मोबाइलबाट हुने आर्थिक कारोबारलाई राष्ट्र बैंकले गर्यो प्रोत्साहन



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा मोबाइल फोनमार्फत् हुने वित्तीय कारोबार (मोबाइलवालेट) लाई नियमन तथा सुपरिवेक्षण गर्ने भएको छ ।

राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार केन्द्रिय बैंकले मोबाइल फोनमार्फत् हुने वित्तीय कारोबारलगायतका दूरसंचार सञ्जालमार्फत् हुने कारोबारका लागि राष्ट्रिय भुक्तानी स्वीच÷द्धार स्थापनाको प्रकृया अगाडि बढाउने भएको हो ।

‘भुक्तानी एवम् फछ्र्यौटलाई थप प्रभावकारी र सुदृढ बनाउन राष्ट्रिय भुक्तानी स्वीच÷द्धार स्थापनाको प्रकृया अगाडि बढाइनुका साथै दूरसंचार सञ्जालमार्फत् हुने कारोबारलाई समेत यसमा समावेश गरिनेछ,’ नीतिमा भनिएको छ ।

त्यस्तै वित्तीय पहुँच विस्तार गर्न र भुक्तानी प्रणालीलाई सुरक्षित एवम् प्रभावकारी बनाउन फाइनान्सियल टेक्नोलोजीको प्रयोगलाई बढावा दिइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

त्यस्तो बनाउन फाइनान्सियल टेक्नोलोजी कारोबारको अनुगमन गर्न उपयुक्त किसिमको नियमन प्रविधि संयन्त्र निर्माणको लागि आवश्यक प्रक्रिया अगाडि बढाइने मौद्रिक नीतिको लक्ष्य छ ।

केहि समय अगाडि राष्ट्र बैंकले वित्तीय प्रविधिको प्रयोगलाई बढाउने उदेश्यका साथ ३ वटा कम्पनीहरुलाई मोबाइलमार्फत गरिने वित्तीय कारोबारको लागि अनुमति प्रदान गरिसकेको छ ।

आईएमई पे, ईसेवा र प्रभु टेक्नोलोजीले यस्तो कारोबारको लागि केन्द्रिय बैंकबाट अनुमति पाईसकेका छन् भने अन्य दर्जनभन्दा बढी कम्पनीहरु अनुमतिको प्रकृयामा रहेका छन् ।

राष्ट्र बैंकले यस्ता कारोबारहरुलाई प्रभावकारीरुपमा निगरानी गर्ने समेत उल्लेख गरेको छ । नीतिअनुसार विद्युतीय भुक्तानी करोबारलाई थप सुदृढ एवम् जोखिमरहित बनाउन यस्ता कारोबारहरुको निगरानीलाई प्रभावकारी बनाइने छ ।

यसका साथै राष्ट्र बैंकले बैंकिङ उपकरणहरुबाट समेत विदेशी मुद्रा सटही गर्नका लागि प्वाइन्ट अफ सेलमार्फत् सटही दिनसक्ने तथा भुक्तानी लिनसक्ने व्यवस्था गरेको छ ।

तर यस्तो कारोबारको लागि निश्चित मापदण्ड पुरा गरेका इजाजत प्राप्त संस्था हुनुपर्ने व्यवस्था गरिएको छ । विदेशी नागरिकहरुले यो व्यवस्थाबाट सीधै प्वाइन्ट अफ सेल भएको स्थानबाट विभिन्न किसिमका सामाग्रीहरु खरिद गर्न तथा भुक्तानी गर्न सक्नेछन् । यसले खुद्राबजारलाई प्रबद्र्धन गर्ने संभावना रहेको छ ।

विशेषगरी यस्तो व्यवस्थाले विदेशी नागरिकहरुले विदेशी मुद्रामा लिएका विभिन्न किसिमका डेविट, क्रेडिट कार्डको उपयोगीतालाई बढाउनेछ भने पछिल्ला दिनहरुमा विकास भएका एन्ड्रोयड पे, एप्पल पे, सामसँग पे जस्ता मोबाइल पेमेन्ट सिस्टमबाट पनि कारोबार गर्ने बाटो खुला गरेको छ ।


पुष्प दुलाल