साउन १ गतेदेखि नेपालमा भारतीय टिभी च्यानल बन्द हुन्छन् त ?




काठमाडौं । सरकारले साउन १ गतेदेखि क्लिन फिड नीति लागू गर्ने भएको छ । बिगत केहि दिनदेखि बिवादित बनेको क्लिन फिड नीति तोकिएको मितिदेखि नै लागू हुने सूचना तथा संचार मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र ढकालले बताए ।

‘सरकारले नीति बनाएपछि तोकिएको मितिमा नै लागू हुन्छ, सरकारी भनाई यत्ति हो,’ प्रवक्ता ढकालले क्लिकमाण्डुसँग भने ।

उता केहि दिनअघि नै केबल टेलिभिजन व्यवसायीहरु तथा डिस होम कम्पनीले संयुक्त विज्ञप्ति जारी गरेरै क्लिन फिड नीति लागू नगराउन दबाब दिएका छन् । उनीहरुले यो नीति लागू भएमा अबौंको लगानी खेर जाने भन्दै सम्पूर्ण केबल टेलिभिजन प्रसारण नै बन्द गर्ने चेतावनी पनि दिए ।

करिब १ दशकदेखि चर्चामा आएको क्लिन फिड नीति सरकारले आगामी आर्थिक वर्षको पहिलो दिनदेखि नै लागू गर्ने तयारी गरिरहँदा यसको पूर्वाधारको बारेमा भने कहिँ पनि बहस भएको छैन् ।

‘नेपालको लागि छुट्टै फिड नभएको र नीति लागु हुने समयसम्म यस्तो फिड तयार भैसक्ने अवस्था नभएको भन्ने विदेशी प्रसारण संस्थाहरुले समेत जानकारी गराएकोले आ.व. २०७४/७५ को लागि विदेशी प्रसारण संस्थाहरुले विज्ञापन रहित प्रसारणको लागि डाउनलिङ्क अनुमति माग गर्ने कम संचावना भएकोले धेरैजसो च्यानलहरु डाउनलिङ्क अनुमतिको अभावमा प्रसारण बन्द हुन सक्ने देखिएको,’ सुझाव समितले उल्लेख गरेको छ ।

अहिलेसम्म सरकारले यो विषयमा प्राविधिक तयारी गरेको देखिँदैन् । यो विषयमा मन्त्रालयका प्रवक्ता ढकालले कुनै टिप्पणी गर्न चाहेनन् ।
‘सरकारले लागू गर्ने भनेको नीति लागू हुन्छ, अरु भनाई केहि छैन्,’ उनले भने ।

तर मन्त्रालय नै यो विषयमा स्पष्ट हुन सकेको छैन् । हाल क्लिन फिड लागू गर्न किन हतार गरियो भनेर मन्त्रालयका अधिकारीहरु नै अन्यौलमा छन् ।

‘शक्तिको पहुँच हरेक ठाउँमा हुने गरेको हुँदा यो पनि त्यस्तै विषय हो, यो विषयमा प्रचारबाजी गर्नु ठिक थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

मन्त्रालयका एक प्राविधिकले भने क्लिन फिड लागू गर्ने विषय प्राविधिक भन्दा पनि अन्य कुरा भएको बताए । ‘अन्य मुलुकहरुमा पनि लागू भएको छ र यो प्राविधिकरुपमा संभव छ,’ मन्त्रालयका एक प्राविधिक अधिकृतले भने ।

उनले यो क्लिन फिड लागू भएपछि अनधिकृतरुपमा विभिन्न च्यानलहरु डाउनलोड हुन सक्नेतर्फ भने सचेत हुनुपर्ने उल्लेख गरे ।

‘अहिले पनि बोर्डर एरियामा अनधिकृतरुपमा विभिन्न टेलिभिजन च्यानल हेर्ने गरिएको छ, यो अझै बढेर जान सक्दछ, नियन्त्रण गर्ने मेकानिज्म छैन,’ उनले भने ।

