मिहेनति किसानः जो तरकारी बेचेरै १५ लाख कमाउँछन्



बागलुङ । यहाँको एक कृषि समूहले वार्षिक १५ लाख रुपैयाँ बराबरको तरकारी उत्पादन गर्दै आएको छ ।

गलकोट नगरपालिका–११ रिघाको मिलिजुली कृषि समूहले तरकारी खेतीमा व्यावसायिक सफलता पाएको हो ।

एकै याममा ५/६ लाख रुपैयाँको तरकारी बेच्ने गरेको समूहका अगुवा किसान जितबहादुर रानामगरले बताए ।

१८ रोपनी क्षेत्रफलमा गरिएको तरकारी खेतीले बाह्रैमास उत्पादन दिने गरेको उहाँको भनाइ छ । किसानले भाडा, तलब र अन्य व्यवस्थापन खर्च कटाएर आम्दानीको आधा रकम नाफा लिने गरेका छन् । समूहमा चारजना किसान आबद्ध रहे पनि मुख्य जिम्मेबारी रानामगरको काँधमा छ ।

‘हामी चार जनाको लगानी छ, काममा भने म मात्र खटिएको छु,’, रानामगरले भने, ‘कृषि कर्मले सन्तुष्टि दिएको छ, हामी सफल छौँ ।’

समूहले रिघाको फेदीमा र नजिकै पर्ने बढीगाड गाउँपालिका–२ खरबाङ्मा गरी २ स्थानमा जग्गा भाडा लिएर तरकारी खेती गरिरहेको छ ।
वार्षिक ४५ हजार रुपैयाँमा जग्गा भाडामा लिएर सूमहले छ वर्षअघि देखि व्यावसायिक तरकारी खेती सुरु गरेको हो ।

‘शुरुमा रु नौ लाख लगानी ग¥र्यौं, अहिले लगानी बढेर २५ लाख रुपैयाँ पुगेको छ,’ रानामगरले भने।

बाह्रवटा प्लास्टिक घरमा मौसमी/बेमौसमी सबैखाले तरकारी उत्पादन हुने गरेकोे छ । समूहले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु १० लाख अनुदानसमेत पाएको छ । उक्त अनुदान रकमबाट तरकारी खेती विस्तार गर्दै जाने योजनामा समूह लागिपरेको छ ।

यही वर्ष थप उच्चस्तरीय प्रविधिको प्लास्टिक घर (टनेल) थपेको समूहका अर्का किसान शेरबहादुर श्रीशले बताए । व्यावसायिक कृषि तथा व्यापार आयोजनाको अनुदानबाहेक अन्य निकायबाट कुनै पनि सहयोग नपाएको उनको भनाइ छ ।

समूहले मुख्यगरी गोलभेँडा, काउली, बन्दा, सिमी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन गर्दै आएको छ । प्लास्टिक घर (टनेल) मा मलेसियाली सिमीसमेत उत्पादन भइरहेको किसानको भनाइ छ ।

त्यहाँ उत्पादन हुने तरकारी खरबाङ्, हटिया, गुल्मीको टक्सार लगायतका बजार क्षेत्रमा बिक्री हुने गरेको छ । तरकारी उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसान बताउँछन् । मिलीजुली कृषि समूह जिल्लामै नमुनाका रुपमा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कृषिको व्यावसायिकीकरणमा समूहले राम्रो उदाहरण दिएको वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए ।

‘आफ्नै पहलमा किसानले ठूलो लगानी गरेका छन् , हामी पनि उनीहरुलाई प्रेरित गर्न खोजिरहेका छौँ,’ अधिकृत आचार्यले भने, ‘व्यावसायिक किसानलाई कार्यालयबाट पनि राम्रो सहयोग हुन्छ ।’

कृषि विकास मन्त्रालयले ल्याएको कृषि तथा व्यापार आयोजनाबाट जिल्लाका कृषितर्फ सात र पशुपालनतर्फ १४ जनाले १० लाख रुपैयाँका दरले सरकारी अनुदान पाएपछि किसान पनि उत्साहित हुँदै परम्परागत खेतीमा उच्च प्रविधि अपनाएर उत्पादन बढाउनेतिर लागिपरेका छन् । रासस


पुष्प दुलाल