घर बसीबसी १ मिनेटमै यसरी भर्नुहोस् आइपिओ



काठमाडौं । अब साधारण सेयर (आइपिओ) भर्न हातमा फारम बोकेर घन्टौं लाइन बस्नुपर्ने दिन सकिएका छन् । तपाईंले घर बसीबसी १ मिनेट मै आफुले चाहेको कम्पनीको आइपिओ भर्न सक्नुहुने भएको छ ।

विगतमा तपाईंले आइपिओ भर्नका लागि जेजस्ता दुख भोग्नुपर्यो । अब त्यस्तो दुख गर्नुपर्ने छैन ।

तर, घर बसीबसी आइपिओ भर्नका लागि तपाईंसँग इन्टरनेटको पहुँच भने अत्यावश्यक छ । आजको दुनियाँमा इन्टरनेटमा पहुँच राख्न पनि त कठिन छैन नि, जब तपाईंको हातमा स्मार्टफोन हुन्छ ।

तपाईंलाई घर बसीबसी सेयर भर्ने व्यवस्था मिलाइदिने संस्थाको नाम हो, नेपाल धितोपत्र बोर्ड । पुँजी बजारको नियामक बोर्डले आस्वा प्रणाली अनिवार्य गरेपछि तपाईंले घन्टौं लाइन बस्नु नपर्ने अवस्था सिर्जना भएको हो ।

घन्टौं लाइन बस्नुपर्ने मात्रै होइन, आवेदन फारम भर्दा केही कुरा मिस्टेक भएको, चेकमा हस्तारक्षर नमिलेका कारण धेरै लगानीकर्ताहरुको आवेदनहरु रद्द समेत हुन्थ्यो । अब यसरी आवेदन रद्द पनि हुने छैन ।

धितोपत्रको केन्द्रिय निक्षेप प्रणाली (सिडीएस) ले ‘सेन्ट्रलाइज्ड आस्वा’ ल्याएको छ । यो सँगै घरमै बसीबसी आइपिओ भर्नुपर्ने भएको छ ।

सिडीएसले प्राथमिक शेयर निष्काशन र बाँडफाँड सरलीकृत गर्न ‘बिओआईडी भेरीफिकेसन’ सफ्टवेयरको प्रयोग गरेको छ ।

अहिले आस्वा सेवा प्रदायक ४ बैंकले सफ्टवेयरको परिक्षण गरिरहेका छन् । जुन सफल र प्रभावकारी छ भएको एनआइबीएल क्यापिटल मर्र्चेन्ट एण्ड बैंकिङका महाप्रबन्धक मेखबहादुर थापाले बताए ।

अहिले नेपाल इन्भेष्टमेन्ट बैंक, एसबिआई बैंक, ग्लोबल आइएमइ बैंकबाट घरमै बसेर आइपिओ भर्न सकिने र आगामी दिनहरु अरु बैंकहरुले पनि यस्तो सुविधा दिने नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् ।

कसरी दिने आवेदन ?

सबैभन्दा पहिला आस्वाको पूर्णसेवा दिइरहेका बैंकहरुको इन्टरनेट बैंकिङ सेवा लिने । अब आइपिओ भर्न तपाईंसँग इन्टरनेट चाहिन्छ नै । जब तपाईंसँग इन्टरनेट हुन्छ तब सम्बन्धित बैंकको इन्टरनेट बैंकिङ लग इन गर्ने । यसरी इन्टरनेट बैंकिङ लग इन गरिसकेपछि तपाईंले आइपिओ जारी गर्ने कम्पनीको नाम पाइपलाइनमा देख्न सक्नुहुनेछ ।

त्यसपछि तपाईंले यो कम्पनीको यति कित्ता सेयर किन्छु भनेर अनलाइनमार्फत नै अर्डर गर्नुपर्ने हुन्छ । यसरी अर्डर गर्ने बेलामा तपाईंले मेरो बैंक खातामा कति रकम छ ? भनेर पूर्णरुपमा जानकारी हुनुपर्छ । आफ्नो बैंक खातामा भएको पैसाबारे यकिन जानकारी भइसकेपछि आफ्नो पैसाले पुग्नेसम्मको सेयर किन्नका लागि आवेदन दिन सक्नुहुनेछ ।

आवेदन दिँला आफ्नो डिम्याट एकाउन्ट र बैंक एकाउन्ट नं. अनिवार्यरुपमा लेख्नुपर्ने हुन्छ । यी दुई वा एक एकाउन्ट लेख्न बिर्सिनुभयो भने तपाईंको आवेदन सिस्टममा इन्ट्र हुन सक्दैन । १० लाख रुपैयाँ माथिको सेयरका लागि आवेदन दिँदै हुनुहुन्छ भने अनिवार्यरुपमा प्यान नम्बर पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

यी सबै प्रक्रिया पूरा गर्न १ मिनेट लाग्ने धितोपत्र बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरे बताउँछन् ।

‘६/७ घन्टासम्म लाइन बसेर आइपिओ भर्ने लगानीकर्ताहरुका लागि हामीले १ मिनेटभित्रै त्यो पनि घर बसीबसी सेयर भर्ने मिल्ने व्यवस्था गरिदिएका छौं,’ घिमिरेले भने, ‘यसले पुँजी बजारमा ठूलो उत्साह र सहभागिता ल्याउँछ नै ।’

मानौं तपाईंको बैंक खातामा १ लाख रुपैयाँ छ । तर, तपाई ५० हजार रुपैयाँको मात्रै सेयर किन्न चाहनु हुन्छ भने त्यहाँ ५० हजार मूल्य र यति कित्ता भनेर लेख्नुपर्ने हुन्छ । यसरी लेखिसकेपछि समिट गर्नुहोस् । समिट गरिसकेपछि तपाईंको आवेदन सिस्टममा जान्छ । र, सेयर बाँडफाँड नभएसम्म तपाईंको खातामा भएको १ लाख रुपैयाँमध्ये ५० हजार रुपैयाँ अटोमेटिक ब्लक हुन्छ । जुन तपाईंले झिक्न पाउनुहुन्न । तर, जब सेयर बाँडफाँड हुन्छ, तब झिक्न सक्नुहुन्छ ।

एकजना आवेदकले एउटा निस्कासनमा एक पटकमात्र आबेदन दिन सकिने छ । तपाईंले दुई पटक आवेदन दिनुभयो भने सिस्टमले तपाँईंको आवेदन रिजेक्ट गर्छ । किनभने सिडीएसले त्यस्तो सिस्टम रेगुलेसन गर्नसक्ने सफ्टवेर राखेको छ ।


पुष्प दुलाल