मन्त्रालयले क्लिन फिड नीति लागू गर्ने भनिरहँदा यसको समर्थनमा नेपाल विज्ञापन संघ र मिडिया सोसाइटी पनि सक्रियरुपमा लागिरहेको छ । मिडिया सोसाइटीले केहि दिन अघि विज्ञप्ती जारी गरेर क्लिन फिड लागू गर्न माग गरेको छ भने विज्ञापन संघले बिगत १० वर्षदेखि यसको पक्षमा आवाज उठाउँदै आएको छ ।

तत्कालिन विज्ञापन संघका अध्यक्ष तथा वेलकम एडभरटाइजिंङका प्रबन्ध निर्देशक निर्मल राज पौडेलले क्लिन फिड लागू गर्न आवाज उठाएकोमा १० वर्षपछि भएपनि यो नीति लागू हुनु सुखद भएको बताए । यो नीतिले सबैलाई फाईदा हुने र नेपालको अर्बौं रुपैयाँ बचत हुने पौडेलले बताए ।

‘यो नीति लागू भएपछि फाईदा १०० प्रतिशत र बेफाईदा १ प्रतिशत पनि छैन्, यसले नेपाली उत्पादन र नेपाली विज्ञापन बजार बिस्तार हुन्छ,’ उनले भने ।

केबल व्यवसायीहरु र नीतिको विरोधमा भएकाहरुलाई वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गर्दै उनले नेपाली टेलिभिजन च्यानलहरु नै बन्द गर्छु भन्नु कानूनको खिलाफ भएको बताए ।

‘त्यो त पराकाष्ठा नै हो, टेलिभिजन बन्द गरेर आन्दोलन नै गर्छु भन्नु भन्दा पनि टेबलमा डिस्कसन गर्नुपर्छ,’ पौडेलले भने ।

पौडेलकाअनुसार हाल नेपालमा करिब ५ अर्ब रुपैयाँको विज्ञापन बजार छ । क्लिन फिड लागू भएपछि एक वर्षमा नै २ अर्ब रुपैयाँको विज्ञापन बजार बढ्ने र करिब ४ वर्षमा यो बजार दोब्बरले वृद्धि हुने उनको दाबी छ ।

तर नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले भने व्यवसायीहरुसँग क्लिन फिड नभएकोले सबै व्यवसायीहरु गैरकानुनी हुनेहुँदा केबल सेवा बन्द गर्न लागेको बताए ।

साउन १ देखि हामीसँग क्लिन फिड नहुँदा इलिगल भयौं, सेवा नदिएपछि ग्राहकसँग पैसा उठाउन सकिँदैन, त्यसैले हामी आफैंले बन्द गर्न लागेका हौं,’ पराजुलीले क्लिकमाण्डुसँग भने ।

उनकाअनुसार स्थानिय स्तरमा क्लिन फिड बनाउन सकिएपनि अहिले प्राविधिकरुपमा संभव छैन् । ‘२५० भन्दा बढि केबल टिभी सेवाको कन्ट्रोल रुम छ, सबै ठाउँमा जनशक्ति राखेर स्थानीय तहमा क्लिन फिड लागू गर्न सकिँदैन्, उनले दाबी गरे ।

तर मुलुकभरी डिजिटाइजेसन लागू भएपछि कन्ट्रोलरुमको संख्या निकै कम हुने हुँदा क्लिन फिड लागू गर्न सकिने उनको भनाई छ । ‘डिजिटाइजेसन पछि भायबल हुनसक्छ, तर सरकार अहिले नै मेरो गोरुको बाह्रै टक्का भनेर जाँदैछ,’ पराजुलीले भने ।

पराजुलीकाअनुसार हाल ७०० भन्दा बढी केबल टेलिभिजन सेवा प्रदायक व्यवसायीहरु छन् भने यसमा १८ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको छ ।

