढ्नु र घटेपछि न्युनतम बिन्दुसम्म झर्नु हो । बजारमा पनि यहि नियम लागु हुन्छ । अब उच्चतम बिन्दु र न्युनतम बिन्दु कुन हो भन्ने कुरा थाहा पाउन भने अनुभवको खाँचो पर्छ । अघिल्ला बर्षहरुका बारे जानकारी हुनुपर्छ । सेयरका बारेमा गरिने प्रबिधिक बिश्लेषण त्यसैको एउटा रुप हो ।

अब बेलाबेलामा हुने करेक्सनतर्फ लागौं ।

अत्याधिक गर्मी भएको बेलामा पनि पानी परेर वा अन्य कारणले केही शितल हुनसक्छ । अनी १–२ दिनपछि फेरि गर्मी शुरु हुन्छ । अत्याधिक जाडो मौसममा पनि केही दिन कम जाडो हुन्छ ।

बजार पनि ‘अप ट्रेण्ड’ वा ‘डाउन ट्रेण्ड’मा हुँदा पनि छोटो समयका लागि ट्रेण्ड बिपरित जान सक्छ । यसलाई सेयर बजारको प्राबिधिक भाषामा करेक्सन भनिन्छ ।

अहिले बढ्दै गरेको बजार पनि कुनै नयाँ कुरा नभएर बिगतमा भैरहेको प्रक्रिया कै निरन्तरता हो । जबसम्म सेयर बजार अस्तित्वमा रहन्छ, कि बढ्छ, कि घट्छ वा केही समय स्थिर रहन्छ । यो भन्दा अर्को सम्भव छैन ।

यो बढ्दै गएको बजार कहाँसम्म पुग्ला, के गर्ला भन्ने कुरा ठम्याउनका लागि अनुभव, अध्ययन र प्रशस्त अनुसन्धानको खाँचो पर्छ । जे पर्ला सो टर्ला जस्तो रणनीतिले खाल्डामा जाक्ने बाहेक अरु गर्दैन ।

जसरी मानिसहरु जाडो बढ्दै जाँदा जाकेट, सिरक आदि झिक्छन् अनि जाडो घटेर गर्मी बढ्दै जाँदा फेरी ती थन्क्याउँदैं टिर्सट, हाफपाइन्ट आदि झिक्छन् त्यसैगरी सेयर बजारले ट्रेण्ड परिवर्तन गर्दै गर्दा त्यही अनुसारको रणनीति बनाउन लाग्ने हो कि ?


पुष्प दुलाल