त्यसैगरी यो क्षेत्रमा हाल प्रत्यक्षरुपमा १० हजारले रोजगारी पाईरहेका छन् भने डिजिटाइजेसनको लागि थप २० अर्ब रुपैयाँको लगानीको तयारी गरिएको पराजुलीको दाबी छ ।

नेपालमा हाल छिमेकी मुलुक भारत, चीन, बंगलादेश, पाकिस्तानलगायत विभिन्न मुलुकहरुबाट प्रशारण हुने गरेको टेलिभिजन च्यानलहरु केवल सेवा तथा डिस होमको माध्यमबाट हेर्न सकिन्छ । जसमा अधिकांश च्यानलहरु विज्ञापनसहित उपलब्ध रहेका छन् ।

के छ सुझाव समितिको सिफारिस ?

सरकारले क्लिन फिड नीति लागू गराउने बारेमा केहि समय अघि मन्त्रालयका सह सचिव रामचन्द्र ढकालको संयोजकत्वमा नीति कार्यान्वयन सुझाव समिति समेत गठन गरेको थियो ।

सो समितिले यसको बारेमा अध्ययन गरेर सो नीति सरकारले नै घोषणा गरेकोले लागू गर्नका लागि पछाडी फर्कन नसकिने हुँदा नीतिका रणनीति, कार्यनीति सम्बन्धी व्यवस्था तोकिएको मितिबाटै प्रभावकारी रुपमा लागु गर्नुपर्ने सुझाव दिएको थियो ।

सुझाव तथा सिफारिसमा नीतिको कार्यान्वयन पश्चात चुनौति र समस्या अध्ययनबाट देखिएको भन्दै सरकारबाट स्वीकृत विज्ञापन रहित नीति लागु गर्न सबै सरोकारबालाहरु सहमत भएपछि लागु गर्ने समयको सन्दर्भमा विमति देखिएको उल्लेख छ ।

समितिको अध्ययनमा विदेशी च्यानल बन्द हुन सक्ने आशंकालाई पनि समेटिएको छ ।

‘नेपालको लागि छुट्टै फिड नभएको र नीति लागु हुने समयसम्म यस्तो फिड तयार भैसक्ने अवस्था नभएको भन्ने विदेशी प्रसारण संस्थाहरुले समेत जानकारी गराएकोले आ.व. २०७४/७५ को लागि विदेशी प्रसारण संस्थाहरुले विज्ञापन रहित प्रसारणको लागि डाउनलिङ्क अनुमति माग गर्ने कम संचावना भएकोले धेरैजसो च्यानलहरु डाउनलिङ्क अनुमतिको अभावमा प्रसारण बन्द हुन सक्ने देखिएको,’ सुझाव समितले उल्लेख गरेको छ ।

त्यसैगरि यसमा सबै प्रकारका विदेशी च्यानलहरुलाई समेट्ने सुझाव तथा सिफारिस गरिएको छ भने विदेशी टेलिभिजन संस्थाहरुलाई आवश्यक पूर्व जानकारी गराउनु पर्ने लेखिएको छ ।

सो समितिको सुझाव तथा सिफारिसमा केन्द्र र जिल्लास्तर अनुगमन समिति गठन गर्नुपर्ने उल्लेख छ। विज्ञापन रहित नीति लागु गर्दा विदेशी नेटवर्कबाट सिग्नल पाइरेसी गर्ने लगायतका पक्षहरु लगायत वितरण नेटवर्कको कार्य सम्पादनहरु अनुगमन समिति गठन गर्ने लेखिएको छ ।

के हो क्लिन फिड ?

क्लिन फिड भनेको विभिन्न टेलिभिजन च्यानलहरुले विज्ञापनरहित सामाग्रीहरु आफ्ना दर्शकहरुसमक्ष प्रशारण गर्नु हो । टेलिभिजन च्यानलहरु निश्चित फिडरबाट आउने र त्यसमा ग्राहकलक्षित सामाग्रीहरुबाहेक विभिन्न विज्ञापनहरु पनि प्रशारण गर्ने गरिन्छ । विशेषगरि निश्चित क्षेत्र वा मुलुकहरुले आफ्नो मुलुकभित्र अन्य अनावश्यक किसिमका विज्ञापनहरुको प्रशारण रोक्नको लागि यस्तो नीति लागू गर्ने गर्दछन् ।

क्लिन फिड लागू भएपनि नेपालमा प्रशारण भईरहेका विभिन्न विदेशी टेलिभिजन प्रशारक कम्पनीहरुले तोकिएका सामाग्रीहरु बाहेक विज्ञापन प्रशारण गर्न पाउँदैनन् । यस्तो प्रावधानले ग्राहकहरुले अनावश्यकरुपमा विज्ञापन हेर्नुपर्ने झन्झटबाट मुक्त हुन्छन तर यस्तो सेवा विज्ञापनसहितको सेवा भन्दा महंगो हुने गर्दछ ।

क्लिन फिडको लागि टेलिभिजन च्यानल प्रदायकहरुले छुट्टै विज्ञापनरहित फिडर उपलब्ध गराउनुपर्ने हुन्छ ।

नेपालमा क्लिन फिड नीति कार्यान्वयन आएसँगै विभिन्न विदेशी च्यानलमा प्रशारण भईरहेका विज्ञापन बन्द हुनेछन भने आवश्यक समाचार, मनोरन्जनात्मक सामाग्री तथा कार्यक्रमहरु मात्र प्रशारण हुन्छ ।

कसलाई कस्तो असर ?

सरकारले नीति कार्यान्वयन गर्ने र टेलिभिजन च्यानलहरुले क्लिन फिड उपलब्ध नगराउने हो भने यसको पहिलो र प्रत्यक्ष मार टेलिभिजनका नेपाली दर्शकहरुलाई पर्दछ । उनीहरुले क्लिन फिड नभएको च्यानल साउन १ गतेदेखि हेर्न सक्नेछैनन् ।

यदि क्लिन फिड उपलब्ध भयो भने पनि यसको शुल्क अध्यधिक वृद्धि हुने केवल नेटवर्क कम्पनीहरुको भनाई छ । क्लिन फिड नीतिले अहिलेको च्यानलको मूल्य १० देखि १५ गुणासम्म बढ्न सक्ने सुझाव समितीको प्रतिवेदनमा उल्लेख छ ।

केवल नेटवर्क कम्पनीहरुका अनुसार अधिकांश विदेशी च्यानलहरुले क्लिन फिडमा च्यानल दिन नसक्दा विदेशी च्यानलहरुको संख्या घट्न गइ व्यवसायमा असर पर्न सक्नेछ ।

त्यसैगरि यसले सिग्नल पाइरेसी गरी प्रसारण गर्ने संभावना हुनसक्ने आशंका पनि गरिएको छ ।

अर्कोतर्फ यसको प्रत्यक्ष फाईदा नेपाली विज्ञापन बजारमा पर्नेछ । विज्ञापन बजार दोब्बरसम्मको आकारमा बढ्नेछ भने नेपाली टेलिभिजन च्यानलहरुको आम्दानीमा वृद्धि हुनेछ ।

विशेषगरी भारतीय टेलिभिजन च्यानलहरुबाट देखाउने विज्ञापन प्रसारण बन्द हुनेछ भने ती टेलिभिजनमा नेपाली दर्शकलाई लक्षित गरेर विज्ञापन प्रसारण गर्ने कम्पनीहरुले नेपालमै विज्ञापन उत्पादन गर्नुपर्नेछ ।

सरकारले भने केवल व्यवसायीबाट उठाउँदै आएको राजस्वमा असर पर्नेछ भने विज्ञापन व्यवसायबाट उठाउने राजस्वमा वृद्धि हुनेछ ।


पुष्प दुलाल